हात्तीले सधैं हैरानी
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रका बासिन्दा सधै हात्तीको त्रासमा त हुन्छन् नै त्यसले गर्ने क्षतिको राहत थोरै हुने र त्यो पनि समयमा नपाउँदा मर्कामा परिरहेका छन्।
गत मंसीर २५ गते राति झापाको हल्दीबारी-४ जलथलकी ४३ वर्षीया गौरादेवी पौडेल मस्त निद्रामा थिइन्। रातिको करीब २ बज्नै लाग्दा होहल्ला भयो। “छिमेकमा गुहार मागिरहेका थिए। सबै धान खायो भन्दै चिच्याइरहेका थिए,” गौरादेवीका २६ वर्षीय छोरा पृथ्वीविलास भन्छन्, “मंसीरको धान कसलाई लोभ हुँदैन र? आमासँगै म पनि उठेर हात्ती धपाउन लागेँ।”
गाउँका सबै उठे। खेतमा थुपारेर राखेको धान हात्तीले खाइदेला भन्ने पीरले हात्ती धपाउँन थाले। २०-२५ को संख्यामा रहेका हात्ती पनि भाग्दै थिए। त्यहीवेला कसैले हात्ती धपाउन पटका पड्कायो। त्यो आवाजले तर्सेको हात्ती बिजुलीको पोल र घरको चेपमा पर्यो। छानामा लगाइएको टिनले हात्तीको पछाडिको भाग काटियो।
त्यसपछि जंगिएको हात्ती मान्छेतिर फर्कियो। हात्ती धपाउन हिँडेका धेरै त भागे, तर गौरा, ६६ वर्षीय नागेन्द्र पौडेल, ५८ वर्षीया पार्वता पौडेल र ३० वर्षीय कृष्ण पौडेल भाग्दाभाग्दै हात्तीको पञ्जामा परे। पार्वता र कृष्णलाई सामान्य चोट लागे पनि गौरा र नगेन्द्र भने गम्भीर घाइते भए।
त्यो रात हात्तीले साह्रै दुःख दिएको पाथिभरा कालिका सामुदायिक वनका अध्यक्ष चिरञ्जीवि पौडेल बताउँछन्। “घाइते हात्ती जंगिएपछि हाम्रो केही लाग्दैन, धन्न मान्छे मारेन,” अध्यक्ष पौडेल भन्छन्।
हात्तीलाई चोट लागेपछि विध्वसं मच्याउने गरेको डिभिजन वन कार्यालयका प्रमुख जीवन पाठक बताउँछन्। “हात्ती निकै इखालु जनावर हो। यसलाई चोट लाग्यो भने यसले मान्छेलाई त्यसै छोड्दैन,” पाठक भन्छन्।
नगन्य राहत
डिभिजन वन कार्यालय, भद्रपुरमा आउने अधिकांश सेवाग्राही कुनै न कुनै तवरले हात्तीसँग जोडिएका हुन्छन्। कार्यालयले वर्षेनी आठ सयभन्दा बढी सेवाग्राहीका राहतका लागि सिफारिश गरिएका फाइल कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय, सुनसरी पठाउने गर्छ। डिभिजन वन कार्यालय प्रमुख पाठक भन्छन्, “डिभिजन वन हैन, हाम्रो कार्यालय डिभिजन हात्तीभन्दा पनि फरक पर्दैन।”
वर्षेनी सीमा पारिको जंगलबाट दुई सयभन्दा बढी हात्ती झापा पस्छन्। तर, झापाको डिभिजन वन कार्यालयले भने १५ देखि २० वटा हात्तीलाई मात्रै धान्न सक्ने गरेको पाठक बताउँछन्। “वन क्षेत्रमा १५ देखि २० वटा हात्तीका लागि आहार लगाइएको छ,” उनी भन्छन्, “हात्ती लखेट्न सक्ने सशस्त्र वन रक्षक जम्मा सात जना मात्रै छन्, जसले हुलका हुल छिर्ने हात्तीलाई सीमामै रोक्नै सक्दैनन्।”
वन्यजन्तुले गर्ने क्षतिको कोशीटप्पु वन्यजन्तु आरक्षले क्षति दिने गरेको छ। वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ मा मानवीय क्षतिका लागि घाइतेको प्रकृति हेरेर प्रेषित कागजात र विशेषज्ञ चिकित्सकको सिफारिशका आधारमा बढीमा दुई लाख रुपैयाँसम्म औषधोपचार खर्च दिने व्यवस्था छ। आकस्मिक उपचार जुनसुकै अस्पताल भए पनि त्यसपछि भने सरकारी अस्पतालमै उपचार गराउनुपर्ने व्यवस्था छ।
