प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेश
प्रदेश १ को मुख्यमन्त्रीका लागि नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन्।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा आइतबार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका हुन्। उनले ६० जना सांसदको समर्थनमा दाबी पेश गरेका छन्।
प्रदेश १ मा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एक सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ।
प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले आज अपराह्न ५ बजेसम्म दाबी पेश गर्न समय दिएका थिए।
प्रदेश १ मा कुनै पनि दलको बहुमत छैन। जसले गर्दा दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न दाबी पेश गरिएको हो।