सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्र रावलको दाबी पेश
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दाबी पेश गरेका छन्।
नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा रावलले बुधबार साँझ प्रदेश प्रमुख देवराज जोशीसमक्ष दाबी पेश गरेका हुन्। उनले २९ जना सांसदको समर्थन पाएका छन्।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले अन्तिम समयमा आएर समर्थन गरेपछि रावलले दाबी पेश गरेका छन्। पार्टी संरक्षक रेशमलाल चौधरीसँग भएको सहमतिअनुसार, एमालेलाई सरकार बनाउन समर्थन गरको चौधरीले बताए।
५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र स्वतन्त्र एक सांसद छन्। बहुमतका लागि २७ सांसद आवश्यक पर्छ।