बागमतीमा सभामुखका लागि आज मनोनय दर्ता,सत्तापक्षबाट पाठक उम्मेदवार
बागमती प्रदेश सभा सभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ।
मनोनयनका लागि बिहान साढे १० देखि दिउँसो २ बजेसम्म समय तोकिएको छ। यसैगरी आजै दिउँसो साढे २ देखि साढे ३ बजेसम्म मनोनय फिर्ताको लागि समय तोकिएको छ। प्रदेश सभा सचिवालयले आजै दिउँसो ४ बजे
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ। सभामुख चयनका लागि पुस २९ गते बिहान ११ बजे निर्वाचन हुने कार्यतालिका छ।
नेपालको संविधानको धारा १८२ को उपधारा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभा सदस्यहरूले आफूमध्येबाट सभामुख गर्नुपर्ने प्रावधान छ। बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक पुस १८ गते बसेको थियो।
बागमती प्रदेशमा भएको सत्ता समीकरण अनुसार सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीको भागमा परेको छ। राप्रपाबाट भुवनबहादुर पाठकलाई सत्तापक्षले सभामुखमा उम्मेदवार बनाउने भएको छ। पाठक राप्रपा केन्द्रीय महासचिव हुन्।
पाठकले आफूलाई पार्टी र गठबन्धनले विश्वास गरेर सभामुखको उम्मेदवार बनाएकाले पार्टी र गठबन्धनको विश्वासलाई कायम गर्ने बताए। सत्तारुढ गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)लाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो। एमालेले भने उपसभामुख उम्मेदवार आज दलको बैठक बसेर निर्णय गर्ने जनाएको छ।
यसैबीच‚ संघीय संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले प्रदेशमा सभामुख पाए मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने संकेत गरेको छ।
कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामाले बागमतीमा रहेको जम्कट्टेलको नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकिने तर केही सर्त रहेको बताए। राजनीतिमा केही पाउँदा केही गुमाउनुपनि पर्ने भन्दै उनले कांग्रेसलाई सभामुख दिए विश्वासको मत दिने संकेत गरे।
“हामीलाई सत्तारुढ दलबाट अहिलेसम्म विश्वासको मतका लागि कुनै प्रस्ताव आएको छैन‚” लामाले भने‚ “यदि आएको अवस्थामा हामीले हाम्रा सर्तहरू भन्नेछौं। अहिलेलाई सभामुख र पछि अन्य विषय पनि हुनेछन्। यदि त्यस्तो वातावरण मिलेको अवस्थामा विश्वासको मत दिन सकिन्छ।”
मुख्यमन्त्री जम्कट्टेले आगामी माघ ३ गते विश्वासको मत लिने कार्यक्रम रहेको छ।