के छ राधिका शाक्य र मानव सेवा आश्रमको सम्बन्ध?
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य असहाय व्यक्ति सेवा गर्दै आएको मानव सेवा आश्रममा वेला बखत गइरहन्छिन्‚ के छ आश्रमसँग उनकाे सम्बन्ध?
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले पुस १९ गते भक्तपुरको बालकोटस्थित आफ्नो निवासमा एक वर्षको बालकलाई काखमा लिएर फोटो खिचाए। ओली दम्पतीले बालकलाई चुम्बन गरे। राधिकाले टीका र दुई हजार रुपैयाँ दक्षिणासँगै आशीर्वाद दिइन्।
त्यही दिन अपराह्न शाक्यले मानव सेवा आश्रमका संयोजक सुमन बर्तौलालाई फोन गरेर ‘आज बाबुको जन्म दिन रहेछ, भेट्नका लागि आउँछु है’ भनेकी थिइन्। शाक्यको कुरा सुनेपछि बर्तौलाले आफूहरू एक कार्यक्रममा रहेकाले साँझतिर बालकलाई लिएर बालकोट आउने बताएका थिए।
भक्तपुरस्थित मानव सेवा आश्रमको कार्यालयमा जन्मिएका ती बालकले न आमाको माया न त बुवाको स्नेह अनुभूति गर्न पाए। आश्रम नै उनको सबथोक हो। आश्रमका अभियन्ताले डेढ वर्षअघि रामेछापको सडकबाट मानसिक सन्तुलन गुमाएकी एक महिलाको उद्धार गरेको थियो। शारीरिक रुपमा कमजोर उनलाई आश्रमै राखी हेरचाह गरिएको थियो। परीक्षण गर्दा उनी गर्वभती रहेको थाहा भयो।
मानसिक सन्तुलन गुमाएकी ती महिलालाई गर्भबारे थाहा थिएन। आश्रममा ल्याएको ६ महीनापछि ती महिला सुत्केरी भइन्। त्यही दिन शाक्य आमा-छोरालाई भेट्न आश्रम पुगेकी थिइन्। तिनै बालकको जन्मदिन ओली निवासमा मनाइएको हो।
२०७७ सालको जाडो याममा सडकमा बेवारिसे रहेका मानिसको उद्धारका लागि एक महीने पूर्व-पश्चिम अभियानमा निस्केका आश्रमका अभियन्तालाई शाक्यले एक-एक वटा झोला उपहार दिंदै बालुवाटारबाटै बिदाइ गरेकी थिइन्। जतिवेला तत्कालीन प्रधानमन्त्री ओली पनि सँगै थिए। देशभरबाट ७५८ जना उद्धार गरेर ल्याइयो। त्यो समयमा शाक्यले भनेकी थिइन्, “सन्तान नभएकाले सन्तानलाई गरिने माया कस्तो हुन्छ मलाई थाहा छैन। यदि मेरा छोराछोरी भएको भए पनि उनीहरूको भन्दा धेरै माया तिमीहरूकै लाग्थ्यो होला।”
देशभरबाट उद्धार गरिएका उनीहरूलाई राख्न समस्या भएपछि शाक्यकै सहयोगमा सुकुम्बासीका लागि निर्माण गरिएको काठमाडौंको रानीवनस्थित भवन तयार गरियो। मानव सेवा आश्रममा देशभरबाट उद्धार गरिकएका एक हजार ६ सय बालबालिका आश्रित छन् भने रानीवनको भवनमा दुई सयभन्दा बढी छन्।
काठमाडौं महानगरले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती उठाउन डोजर पठाएपछि रानीवनको भवन पनि चर्चामा आयो। सकुम्बासीका लागि निर्माण गरिएको भवनमा पूर्व प्रधानमन्त्री ओलीकी पत्नी शाक्यले सञ्चालन गरेको मानव सेवा आश्रमको हालीमुहाली भएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भयो।
