गण्डकीका नवनियुक्त मुख्यमन्त्री भन्छन्- प्रदेशको औचित्य सावित गर्नेछौं
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले संघीयताको औचित्य सावित गर्ने बताएका छन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई पुस २५ गते मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेकपा (माओवादी केन्द्र), राप्रपा र स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।
उनलाई एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थन रहेको छ। ६० सदस्यीय प्रदेश सभामा बहमुतका लागि ३१ सांसद आवश्यक पर्छ। अब गण्डकीमा २७ सांसद रहेको नेपाली कांग्रेस प्रतिपक्षमा रहेको छ।
मुख्यमन्त्री नियुक्त बनेपछि अधिकारीले केन्द्र र स्थानीय सरकारसँग समन्वय गर्दै प्रदेशको औचित्य सावित गर्ने बताए। मुख्यमन्त्री अधिकारीले भने, “मलाई असाधारण जिम्मेवारी आएको छ। परिस्थिति सामान्य बनाउने सबै राजनीतिक दलहरूबीच सहमति, सहकार्य गरेर अघि जान चाहन्छौं। समृद्ध गण्डकी, समुन्नत गण्डकी र सुसचित गण्डकी बनाउनका लागि केन्द्र र स्थानीय सरकारसँग समन्वय गर्दै प्रदेशको औचित्य सावित गर्नेछौं।”
एमालेका संगठन विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य अधिकारी गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित कास्की १ ‘ख’ बाट प्रदेश सभाको चुनाव लडेका थिए।
सत्ता गठबन्धनको भागबण्डामा माओवादीले सभामुख पाउने भएको छ। माओवादीका कृष्ण धिताल सभामुख बन्ने सहमति बनेको छ।