‘सदनमा अब जनताको आवाज सुनिँदैन, कांग्रेसले मूल्य चुकाउनुपर्नेछ' (भिडिओ)
“दाहाललाई मत दिनु कांग्रेसको मूल्य पद्धति विपरीत छ, संविधान विपरीत छ। भविष्यमा कांग्रेसले यसको मूल्य चुकाउने छ।”
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा विश्वासको मत लिंदा नेपाली राजनीतिमा अहिलेसम्म नदेखिएको घटना देखियो। संसद्लाई प्रतिपक्षीविहीन बनाएर नेपाली कांग्रेस सहितका दलले प्रतिनिधि सभामा दाहालको पक्षमा मत दिए। विश्लेषक पुरञ्जन आचार्य यो घटनालाई लोकतन्त्र र संसदीय राजनीतिका लागि दुर्भाग्य भन्छन्। “दाहाललाई मत दिनु कांग्रेसको मूल्य पद्धति विपरीत छ, संविधान विपरीत छ,” पुस २६ गते दाहालले विश्वासको मत पाए लगत्तै आचार्यले हिमालखबरसँग भने, “त्यति मात्रै नभई कांग्रेसका कार्यकर्ता, शुभेच्छुकको चाहना विपरीत छ। भविष्यमा कांग्रेसले यसको मूल्य चुकाउनेछ।”
जम्मा ३२ सिट भएको पार्टीका अध्यक्षले २६८ मत सहित प्रतिनिधि सभामा विश्वासको मत पाउनुभएको छ। यो घटनालाई कसरी हेर्नुभएको छ?
मंसीर ४ मा निर्वाचित सांसदमध्ये केहीलाई मताधिकार छैन। सभामुखले भोट हाल्न पाउने कुरा भएन। त्यस हिसाबले २७५ मध्ये २६८ को समर्थन पाउनु शतप्रतिशत जस्तै हो। यो मत परिणाम हेर्दा नेपालमा राष्ट्रिय संकट वा विपत्ति आएर सबैले उहाँलाई प्रधानमन्त्रीमा योग्य देखेको जस्तो देखिन्छ। नेपालको इतिहासमा पहिलो पटक यस्तो भएको हो। नेपाली राजनीतिमा आजको दिन सम्झनायोग्य रहने भयो। संसारमा पनि यस्तो घटना विरलै हुन्छ। दोस्रो विश्वयुद्ध ताका बेलायतमा विन्स्टन चर्चिलले यसरी नै समर्थन पाएका थिए।
यस्तो अभूतपूर्व समर्थन पाउनुपर्ने कुनै कारण देखेको थिइनँ। राष्ट्रिय संकटको वेला जस्तो दाहालजीलाई अभूतपूर्व विश्वासको मत दिएको घटनाले म हतप्रभ भएको छु, आश्चर्यमा परेको छु। यसरी मत दिने निर्णयमा पुग्ने पार्टीहरूको व्यवहारवादी राजनीति देख्दा हाम्रो राजनीतिलाई विश्लेषण गर्ने तौरतरिका परिवर्तन गर्नुपर्ने देखेको छु।
प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको निर्णयलाई कसरी हेर्नुभएको छ?
केपी शर्मा ओली र दाहालबीचको यसअघिको सम्बन्ध हेर्दा एमाले र माओवादीको संगम होला जस्तो थिएन। तर भयो। एमालेको समर्थनमा दाहाल प्रधानमन्त्री बनेपछि स्वाभाविक रूपमा कांग्रेस प्रतिपक्षमा बस्छ भन्ने थियो। तर कांग्रेसले ‘यु टर्न’ लियो। कांग्रेसको यो निर्णय आश्चर्यमा पार्ने खालको, अराजनीतिक र असंवैधानिक छ।
कांग्रेसले दाहाललाई समर्थन गर्दा धेरै ठूलो जोखिम उठाएको छ। दाहाललाई मत दिनु कांग्रेसको मूल्य पद्धति विपरीत छ, संविधान विपरीत छ। त्यति मात्रै नभई कांग्रेसका कार्यकर्ता, शुभेच्छुकको चाहना विपरीत छ। भविष्यमा कांग्रेसले यसको मूल्य चुकाउनेछ।
कांग्रेसले यस्तो निर्णय किन गर्यो होला?