आश्रममा संयोजक बर्तौला त्यसलाई स्वीकार्दैनन्। “सरकारलाई आवश्यक नभएसम्म भवन प्रयोग गर्ने सम्झौता अनुरुप हामी एक वर्षअघि यहाँ आइपुगेका हौं। भुत बंगला जस्तो भवनलाई हामीले डेढ करोडभन्दा बढी रुपैयाँ खर्च गरी बस्न योग्य बनायौं,” उनी भन्छन्‚ “जसको कोही, केही छैन र उनीहरू आफ्ना लागि आफैं केही गर्न सक्दैनन्‚ त्यस्ता व्यक्तिलाई राखेका छौं।”
राज्यका लागि सुकुम्बासी व्यवस्थापन जति चुनौतीपूर्ण छ, बेवारिसे मानिसहरूको उद्धार पनि उत्ति नै अपरिहार्य रहेको बर्तौला बताउँछन्। उनले आश्रमलाई नागार्जुन नगरपालिकाले उपलब्ध गराएको जग्गामा सार्न लागेको बताए। आश्रमको भवन निर्माणका लागि टेन्डर प्रक्रिया सकिएको र काठमाडौं महानगरपालिकाले बजेट सुनिश्चित गरिसकेकाले छिट्टै भवन निर्माण हुने उनी बताउँछन्।
परोपकारी काममा रुचि
शाक्य परोपकारी काम गर्न रुचि राख्छिन्। कोभिड-१९ महामारीका वेला त्रिवि शिक्षण अस्पताल पुगेर सहयोग गरेकी थिइन्। त्यस्तै‚ भूकम्पमा घाइते भई वीर अस्पतालमा उपचाररत बिरामीका कुरुवालाई सहयोग गरिन्। साहित्यकार झमक घिमिरेको अवस्थाबारे जानकारी लिएपछि उनको घर निर्माणको पहल गरिन्। उनी मानव सेवासँगै आमा घर, समता स्कूल र बाल मन्दिर लगायत संस्थालाई पनि सहयोग गर्दै आएकी छन्।
दक्षिणकालीमा श्रीमानले श्रीमतीको हत्या गरेपछि उनका तीन बच्चालाई एसओएस स्कूलमा पढाउने‚ उपचार खर्च तिर्न नसकेर एक निजी अस्पतालमा बन्दी बनेकी सुत्केरी बेगाम खातुनको उद्धार गरेकी छन्। एक कार्यक्रममा उनले भनेकी थिइन्, “गरीबी के हो, अभाव कस्तो हुन्छ भन्ने आफैंले भोगेर आएकी छु। त्यसैले देशभित्र यस्ता कति छन्, ती सबैको लेखाजोखा र खोजीनिती एक्लैले गर्न सक्दिनँ। व्यवस्थापन गर्न पनि समस्या छ। तर‚ सुने, देखे र बुझेपछि सकेसम्म केही गर्न खोज्छु।”
पछिल्लो समय ओली दम्पतीले आफ्नो जन्मदिन र अभिभावको पुण्यतिथिमा पनि परोपकारी काम गर्दै आएका छन्। “म र मेरो श्रीमान् दुवैको जन्मदिन, हाम्रा अभिभावकका पुण्यतिथि आजभोलि मानव सेवा आश्रममै मनाउँछौं‚” शाक्यले भनिन्‚ “अस्ति भर्खर मेरो जन्मदिन रानीवनको कार्यालयमै पुगेर मनायौं। सकेको सहयोग गरें। यसो गर्न पाउँदा हामीलाई खुशी मिल्छ।”
