वाणिज्य ब्यांकको संख्या २० मा झर्दै, के छ मर्जरको फाइदा?
दश वर्षअघि वाणिज्य ब्यांक ३२ थिए भने अहिले २२ मा झरिसकेका छन्, अझै घट्दै छन्। ब्यांक मर्जरले के फाइदा हुन्छ?
यो साता तीन जोडी वाणिज्य ब्यांकले एक-आपसमा समाहित हुने बाटो रोजे। पुस २७ मा नेपाल इन्भेस्टमेन्ट र मेगा ब्यांकले आपसमा गाभिएर कारोबार शुरू गरेका छन्। प्रभु ब्यांकले सेन्चुरी ब्यांकलाई प्राप्ति गरेर पुस २६ गतेदेखि एकीकृत कारोबार थालेको छ।
त्यसअघि पुस २५ मा ग्लोबल आईएमई र ब्यांक अफ काठमाण्डू एक-आपसमा समाहित भएका थिए। दुई वाणिज्य ब्यांक लक्ष्मी र सनराइजले पनि यही साता आपसमा गाभिन समझदारीपत्रमा हस्ताक्षर गरेका छन् भने हिमालयन र सिभिल ब्यांकको मर्जर प्रक्रिया अन्तिम चरणमा छ।
यी ब्यांकहरूको मर्जरपछि नेपालमा वाणिज्य ब्यांकको संख्या २० मा ओर्लिनेछ। एक दशकअघि वाणिज्य ब्यांकको संख्या ३२ थियो। नियामक निकाय नेपाल राष्ट्र ब्यांकको ब्यांक तथा वित्तीय संस्थालाई एक-आपसमा गाभेर संख्या कम बनाउने नीतिअनुसार, ब्यांकहरू एक-आपसमा समाहित भएका हुन्। मर्जरमा जाने ब्यांक तथा वित्तीय संस्थालाई विभिन्न सुविधा दिने केन्द्रीय ब्यांकको घोषणाले ब्यांकहरूलाई मर्जरमा जान प्रोत्साहित गरेको छ।
अनुमति प्रक्रिया वितरणमा ध्यान नदिँदा ब्यांक तथा वित्तीय संस्थाको संख्या धेरै भएको, जसकारण वित्तीय अनुशासन कायम हुन नसकेको निक्र्योलपछि २०६८ सालमा केन्द्रीय ब्यांकले मर्जर सम्बन्धी नीतिगत व्यवस्था अघि सारेको थियो। वित्तीय स्थायित्वका लागि ब्यांक तथा वित्तीय संस्था एक-आपसमा गाभिने सम्बन्धी विनियमावली जारी गरिएको थियो। यो नीतिले विकास ब्यांक र फाइनान्स कम्पनीलाई घटाए पनि वाणिज्य ब्यांकको संख्या उल्लेख्य घटेको थिएन। २०७३ सालमा यसलाई परिमार्जन गरेर ब्यांक तथा वित्तीय संस्था एक-आपसमा गाभ्ने र गाभिने र तथा प्राप्ति सम्बन्धी विनियमावली बनाइयो।
केन्द्रीय ब्यांकले २०७२ सालमा ब्यांक तथा वित्तीय संस्थाको संख्या घटाउन चुक्ता पुँजी आठ गुणासम्म बढाउने नीति पनि अघि सारेको थियो। तर, चुक्ता पुँजी पु¥याउन ब्यांक तथा वित्तीय संस्थाले एक-अर्कामा गाभिनुको सट्टा शेयर लगानीकर्तालाई नै हकप्रद शेयरमार्फत रकम थप्न लगाउने र लाभांशलाई बोनस शेयरका रुपमा बदल्ने नीति समाते। ठूला वाणिज्य ब्यांकले स-साना विकास ब्यांक र वित्त कम्पनीलाई आफूमा समाहित गर्दै लगे पनि एक-आपसमा गाभिन आनाकानी गरे।
पछिल्लो समयमा केन्द्रीय ब्यांकको पहलकदमी र ब्यांकहरू इच्छाले पनि मर्जरको गति बढेको छ। केन्द्रीय ब्यांकका अधिकारीहरूले नेपालमा वाणिज्य ब्यांकको संख्या १५ भए पुग्ने बताउँदै आएका छन्। केन्द्रीय ब्यांकले कमजोर वित्तीय स्थिति भएका वा नियामकीय शर्त परिपालनमा निम्छरो देखिएका ब्यांकलाई अर्को ब्यांकसँग गाभिन अनौपचारिक निर्देशन दिँदै आएको छ। इन्भेस्टमेन्ट र मेगा ब्यांकको मर्जर समारोहमा बोल्दै नेपाल इन्भेस्टमेन्ट ब्यांकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले केही समयपछि वाणिज्य ब्यांकको संख्या सात-आठमा झर्ने बताए।
