समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताएका छन्।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूहरू सबै जनताको निरन्तर निगरानीमा रहेकाले उनीहरुको जीवनमा सार्थक परिवर्तन ल्याउन लागिपर्नुपर्ने बताए। दाहालले भने, “समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्छ।”
प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनतम पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रतिनिधि सभामा सत्तारुढ गठबन्धनमा रहेका एमालेका ७८, माओवादीका ३२, स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका तीन सांसद छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न १३८ सांसद आवश्यक पर्छ।
त्यस्तै, विपक्षमा रहेका नेपाली कांग्रेसका ८९, नेकपा (एकीकृत समाजवादी)का १०, लोकतान्त्रिक समाजवादी पार्टीका चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीका एक-एक सांसद छन्। प्रतिनिधि सभामा पाँच जना स्वतन्त्र सांसद छन्।