बागमतीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन
बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेलले शपथ लिएसँगै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ।
मंगलबार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जम्कट्टेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता जम्कट्टेल सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनलाई नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेका छन्।
यस्तै‚ नेकपा (एमाले)का जगन्नाथ थपलिया र राष्ट्रिय प्रजातन्त्र पार्टीकाउद्धव थापाले मन्त्रीको शपथ लिएका छन्। थपलियाले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्। थापाको भने मन्त्रालय तोकिएको छैन।
प्रदेशमा एमालेले पाँच, माओवादी केन्द्रले चार, राप्रपा र एकीकृत समाजवादीले दुई-दुई र हाम्रो नेपाली पार्टीले एक मन्त्रालयमा दाबी गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा नौ र बढीमा ११ कायम गर्ने बताएका छन्।