पछिल्लो एक दशकमा मर्जरले ब्यांक तथा वित्तीय संस्थाको संख्या घटिरहेको छ। २०६८ असारमा ३२ वटा रहेको वाणिज्य ब्यांक २२ वटामा झरिसकेको छ। छिट्टै यो २० मा ओर्लिदै छ। किस्ट, कमर्ज एन्ड ट्रस्ट, ग्रान्ड, एनसीसीसी, नेपाल बाङ्लादेश, लुम्बिनी, कुमारी, एनआईसीजस्ता ब्यांक यसअघि नै मर्जरमा गइसकेका छन्।
त्यस्तै, ८८ वटाको संख्यामा रहेका विकास ब्यांक १७ वटामा र ७७ वटा वित्त कम्पनी पनि १७ मा झरिसकेका छन्। यसले करीब एक दशकमा १४३ वटा ब्यांक तथा वित्तीय संस्था (लघुवित्त बाहेक) घटेको देखिन्छ।
केन्द्रीय ब्यांकले ब्यांक तथा वित्तीय संस्थाको सुदृढीकरण गर्दै वित्तीय स्थायित्वका लागि मर्जर आवश्यक रहेको तर्क अघि सार्दै आएको छ। खासगरी, संख्या धेरै हुँदा नियमन गर्न कठिन भएर वित्तीय अनुशासन भत्किएपछि राष्ट्र ब्यांकले मर्जरको प्रयास थालेको हो।
मर्जरपछि संस्थाको पुँजी ठूलो हुने, प्रतिस्पर्धात्मक क्षमता बढ्ने, संस्थागत क्षमता र दक्षता बढ्ने केन्द्रीय ब्यांकको भनाइ छ। तर, यसको अर्को पाटो ठूला ब्यांक धरापमा परे समग्र अर्थतन्त्र नै डगमगाउने जोखिम पनि बढ्छ। इन्भेस्टमेन्ट ब्यांकका अध्यक्ष पाँडेले यसैलाई संकेत गर्दै नेपालमा ‘टु बिग टु फेल’ को स्थिति नआउने विश्वास व्यक्त गरे।
कतिपयले ब्यांक तथा वित्तीय संस्थाको संख्या घट्नु सर्वसाधारणका लागि लाभदायक नभएको तर्क गरेका छन्। राष्ट्र ब्यांकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा जिल्ला-जिल्लामा रहेका स-साना विकास ब्यांक र वित्त कम्पनी ठूला ब्यांकमा गाभिँदा सर्वसाधारणको वित्तीय पहुँच कमजोर हुने तर्क गर्दै आएका छन्। उनी ठूला ब्यांकले साना व्यवसायी र ऋण आवश्यक पर्ने नागरिकलाई ऋण नदिने हुँदा साना ब्यांक र वित्तीय संस्था बिलाएर जानु सकारात्मक नभएको बताए।
यसले वित्तीय स्रोतलाई थप एकीकृत गर्दै लैजाने र वित्तीय पहुँच थप जोखिममा पर्नसक्ने उनको आकलन छ। केन्द्रीय ब्यांकको मर्जरको नीतिपश्चात् केही जिल्लामा सीमित ब्यांकिङ कारोबार गर्ने संस्था बिलाएर गएका छन्।
दोहोरो खाता के हुन्छ?
ब्यांकहरू आपसमा गाभिएसँगै गाभिने दुवै ब्यांकमा बचत खाता रहेका कतिपय सर्वसाधारण अन्योलमा पर्ने गरेका छन्, आफ्नो खाताको भविष्यलाई लिएर। एक आपसमा गाभिएका दुवै ब्यांकमा वचत खाता एकीकृत कारोबारपछि पनि छोटो अवधिलाई सञ्चालनमैं आउनेछन्। तर, लामो समय भने एउटै ब्यांकमा दोहोरो खाता चलाउन पाइनेछैन।
ब्यांक अफ काठमान्डूलाई गाभेर एकीकृत कारोबार शुरू गरेको ग्लोबल आईएमई ब्यांकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी प्राकृतिक व्यक्तिले एउटा ब्यांकमा एकभन्दा बढी बचत खाता सञ्चालन गर्न नमिल्ने नीति भएकाले दोहोरो खाता हुने व्यक्तिले एउटा बन्द गर्नुपर्ने बताउँछन्। तर, त्यसका लागि समय दिइने उनको भनाइ छ।
“हामी आजको भोलि नै दोहारो खाता हुने व्यक्तिलाई एउटा खाता बन्द गर्न भन्ने छैनौं, उहाँहरूलाई सूचना दिएर एउटा खातामा भएको रकम अर्कोमा स्थानान्तरण गरी दुईमध्ये एक खाता बन्द गर्ने मौका दिन्छौं,” रेग्मीले भने। ग्राहकलाई दुईमध्ये कुन खाता बन्द गर्ने भन्ने छनोटको अवसर दिइने उनले बताए।