बाँकेमा फैलिंदै दादुरा, निवारण लक्ष्यमा धक्का
लुम्बिनी प्रदेशको बाँकेमा दादुरा 'आउटब्रेक' भएसँगै सन् २०२३ सम्म दादुरा निवारण गर्ने सरकारको लक्ष्यमा धक्का लागेको छ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा पुस १२ गते पाँच जनामा दादुरा संक्रमण भेटिएको थियो। अहिले त्यो संख्या बढेर ७८ पुगेको छ। संक्रमणबाट एक जनाको मृत्यु भएको छ। दादुराको प्रकोप बढ्दै गएपछि त्यहाँ विश्व स्वास्थ्य संगठन‚ यूनिसेफ लगायतका संस्थासँग सहकार्य गरेर दादुरा-रुबेला विरुद्धको खोप वितरण गरिएको छ।
दादुरा निवारणका लागि सरकारलाई अमेरिकी रेडक्रस, संयुक्त राष्ट्रसंघीय प्रतिष्ठान, संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)‚ यूनिसेफ र विश्व स्वास्थ्य संगठनका साथै गावी खोप सहकार्य (भ्याक्सिन अलाएन्स), बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन लगायतका संस्थाले सहयोग गर्दै आएका छन्। प्रत्येक वर्ष दादुरा निवारणका लागि २० करोड रुपैयाँको हाराहारीमा खर्च हुन्छ।
उपमहानगरपालिकाका अनुसार‚ नेपालगञ्जमा खोप लगाउने लक्षित बालबालिका १० हजार ९९६ छन्। जसमध्ये एक हजार ७२० जनालाई खोप दिइएको छ। दादुरा 'आउटब्रेक' भएपछि गत २२ गतेदेखि खोप लगाउने कार्यक्रम शुरू गरिएको थियो।
स्वास्थ्य मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थाहरूले नौ र १५ महीना उमेरमा दुई पटक बालबालिकालाई निःशुल्क दादुरा विरुद्धको खोप दिंदै आएका छन्। खोप वितरणको जिम्मा स्थानीय तहलाई दिइएको छ। तर, त्यहाँ संक्रमण देखिएका अधिकांश बालबालिकाले नियमित वितरण गरिने खोप नलगाएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताउँछन्। उनी भन्छन्, “नियमित खोप वितरण भइरहे पनि यहाँ धेरै बालबालिका छुटेकाले दादुरा आउटब्रेक भयो।”
लक्ष्यमा धक्का
सरकारले सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ। तर‚ हरेक वर्ष देशका विभिन्न भागमा दादुरा आउटब्रेक भएकाले उक्त लक्ष्यमा चुनौती थपिएको छ। यसअघि २०७६ चैतमा धादिङमा दादुरा–रुबेलाबाट दुई बालकको मृत्यु भएको थियो भने १५० जनाभन्दा बढी संक्रमित भएका थिए। खोप सबैतिर नपुग्दा संक्रमित भेटिने गरेको जानकारहरू बताउँछन्।
विश्व स्वास्थ्य संगठनले सन् २०२० मा प्रकाशित गरेको प्रतिवेदन अनुसार‚ दादुरा विरुद्धको खोप नलगाएका व्यक्तिमा भाइरस संक्रमण भएपछि उनीहरूबाट खोप नलगाएका वा खोपको पूर्ण मात्रा नलगाएका मानिसमा फैलिएर प्रकोपको रूप लिन्छ।
दादुरा नियन्त्रण गर्दै प्रकोप तथा त्यसबाट हुने मृत्युको रोकथामका लागि 'एमसीभी १' र 'एमसीभी २' नामक खोप देशको कुल जनसंख्याको ९५ प्रतिशतलाई लगाउनु पर्दछ भने राष्ट्रिय तथा स्थानीय रूपमै सो दर कायम गर्नुपर्दछ। विश्वव्यापी रूपमै एमसीभी खोप लगाउने जनसंख्या विगत एक दशकदेखि ८४ देखि ८५ प्रतिशतको बीचमा रहेको छ भने निरन्तर वृद्धि भइरहेको एमसीभी २ लगाउनेको संख्या हालसम्म ७१ प्रतिशत मात्रै पुगेको छ। नेपालमा यो दर झन् कम रहेको छ।
