बागमतीमा सभामुखको लागि तीन जनाको उम्मेदवारी
बागमती प्रदेश सभाको सभामुखका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्।
सभामुखका लागि बिहीबार नेपाली कांग्रेस, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) र राप्रपाको तर्फबाट उम्मेदवारी दर्ता भएको हो। कांग्रेसका प्रदेश सभा सदस्य शिवराज अधिकारी सभामुखमा उम्मेदवारी दिएका छन्। अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन्।
त्यस्तै, नेमकिपाको तर्फबाट सिर्जना सायजुले उम्मेदवारी दिएकी छन्। सायजु प्रस्तावक सुरेन्द्रराज गोसाइ र समर्थक गीता काफ्ले रहेका छन्।
सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवन पाठकले उम्मेदवारी दिएका छन्। पाठकको प्रस्तावकमा नेकपा (एमाले) का जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल रहेका छन्।