पछिल्लो तीन दशकमा प्रतिपक्षमा बसेर भूमिका खेल्न चाहिने तयारी र मानसिकता देखिएन। प्रतिपक्षमा बस्न कोही पनि रुचाउँदैन। प्रतिपक्षमा बसेर भूमिका खेल्न सकिँदैन भनेर पनि कांग्रेसले यस्तो निर्णय गरेको हुनसक्छ।
गिरिजाप्रसाद कोइरालाले मनमोहन अधिकारीको सरकार ‘फु गरेर ढाल्छु' भन्नुभयो। त्यसपछि जनमत सिर्जना गर्न देशव्यापी रूपमा लाग्नुभयो, सरकार ढल्यो पनि। शेरबहादुर देउवाजीमा त्यस्तो ऊर्जा छैन।मान्छेले सबैलाई ढाँट्न सक्ला तर आफैंलाई ढाँट्न सक्दैन। देउवाजीले प्रतिपक्ष दलको नेता भएर रोष्ट्रममा उभिएर जनताको आवाज उठाउन सक्नुहुन्न। त्यसकारण सत्तामा साझेदारी गर्ने बाटो खोलौं भनेर ‘यु टर्न’ लिएको हुनुपर्छ।
कांग्रेसलाई यसबाट पदीय लाभ होला?
पदीय भागबन्डाकै लागि गरेको हुनुपर्छ। राजनीतिक लाभको संभावना देख्दिनँ। कांग्रेसको जनमत विस्तार गर्ने र कार्यकर्तामा ऊर्जा भर्ने संभावना पनि देख्दिनँ। आजको दिनको निर्णयले कांग्रेसको दुई–चार लाख भोट घट्छ। पद नै पनि तत्काल कांग्रेसले पाउने देखिन्न। ओलीजीले दाहाललाई सधैं नचाउन सक्ने संभावना भने कम गरिदिएको छ। दाहालजीलाई कांग्रेसले उद्धार गरेको छ।
पुस १० गते बनेको सात पार्टी र स्वतन्त्र समेतको गठबन्धन रहेन?
रहेन। अब त कांग्रेस सत्ता पक्ष भयो। कांग्रेसले बहुलवाद र संसदीय पद्धतिमा विश्वास गर्थ्यो भने प्रतिपक्षमा बस्नुपर्थ्यो।
कांग्रेसले त प्रतिपक्षमा बस्छु भनेको छ नि!
त्यो भनेको त लुगा नलगाए पनि म नाङ्गो छैन भने जस्तो हास्यास्पद कुरा हो। संसदीय अभ्यासमा यस्तो कहीँ पनि हुँदैन। संसद्मा अब प्रतिपक्ष भनेको चित्रबहादुर केसी र प्रेम सुवाल मात्रै हुन्।
संसदीय पद्धति र लोकतान्त्रिक राजनीतिको दृष्टिकोणबाट हेर्दा यसको कस्तो प्रभाव पर्ने देख्नुहुन्छ?
यो प्रतिपक्षविहीनताको अवस्था हो। सरकारको निरंकुशता र अपारदर्शिता विरुद्ध जनता कहाँ गएर बोल्ने? जनताको बोली संसद्मा पुग्दैन। कांग्रेसले पुर्याउनुपर्थ्यो, अब पुर्याइहाल्यो भने पनि हास्यास्पद हुन्छ।
आजको मितिबाट जनता नै प्रतिपक्ष हुनुपर्ने दिन आयो। यो सरकारले गरेका गलत कामको हिसाबकिताब खोज्ने ठाउँ सदन होइन सडक हुने भयो। जनता सडकमा आएर बोल्नुपर्यो भने अराजक स्थिति पनि आउनसक्छ। त्यो अवस्था ल्याउनमा कांग्रेस हतियार बन्यो। सडकबाट समस्याको समाधान खोज्ने संभावना खोलिदियो। लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा यही हो। यसले अहिले भइरहेको मूलधारका पार्टीलाई फ्याँक्न पनि सक्छ। किनभने नयाँ-पुराना सबै दल सरकारमा भए।