हिमालयनमा गाभिने प्रस्ताव सिभिल ब्यांकको साधारण सभाद्वारा अनुमोदन
सिभिल ब्यांकको १२औं वार्षिक साधारणसभाले हिमालयन ब्यांकमा समाहित हुने प्रस्तावलाई अन्तिम स्वीकृति दिएको छ।
बिहीबार सम्पन्न साधारणसभाले हिमालयन ब्यांकले सिभिललाई प्राप्ति (एक्विजिसन) गर्न १०० कित्ता शेयर बराबर ८०.२८ कित्ता शेयरको अनुपातलाई स्वीकार गरेको छ। हिमालयन र सिभिलका सञ्चालक समितिले यसअघि नै दुई ब्यांक एक–आपसमा गाभिने निर्णय गरिसकेका छन्।
साधारण सभाले सिभिललाई हिमालयन ब्यांकमा गाभ्न सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (ड्यू डेलिजेन्स अडिट रिपोर्ट), समझदारीपत्र, तथा अन्तिम सम्झौतापत्र लगायतका सम्पूर्ण काम कारबाहीलाई अनुमोदन गरेको छ। यी दुई ब्यांकको मर्जर पश्चात् एकीकृत कारोबार छिट्टै शुरू हुने अनुमान गरिएको छ।
सिभिलको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम साधारणसभाले ब्यांकको चुक्ता पूँजीको ५ प्रतिशत बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति जनाएको छ। ब्यांकका ११५ शाखा, १३ एक्सटेन्सन काउन्टर, १०२ एटीएम सञ्चालनमा छन्।