बागमतीमा मुख्यमन्त्री दाबी पेश गर्ने आज अन्तिम दिन
बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दिइएको समय आज सकिंदै छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले गत बिहीबार पुस २५ गते दिउँसो ४ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका थिए।
११० सीट रहेको बागमतीमा सरकार गठनका लागि ५६ सीट आवश्यक पर्दछन्। तर‚ प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरिएको हो।
प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७ सांसद छन्। यस्तै‚ नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३ सांसद छन्। नेकपा (एकीकृत समाजवादी)का सात‚ नेपाल मजदूर किसान पार्टीका तीन र हाम्रो नेपाल पार्टीका दुई सांसद छन्। सत्ता साझेदार दल एमाले‚ माओवादी केन्द्र र राप्रपाको ६१ सांसद छन्।