न्यून चापीय रेखा नेपाल नजिक, दुई दिन देशभर वर्षा हुने
मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले बुधबार देशभर वर्षा भइरेहको छ ।
अझै दुई\तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक\दुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको छ ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार विशेष गरी बुधबार र बिहीबार यो क्रम जारी रहनेछ । वर्षा निरन्तर नभई एकछिन रोकिने र पुनः शुरु हुने भइरहने छ।
त्यस्तै शुक्रबार देशभर बद्ली रही देशका पश्चिमी भू–भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकामा २० मिलिमिटर वर्षाको भएको छ । यसैगरी पोखरामा १३.०, सिमरामा ३४, वीरेन्द्रनगरमा ५, दिपायलमा १०, दाङमा २१ र नेपालगञ्जमा १३ मिलिमिटर वर्षा मापन गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले बुधबार प्रदेश १, २ र ३ का साना र मझौला खोला, नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेश तथा प्रदेश नं २ र ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीमा आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ ।
यसैबीच ट्राफिक प्रहरी महाशाखाले यो समयमा सवारी साधन चलाउनु अघि वाइपर र हेडलाइट जाँच गर्नुका साथै पानीले भिजेको अवस्थामा सडकमा ब्रेक कम लाग्न सक्ने र सवारी अनियन्त्रित हुन सक्ने भन्दै सवारीको गति कम गर्न आग्रह गरेको छ ।