ब्याजदर घटाउने ब्यांकर्स संघको निर्णय
ब्यांकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाउने भएका छन्।
ब्यांकर्सको संस्था नेपाल ब्यांकर्स संघको बुधबार बसेको बैठकले माघमा मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशतमा झार्ने निर्णय गरेको हो। यसअघि मुद्दती निक्षेपको ब्याजदर १२.३३ प्रतिशत थियो।
ब्यांक तथा वित्तीय संस्थामा तरलताको स्थितिमा सुधार हुँदै गएपछि संघले मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको जनाएको छ। निक्षेपको ब्याजदर घटेपछि ब्यांकहरूको आधारदर कम भई कर्जाको ब्याजदर समेत सस्तो हुनेछ।
ब्यांक कर्जाको ब्याजदर महंगो भएको भन्दै देशभरिका उद्योगी व्यवसायीले विरोध गर्दै आएका छन्। अहिले वाणिज्य ब्यांकबाटै ऋण लिँदा १५–१६ प्रतिशतसम्म ब्याजदर तिर्नुपरेको उनीहरूको गुनासो छ।
केन्द्रीय ब्यांकका अधिकारीहरूले पनि तरलताको स्थितिको सुधार तथा देशको बाह्य क्षेत्रमा सुधारोन्मुख स्थितिका कारण ब्याजदर घट्ने बताउँदै आएका थिए। केन्द्रीय ब्यांकले वाणिज्य ब्यांकहरूलाई ब्याजदर घटाएर सुधारको संकेत दिन अनौपचारिक रुपमा सुझाव दिँदै आएको थियो।
पछिल्लो समयमा ब्यांक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम तरलताको स्थिति सुधारोन्मुख छ। राष्ट्र ब्यांकका अनुसार, सोमबारसम्म ब्यांक तथा वित्तीय संस्थामा निक्षेप रकम ५३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। कूल कर्जा रकम ४७ खर्ब ७८ अर्ब रुपैयाँ छ।
कर्जा निक्षेप अनुपात ८६.६५ प्रतिशत छ। यो अनुपात ९० प्रतिशत हुँदासम्म ऋण दिन पाइने सीमा छ। ब्यांकहरूबीचको अन्तरब्यांक ब्याजदर पनि ६.१४ प्रतिशतमा ओर्लिएको केन्द्रीय ब्यांकले जनाएको छ।
यससँगै संघको विशेष साधारणसभाले एनएमबी ब्यांकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ। यसअघिका अध्यक्ष अनिल उपाध्याय कृषि विकास ब्यांकको प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएपछि केसी अध्यक्ष चुनिएका हुन्।