माओवादी विना प्रदेश १ मा सरकार गठन
संघीय सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) बाहेक प्रदेश १ मा नेकपा (एमाले)को नेतृत्वमा सरकार बनेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा सोमबार चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो। एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाका निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई मन्त्रालयको जिम्मेवारी पछि दिइने भएको छ।
प्रदेश सरकारमा सम्मानजनक भूमिका नपाएको जनाउँदै केन्द्रको सहमति बिपरीत माओवादी संसदीय दलले प्रदेश सरकारमा नजाने तय गरेपछि तीन दलको संलग्नतामा सरकार गठन भएको छ। आइतबार मुख्यमन्त्रीको दाबी पेश गर्दा भने एमाले नेता कार्कीलाई माओवादीले पनि समर्थन दिएको थियो। कार्की ६० जना प्रदेश सभा सदस्यको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सोमबार बसेको माओवादी प्रदेश संसदीय तलको बैठकले तत्कालका लागि सरकारमा नजाने निर्णय गरेको हो। मुख्यमन्त्री तथा मन्त्रीहरूले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।
माओवादीका प्रदेश सचिव गणेश उप्रेतीका अनुसार बैठकले आलोपालोमा सरकारको नेतृत्व गर्नेबारे सहमति भएपछि मात्रै सरकारमा जाने निर्णय गरेको छ।
प्रदेश सभामा कसैको पनि एकल बहुमत नभएपछि नेपापलको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन भएको हो।
प्रदेश सभाका ९३ सदस्यमध्ये एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीका एक सांसद छन्।