काठमाडौंलाई हराउँदै विराटनगर क्वालिफायरमा प्रवेश
काठमाडौं नाइट्सलाई पराजित गर्दै विराटनगर सुपर किङ्स नेपाल टी–२० लिगको क्वालिफायरमा प्रवेश गरेको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौंलाई ९९ रनले पराजित गर्दै विराटनगर क्वालिफायरमा प्रवेश गरेको हो। विराटनगरले दिएको १४३ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १२.४ ओभरमा ८३ रन मात्रै बनाउन सक्यो।
काठमाडौंका लागि ज्ञानेन्द्र मल्लले १५, लोकेश बमले १३ र कमलसिंह ऐरीले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
विराटनगरका लागि सूर्य तामाङले चार, केओन जोशेप र शाहब आलमले दुई–दुई तथा हुसैन तलतले एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो। विराटनगरका लागि रोहितकुमार पौडेलले ६१, विवेक यादवले ४६, हुसैन तलतले ३८ र राज नन्नानले २३ रन बनाएका थिए।
काठमाडौंका लागि कमलसिंह ऐरी र अनिल खरेलले दुई–दुई तथा अभिनाष बोहरा र गौतम केसीले एक–एक विकेट लिएका थिए।
अब दोस्रो क्वालिफायर पुस २६ गते मध्याह्न १२ः३० बजे विराटनगर र जनकपुरबीच हुनेछ। विजेता टोली फाइनलमा प्रवेश गर्नेछ। लुम्बिनी अल स्टार्स यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ। फाइनल खेल पुस २७ गते मध्याह्न १२ः३० बजे हुनेछ।