मन्त्रालयको संख्या घटाउने बागमती सरकारको पहिलो निर्णय
नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउने पहिलो निर्णय गरेका छन्।
मंगलबार पद तथा गोपनीयताको शपथसँगै तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशको मन्त्रालयहरू घटाउने निर्णय गरेको हो।
मन्त्रालयको संख्या घटाउन प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्व पाँच सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने छ।
निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कार्यकालमा मन्त्रालयको संख्या बढाएर १४ पुर्याइएको थियो। त्यसअघि आठ वटा थियो। मन्त्रालयको संख्या बढाइएपछि पाण्डे नेतृत्व सरकारको आलोचना भएको थियो।
पाण्डे नेतृत्वको सरकारमा रहँदा आवश्यकता अनुसार मन्त्रालय फुटाएको र यसको औचित्य पुष्टि हुने बताउँदै आएका जम्कट्टेल नेतृत्वको सरकार संख्या घटाउन तयार भएको हो। अब बागमतीमा बढीमा ११ वटा मन्त्रालय रहने मुख्यमन्त्री जम्कट्टेलले बताए।
पाण्डे नेतृत्वको सरकार भएको वेला प्रतिपक्षमा बसेर मन्त्रालय संख्या घटाउन दबाब दिंदै आएको नेकपा (एमाले)ले अहिले सरकारमा छ। एमालेको प्रस्तावमा नै संख्या घटाउन लागिएको हो।