राष्ट्रपति भण्डारी साझा बस चढेर पाटनढोका (तस्वीरहरू)
राष्ट्रपति विद्यादेवी भण्डारी साझा बस चढेर ललितपुरको पाटनढोका पुगेकी छन्।
ललितपुरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी महाराजगञ्जस्थित शीतल निवासबाट साझा यातायातको बिजुली बस चढेर पाटनढोका पुगेकी हुन्।
राष्ट्रपति भण्डारीले पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालयको अवलोकन गरेकी छन्। उनले पुस्तकालयबारे जानकारी लिएकी छन्।
पुस्तकालय अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले ऐतिहासिक सामग्रीका विषयमा चासो राखेको मदन पुरस्कार पुस्तकालयका अनुसन्धाता दीपक अर्यालले बताए। “विशेष गरेर मदन पुरस्कार पुस्कालयले गरिरहेको डिजिटाइजेशनका विषयमा जानकारी लिनुभयो। ऐतिहासिक सामग्रीको संरक्षणका विषयमा चासो देखाउनुभयो,” अर्यालले भने।
त्यस्तै, पिम्बहालमा आयोजित सांस्कृतिक कार्यक्रमको अवलोकन गरेकी छन्। पिम्बहालमा उनले मल्लकालीन सांस्कृतिक झाँकीको अवलोकन गरेकी हुन्। त्यसपछि राष्ट्रपति भण्डारी साझा बसे चढेरै शीतल निवास फिर्ता भएकी छन्।