तर, गौरा र नगेन्द्रको हकमा पूर्ण उपचार नै आकस्मिकमा जस्तै भयो। लामो समय निजी अस्पतालमै उपचार गर्नु परेको उनका छोरा पृथ्विविलास बताउँछन्।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी गौरालाई उपचारका लागि शुरूआतमा भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको थियो। उनको अवस्था जटिल भएको भन्दै सरकारी अस्पतालले बी एन्ड सी अस्पताल रेफर गर्यो। उपचार गर्दागर्दै गौराको परिवारको १३ लाख ७६ हजार र नगेन्द्रको परिवारको दुई लाख ७० हजार रुपैयाँ सकियो। “अझै पनि ज्यान पहिलेकै जस्तो हुन्छ कि हुँदैन भन्ने टुंगो लागोको छैन,” रामविलाश भन्छन्।
२२ दिन अस्पताल बसेर डिस्चार्ज भएकी गौरालाई अझै सन्चो लागेको छैन। टाउकोमा गम्भीर चोट लागेको छ भने घाँटी र दुवै हात भाँचिएका छन्। दैनिक अस्पताल लैजानुपर्ने भएकाले बिर्तामोड-१ मै डेरा लिएर उपचार बसिरहेको उनकी छोरी मनीषा पौडेल बताउँछिन्। “आमाको उपचार गर्दागर्दै १३ लाख सकियो, थप उपचारका लागि पैसा छैन,” मनिषा भन्छिन्, “त्यसैले छेउमै बसेर आवश्यक परेको वेला अस्पताल दौडाउँछौं।”
नागेन्द्रका पनि दुवै हात र खुट्टा भाँचिएका छन्। हात-खुट्टामा स्टिल लगाइएको नागेन्द्रका भाइ चिरञ्जीवि बताउँछन्। उनी पनि पाँच दिन अस्पताल बसेका थिए। केही बिसेक हुँदै गएको भए पनि पूर्णरुपमा ठीक भएका छैनन्। सरकारले उपचारमा लागेको खर्च नदिने गरेकाले समस्या भएको उनको गुनासो छ। “दुई लाखले के हुन्छ? मान्छे पहिले जस्तै त हुँदैन, कम्तिमा उपचारमा लागेको खर्च त दिनुपर्छ,” उनी भन्छन्।
राहतमा पनि ढिलाइ
झापाको कमल गाउँपालिका-४ चुलाचुली मोडका ३५ वर्षीय होमबहादुर राईको घर २०७८ भदौ १२ गते भत्कायो। भर्खरै बनाएको पक्की घरसँगै भित्र राखेको धान पनि हात्तीले खायो। जंगली जनावरले घर भत्काउँदा सरकारले राहत दिने राहतका लागि उनले सबै प्रक्रिया पूरा गरे।
त्यसका लागि उनले भदौ अन्तिम साता डिभिजन वन कार्यालय, भद्रपुरमा सबै कागजात बुझाए। मुचुल्कामा ८० हजार बराबरको क्षति भएको उल्लेख थियो, तर उनका हातमा २० हजार रुपैयाँ मात्रै पर्यो। “१६ महीनापछि घरको १० हजार र अन्नको १० हजार रुपैयाँ पाएँ,” होमबहादुर आफैलाई प्रश्न गर्छन्, “यो राहतमा खुशी हुनु की दुःखी?”
निर्देशिकाअनुसार, घर-गोठको क्षतिका लागि प्रकृति हेरेर बढीमा १० हजार रुपैयाँ र भकारीमा भण्डारण गरिएको अन्नको मूल्यांकन गरेर बढीमा १० हजारसम्म दिने व्यवस्था छ। जसले गर्दा वन्यजन्तुले जति क्षति गरेको भए पनि पीडितले बढीमा २० हजार मात्रै पाउँछन्। यसबाट सर्वसाधारण वर्षौंदेखि मर्कामा परिरहेका छन्।
अझ ऐलानी जग्गामा भएको अन्नबाली हात्तीले नष्ट गरिदिएमा पीडितले राहतका लागि निवेदन दिने प्रक्रियामा सामेल नै हुन नपाउने व्यवस्था छ। जसका कारण धेरै सर्वसाधरण राहत प्रक्रियाबाटै वञ्चित हुने गरेको डिभिजन वन प्रमुख पाठक बताउँछन्।
वन्यजन्तुको आक्रमणबाट भएको क्षतिको राहत दिने प्रक्रिया पनि लामो छ। मृत्यु भएमा एक महीनाभित्रै राहत दिने अभ्यास भएको पनि घाइते र अन्यको हकमा भने प्रक्रिया लामो भएको डिभिजन प्रमुख पाठक स्वीकार्छन्। “प्रत्येक फाइलका लागि बैठक बसेर स्वीकृत गरेपछि मात्रै आरक्षमा पठाउनुपर्छ, जुन दिनैपिछे बैठक बसेर सम्भव हुँदैन,” उनी भन्छन्, “जसले गर्दा छिटो गर्न खोज्दा पनि लम्बिन जान्छ।”