मधेशमा जसपाका सरोज यादव मुख्यमन्त्री नियुक्त
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।
मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। ६३ सांसदको समर्थनमा उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।
उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र दुई स्वतन्त्रले यादवलाई समर्थन गरेका छन्।
१०७ सदस्यीय प्रदेश सभामा एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका सात, लोकतान्त्रिक समाजवादीका नौ, नेकपा (एकीकृत समाजवादी)का सात, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक–एक र पाँच जना स्वतन्त्र सांसद छन्।