अहिले जे जस्तो पदीय जिम्मेवारीमा रहे आफूहरू गरीब परिवारबाट आएको शाक्य सुनाउँछिन्। “सडकमा मागेर खाने स्थिति नभए पनि हामी गरीब परिवारका हौं। त्यसैले गरीबी, दुःख, अभाव के हो भन्ने मलाई राम्रोसँग थाहा छ‚” परोपकारी काममा लाग्नुको कारणबारे शाक्यले भनिन्‚ “सानैदेखि गरीब, दुःखी‚ बाटोमा मागेर बस्नेप्रति निकै माया लाग्थ्यो। कतिपय अवस्थामा त अलि बढी भावुक पनि हुन्थें। उनीहरूका निम्ति जति सक्छु गर्दै आएको छु।”
शाक्य-आश्रम सम्बन्ध
२०७५ चैतमा एक महिला सामाखुशीस्थित मानव सेवा आश्रमको कार्यालयमा पुगिन्। पूर्व जानकारी विना सामान्य नागरिक झैं पुगेकी उनले केही आश्रितसँग कुराकानी गरिन्। आश्रमबारे जानकारी लिइन्। र‚ २५ हजार रुपैयाँ सहयोग गरिन्। उनले सहयोग रसीदमा राधिका शाक्य नाम लेखाएकी थिइन्।
साँझको खाना खाने वेला आश्रमका अभियन्ताबीच ती महिलाबारे चर्चा चल्यो। संयोजक बर्तौलालाई प्रधानमन्त्री पत्नी शाक्य आएको सहकर्मीहरूले बताए। तर‚ आफूलाई पत्याउन गाह्रो भएको बर्तौला बताउँछन्। संस्थाका अध्यक्ष रामजी अधिकारीसँग सल्लाह गरी रसीदमा भएको नम्बरमा तत्काल फोन गर्दा ती व्यक्ति प्रधानमन्त्री पत्नी नै रहेको थाहा भयो।
फोन कुराकानीमा आफूहरूले २०६९ सालदेखि आश्रम शुरू गरेको र त्यसबीचमा पटकपटक तत्कालीन प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरे पनि असफल भएको कुरा सुनाएको बर्तौला बताउँछन्। यस्तै‚ आश्रमको काममा प्रधानमन्त्रीको अभिभावकत्व चाहिएको बताउँदा अर्को दिन बालुवाटार आउन शाक्यले निम्तो दिएको उनको भनाइ छ।
अर्को दिन अपराह्न आश्रमको टोली प्रधानमन्त्री निवास पुग्यो। टोलीले प्रधानमन्त्री दम्पतीलाई तीन मिनेटको भिडियो देखाएर सडक मानव र आफ्ना कामबारे सुनायो। केही कुरा टिपिरहेका ओलीले भनेका कुरा बर्तौलाले सुनाए‚ “यस्ता मानव अझै सडकमा छन्? यति धेरै मानिसलाई अझै व्यवस्थापन गर्नुपर्नेछ? समाज कल्याण परिषद् के गरेर बसिरहेको छ?”
ओलीको कुरा सुनेपछि आश्रमको टोलीले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त देश घोषणा गर्ने लक्ष्य लिएर काम गरिरहेको बताउँदा २०८२ होइन, २०७८ भित्रै गर्न सकिने तत्कालीन प्रधानमन्त्री ओलीले आत्मविश्वास थपिदिएको बर्तौला सम्झिन्छन्।
यसपछि शाक्यले २०७६ वैशाख १ मा एचआईभी संक्रमित बालबालिकासँग नयाँ वर्ष मनाउँदै गरेकाले आश्रमको टोलीलाई आउन निम्तो दिएकी थिइन्। त्यो वेला प्रधानमन्त्री ओलीले ‘तपाईंहरूका लागि सरकारले एउटा निर्णय गरेका छ, थाहा पाउनुभयो’ भनी सोधेका थिए।
