कोशीमा जलचरा गणना शुरू, खोया हाँसदेखि ग्रेटर ह्वाईट फ्रन्टेड गुज भेटिए
चराको राजधानी भनेर चिचिने कोशीटप्पुमा ३५औं जलचरा गणना शनिबारबाट शुरू भएको छ।
बराहक्षेत्रको चतरास्थित कोशी पुलबाट दक्षिण कोशी ब्यारेजसम्मको क्षेत्रमा जलमार्ग र सडकबाट गणना हुँदै छ। चतराबाट दक्षिण सिसौलीघाट क्षेत्रमा ठुलो संख्यामा खोया हांस, ग्रेटर ह्वाईट फ्रन्टेड गुज, चखेवा, कालो गरुडको समूह देखिएको गणकले बताएका छन्। साइबेरियादेखि बसाई सरेर आउने यी चराको संख्या गत वर्षको तुलनामा संख्यामा खासै कमि नआउंने अनुमान गरिएको गणकले बताएका छन्।
कोशी पन्छी समाजको अगुवाईमा संरक्षणसँग सम्बन्धित बिभिन्न संस्थाका प्रतिनिधि गणनामा सहभागि छन्। समाजका पूर्व अध्यक्ष अनिष तिम्सिनाका अनुसार उत्तरी क्षेत्रबाट शुरू गरिएकाले दक्षिणी क्षेत्रमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्ष तथा आसपासमा चराको संख्या बढ्न सक्ने देखिएको छ। तर, केही वर्षयता साईबेरियादेखि जाडो छल्न आउंने चराको संख्या घट्दै गएको पाइएको छ।
कोशी नदीको पूर्व र पश्चिमका दुई किनारबाट दुई वटा डुङ्गा र बाहिर गाडीबाट गणना शुरु गरिएको गणना संयोजक तथा समाजका कार्यबाहक अध्यक्ष चक्र तिम्सिनाले बताए। कोशीमा पाँच दिनमा गणना सकिने बताइएको छ। नदी क्षेत्र र आरक्षमा तीन दिन र आसपासका जलासय तथा सिमसार क्षेत्रमा दुई दिन गणना गरिने भएको छ।
सगरमाथाको उचाईभन्दा माथिबाट उडेर आउँने खोया हासको झुुण्ड जलयात्राबाट गणनाका क्रममा पाइएको छ। कोशीको बीच भागमा पर्ने बगरमा यसका बथान पाइने गरेको छ। केही वर्षअघिदेखि मात्रै कोशी नदीमा खोया हास पाइन थालेको हो। धेरैको झुण्डमा चरा पाइनुले कोशीमा पर्यटकको संख्या पनि बढ्न सक्ने कोशी पन्छी समाजको अनुमान छ।
कोशीटप्पुमा हरेक वर्षको पुस महीनामा चरा गणना हुने गर्छ। मध्य जाडोका वेला बसाई सरेर आउंने जलपंक्षी सिमसार क्षेत्रहरूमा पाइने गरेको छ। मानिस र पाल्तु चौपायाको चहलपहलले कोशीटप्पुमा वर्षेनी जलचरा घट्दो क्रममा छ। एकै ठाउँमा हजारको संख्यामा जलचरा देखिने गरेका थिए। अचेल ससाना झुण्ड मात्रै चरा पाइन्छन्।
युरोपदेखि उडेर जाडो छल्न आउँने चराको संख्या कम भए पनि प्रजाति भने उत्तिकै संख्यामा पाइने गरेको छ। १३५ प्रजातिका जलचरा पाइंने कोशी टप्पुमा दुई वर्षअघिको गणनामा ४० प्रजाति मात्रै देखिएका थिए।