धनुषाधाम संरक्षित वनबाट अवैध रुपमा रुख काटिँदै
धुनाषाधाम संरक्षित वनबाट अवैध रुपमा रुख काटिन थालेको छ। तर, प्रशासनिक निकायले वास्ता नगरेको भन्दै स्थानीय बासिन्दा आक्रोषित बनेका छन्।
धनुषाधाम सव–डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा पर्ने धुनाषाधाम संरक्षित वनमा पुस तेस्रो साता केही रुख कटान हुन थालेको हो। वन कार्यालयलाई उजुरी दिए पनि वास्ता नगरेको स्थानीयको भनाइ छ। “अघिल्लो साता वनका ठूला सातवटा रुख काटिएका छन्,” मिथिला वाइल्डलाइफका अभियन्ता देवकुमार मण्डलले भने, “तत्काल कारबाही नगरिए वन विनास तीव्र हुने डर छ।”
वन हेरालु नहुँदा पनि संक्षित वनबाट रुख कटान भइरहेको उनको भनाइ छ। व्न मन्त्रालयले बजेट विनियोजन नगर्दा करारमा राखिएका हेरालुको कार्यअवधि सकिएको थियो। बजेट अभावकै कारण देखाएर उनीहरूलाई हटाइएको मण्डल बताउँछन। “कात्तिकमा हटाइएका हेरालुको ठाउँमा के गर्ने भन्ने अहिलेसम्म वैकल्पिक व्यवस्था गरिएको छैन,” मण्डलले भने, “अनधिकृत रुपमा रुख काटिएको खबर गर्न गएका स्थानीयलाई पनि हप्कीदप्की गरिएको छ।”
वन संरक्षणमा धनुषाधामका स्थानीय दश वर्षदेखि सक्रिय छन्। वन जोगाउने पुराना कर्मचारी सेवा निवृत्त भएसँगै वनमाथि तस्करहरुको कुदृष्टि परेको स्थानीय बासिन्दाको भनाइ छ। अहिले वन कटानी हुनुमा वन अधिकारीको पनि मिलेमतो रहेको उनीहरूको आरोप छ। “यदि वनका अधिकारीको मिलोमतो हुँदैन्थ्यो भने रूख काटेर वनभित्रै गोलिया बनाएर दिउँसै हाकाहाकी साइकलमा ओसार्ने आँट कहाँबाट आयो?,” मण्डलले प्रश्न गरे।
मधेश प्रदेशको वन मन्त्रालयका सचिव विशाल घिमिरेले रूख काटिएको विषयमा जानकारी पाउनासाथ डिभिजन वन अधिकृतलाई परिचालन गरिसकिएको प्रतिक्रिया थिए। “मधेश प्रदेशको दक्षिणी भागमा प्राचिन कालदेखिको यो वनको जैविक, धार्मिक, सामाजिक महत्त्वबारे हामी सबै सचेत छौं,” घिमिरेले भने, “यसको संरक्षणमा हामी गम्भीर छौं। लापरवाही गर्नेले उन्मुक्ती पाउँदैनन्।”
डिभिजन वन कार्यालयलका कर्मचारीहरूले स्थानीयलाई असहयोग गरेको, धम्की दिएको गुनासोबारे मन्त्रालयमा औपचारिक जानकारी नआएको बताए। केही दिनभित्रै घटनाको सत्यतथ्य र वास्तविकता सार्वजनिक गरिने उनले बताए।
धनुषाधाम वाणगंगा संरक्षित क्षेत्र साप्ताहिक सरसफाइ अभियानका संयोजक प्रमोद यादवले वर्षौंको मेहेनतले संरक्षित भएको वनलाई सुरक्षित बनाउन र पुनःस्थापना गर्न वन कार्यालय, निर्देशनालय र डिभिजन कार्यालयले तदारुकता नदेखाएको गुनासो गरे। “हामीले नगरपालिकाको मेयरलाई पनि वनमा भएको अनियमितताको खबर गरेका छौं,” यादवले भने, “अनियमिता रोकिनुपर्छ। दोषीलाई कारबाही हुनुपर्छ।”
धनुषाधाम नगरपालिका–३ मा पर्ने यो वन ३६० हेक्टरमा फैलिएको छ। वन क्षेत्रमा हाल पिकनिक, बोटिङ लगायतका क्रियाकलाप हुँदै आएको छ। यो वनलाई २०६९ सालमा संरक्षित वन घोषणा गरिएको थियो।