केही थाहा नभएको बताएपछि ओलीले मन्त्रिपरिषद्ले मानव सेवा आश्रम सहित तीन वटा संस्थाका लागि एक-एक करोड रुपैयाँ अक्षकोषको रुपमा प्रदान गर्ने र आश्रममा आश्रितको पालनपोषणका लागि प्रतिव्यक्ति सामाजिक भत्ता सरहको रकम उपलब्ध गराउने निर्णय गरेको सुनाएका थिए। “त्यो समय हामी निकै ठूलो आर्थिक संकटमा थियौं। १४ जिल्लामा आठ सय सडकापेक्षीहरूलाई सेवा दिइरहेका थियौं,” बर्तौला भन्छन्, “सरकारले यति चाँडो काम गर्न सक्छ भन्ने कुरा मैले कल्पना नै गरेको थिइनँ।”
त्यसपछि शाक्य र आश्रमको सम्बन्ध झन् निकट बन्दै गएको बर्तौला बताउँछन्। शाक्यले आश्रममा काम गर्ने र आश्रितहरूलाई छोराछोरीलाई जस्तै माया गर्ने उनको भनाइ छ।
शाक्य आफू पुगेको ठाउँमा रहेको आश्रममा पुग्ने गर्छिन्। चितवनमा एमाले महाधिवेशनको रस्साकसी चलिरहेका वेला उनले मानव सेवा आश्रम चितवन पुगेर एक लाख रुपैयाँ सहयोग गरेकी थिइन्। त्यहींबाट आश्रमको मुख्यालय रहेको हेटौंडा पुगेकी थिइन्। चुनावका वेला ओलीसँगै नेपालगञ्ज पुगेकी शाक्य त्यहाँ रहेको मानव सेवा आश्रममा पुगेकी थिइन्।
उनले यो वर्ष आश्रमलाई सात पटकमा चार लाख १५ हजार पाँच सय रुपैयाँ सहयोग गरेकी छन्। यस्तै‚ जिन्सी सहयोग पनि गर्दै आएकी छन्। “तिमीहरूलाई गाह्रो भयो होला भन्दै तिहारमा दुई लाख रुपैयाँ दिनुभयो,” बर्तौला भन्छन्‚ “प्रत्येक दशैंमा आफ्ना लागि सामान किन्दा नजिकै रहेको मानव सेवा आश्रम कौशलटारका लागि चाहिने किनमेल समेत गर्दै आउनुभएको छ।”
एक महीनाअघि ओली निवासमा पुगेका आश्रमका टीमलाई शाक्यले भनेकी थिइन्, “आजभोलि मलाई पनि मानव सेवा आश्रमको मान्छे भनेर चिन्न थाले छन्, खुशी लाग्यो।” एक व्यक्तिले पुरस्कार स्वरुप पाएको ४० हजार रुपैयाँ आश्रमलाई उपलब्ध गराइदिन भन्दै शाक्यलाई दिएका थिए।
शाक्य मानव सेवा आश्रमकी संरक्षक पनि हुन्। “उहाँले नै हामीलाई सरकारसँग जोडिदिनुभयो। उहाँको काम र लगाबबाट प्रभावित भयौं। उहाँको अभिभावकत्व र संरक्षकत्व प्राप्त गरेको अनुभूति भएपछि कार्यसमितिमा संरक्षक मनोनयनका लागि प्रस्ताव गरेका हौं‚” संस्थाका अध्यक्ष अधिकारी भन्छन्।
आश्रमले १९ जिल्लामा २३ वटा शाखाबाट सेवा दिंदै आइरहेको छ। शाखामा पाँच वर्षभन्दा कम उमेरका ५० र ६ देखि १७ वर्षसम्मका ९२ बालबालिका छन्। विद्यालय जाने उमेरकाहरू आश्रमबाटै विद्यालय आउजाउ गर्छन्। १८ देखि ५९ वर्षका एक हजारभन्दा बढी छन्। उनीहरूको हेरचाहका लागि आवश्यक रकमका लागि विदेशी संस्थाबाट सहयोग नलिने आश्रमले ‘क्राउड फन्डिङ’ र तीनै तहका सरकारसँग समन्वय गर्दै आएको अध्यक्ष रामजी बताउँछन्।
आश्रमको सहयोगका लागि नै केही समयअघि सांगीतिक समूह नेपथ्य ब्यान्डले देशका विभिन्न १० शहरमा सांगीतिक कार्यक्रम गरेको थियो।