मधेशमा जसपा संसदीय दलको नेता सरोज यादव निर्वाचित
मधेश प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा सरोजकुमार यादव निर्वाचित भएका छन्।
मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी फिर्ता लिएपछि यादव निर्विरोध संसदीय दलको नेता निर्वाचित भएका हुन्। पूर्व सभामुख यादव र राउतले संसदीय दलको नेताका लागि उम्मेदवार दिएका थिए।
मधेश प्रदेश सभामा जसपाका १६ सांसद छन्। सत्तारुढ गठबन्धनमा रहेका दलबीच भएको सहमतिअनुसार, मधेश प्रदेशमा जसपाले मुख्यमन्त्री पाउने भएको छ।
मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि पुस २८ गते अपराह्न ४ बजेसम्म दाबी पेश गर्न समय दिएका छन्। मधेश प्रदेश प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका नौ, माओवादीका आठ र नेकपा (एकीकृत समाजवादी) का सात सांसद छन्।
त्यस्तै, मधेस प्रदेशमा नेपाल संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका एक-एक तथा ६ जना स्वतन्त्र सांसद छन्। १०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ।