हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।
प्रदेश प्रमुख परशुराम खापुङले आइतबार साँझ कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको ।छ
संविधानको धारा १६८ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। कार्कीले नेकपा (माओवादी केन्द्र), राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।
प्रदेश १ मा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एक सांसद छन्। कार्की ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।
उनी मंसीर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा झापा ५ ‘क’बाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। झापाको गौरादहका ५८ वर्षीय कार्कीले त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेका छन्।