आर्थिक वर्ष २०७६/७७ मा दादुरा-रुबेला विरुद्धको खोपको पहिलो मात्रा लिने बालबालिकाको खोप कभरेज दर ७०.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै‚ आर्थिक वर्ष २०७७/७८ उक्त दर ८०.९ प्रतिशतमा पुग्यो। आर्थिक वर्ष २०७८/७९ मा यो कभरेज दर ९२. ८ प्रतिशत पुग्यो। तर‚ लुम्बिनी, गण्डकी र बागमती प्रदेश बाहेक अन्य प्रदेशमा खोप कभरेज दर ८५ प्रतिशत हाराहारी छ। यो तथ्यांकले धेरै बालबालिकाकाले नियमित खोप छुटाइरहेको देखाउँछ।
कोरोना महामारीको कारण विश्वव्यापी रुपमा दादुराको प्रकोप बढेको देखाउँछ। अमेरिकाको सीडीसीको एक रिपोर्टका अनुसार, सन् २०१९ मा दादुरा रोगीको संख्या विश्वभर पछिल्लो २३ वर्ष यताकै अत्यधिक रह्यो। सन् २०१९ मा विश्वभर आठ लाख ६९ हजार ७७० जना दादुराका बिरामी भेटिए, जुन संख्या विश्व स्वास्थ्य संगठन कार्यरत सबै क्षेत्रमा गरी सन् १९९६ यता देखिएको सबैभन्दा धेरै हो। २०१६ यता दादुराको कारणले मृत्यु हुनेको संख्यामा ५० प्रतिशतले वृद्धि भई २०१९ मा मात्रै अनुमानित दुई लाख सात हजार ५०० जनाको मृत्यु भयो।
दादुराको कारणले हालसम्मकै थोरै मानिसले ज्यान गुमाएको वर्ष २०१६ को तथ्यांकलाई २०१९ को तथ्यांकसँग तुलना गर्दा बिरामीको संख्या र मृत्यु दुबै बढ्नुको प्रमुख कारण दादुरा रोकथामको लागि आवश्यक खोपहरू (एमसीभी १ र एमसीभी २) समयमा दिन नसक्नु भएको सीडीसीले उल्लेख गरेको छ।
दादुरा के हो?
दादुरा संक्रमितले खोक्दा, खानेकुराहरू बाँडेर खाँदा, एउटै कपडा पालैपालो प्रयोग गर्दा अन्य व्यक्तिमा सर्छ। दादुरा संक्रमण भएका बालबालिकाहरूमा ज्वरो आउनु र शरीरमा राता बिबिरा देखा पर्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने जस्ता लक्षण देखिन्छ।
यूनिसेफले सन् २०१९ मा प्रकाशित गरेको दादुरा सम्बन्धी एक प्रतिवेदन अनुसार, दादुरा अति छिटो सर्ने संक्रामक रोग हो जुन मिजल्स भाइरसको कारणबाट हुन्छ। रुबेला पनि भाइरस (रुवेला भाइरस) कै कारणबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो। यी रोगहरू सामन्यतः पाँच वर्षमुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ। बालबालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ। कुपोषित बालबालिकामा संक्रमण भयो भने मृत्युको जोखिम धेरै हुन्छ।
चिकित्सकहरूका अनुसार, दादुरा लागेपछि यसको खास उपचार छैन। तर‚ यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्गै राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण उपचार गर्नुपर्छ। यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्य रुपमा खुवाउनु पर्दछ।
बाँकेका संक्रमित बालबालिकाहरूलाई विश्व स्वास्थ्य संगठनका चिकित्सक तृप्ति रमन पाल लगायतका स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरी भिटामिन ए क्याप्सुल लगायतका औषधि उपलब्ध गराएको श्रेष्ठले बताए। संक्रमित बालबालिकाहरूको थप स्वास्थ्य परीक्षण र उपचारका साथै संक्रमण नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखा, जनस्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठनको संयुक्त प्रयासमा पहल भइहेको छ।