‘लाहुरेका वीरगाथा धेरै लेखिए, मैले विरहको कथा लेखें’
‘वर्षौंसम्म धाउँदा पनि अदालतबाट मुद्दा छिनोफानो हुदैन भने सिन्का पाउँरू गर्दा धेरै समय लाग्दैन। फेरि सिन्का पाउँरू गर्दा अन्याय भयो भन्ने पनि छैनन्।’
सुपरिचित गजलकार, कवि एवं गीतकार हुन्
शीतल कादम्बिनी । २०६२ सालमा ‘सुगन्ध यात्रा’ गजलसंग्रहले चर्चामा ल्याएको थियो भने ‘कादम्बिनी’, ‘शीतल’ र ‘निर्झरी’ एल्बमले लोकप्रिय बनायो।
‘कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ’, ‘धेरैचोटि मरेँ म त, धेरैचोटि बाँचें’, ‘झुमा झुम्कावाली’ जस्ता दर्जनौं लोकप्रिय गीत दिएकी कादम्बिनीले पहिलो उपन्यास ल्याएकी छन्, सिन्का पाउँरू। उपन्याससँगै उनको लेखनयात्रामा केन्द्रित रहेर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा अनिता भेटवालले गरेको कुराकानी:
‘कहाँ थियौँ तिमी रङमञ्च उठेपछि आयौ’, ‘धेरै चोटी मरेँ म त, धेरै चोटी बाँचेँ’ जस्ता गीत दिएर गीत र गजलको संसारमा रमाइरहनु भएको थियो। कसरी आख्यानको क्षेत्रमा आउनुभयो?
गीत, कविता, गजल लेखिरहँदा मसँग धेरै कथा थिएँ। यी कथाहरू गीत र गजलमा नअट्ने पनि भए। त्यसमा पनि अग्रज साहित्यकारहरूले मेरो लेखनशैली विशिष्ट भएको र कथा, निबन्ध, उपन्यास जस्ता विधामा पनि कलम चलाउन प्रेरित गरिरहनुभयो। यहीबीच मलाई आफ्नो गुरूङ संस्कृतिका धेरै कथा बाहिर आएका छैनन् भन्ने लागीरह्यो।
यसबीचमा अमर न्यौपाने, बुद्धि सागर, राजन मुकारुङ, सुविन भट्टराई, नयनराज पाण्डेहरूको लेखन अध्ययन गरेँ। यसले मलाई लेखन यात्रामा आकर्षित गर्यो। त्यसपछि आफ्नो कथा, आफूले जानेको र बुझेको आफ्नै संस्कृतिबारे लेखाँं भन्ने लाग्यो। २०७२ सालको भूकम्पपछि चितवन, लम्जुङ, पोखरा, गोर्खातिर तीन महीना डुलेर काठमाडौं आए र लेखें।
उपन्यासको नाम ‘सिन्का पाउँरू’ राख्नु भएको छ। यसको अर्थ के हो? कसरी यस्तो नाम जुराउँनुभयो?
सिन्का पाउँरुको अर्थ हो, छोडपत्र, पारपाचुके। यो गुरुङ समुदायको पुरानो विधि हो। अदालतले वर्षौं लगाएर फैसला गर्न नसकेको काम पनि सिन्का पाउँरू विधिले एक दिनमा नै फैसला गरिदिन्छ। यसमा प्रत्यक्षदर्शीहरू सहभागी हुन्छन्, गलत कुरा वकालत हुदैन। मुखियाको काम न्यायाधीशको जस्तै हुन्छ। गाउँको चौतारा, पिँढी, आँगनमा बसेर फैसला गरिन्छ। अन्यायमा परेकालाई पूरा गाउँ नै न्याय दिन लागीपर्छ।
त्यसरी सिन्का पाउँरु अर्थात सम्बन्धविच्छेद भएपछि मुखियाले सिन्का भाचेर आधाआधा दायाँबायाँ फान्छन्। पाउँरू भनेको पाङग्रा भन्ने वृक्षको फल हो। त्यसलाई फुटाएर पनि आधाआधा भाकिन्छ। त्यसपछि सम्बन्धविच्छेद भएको मुखियाले घोषणा गर्दै त्यसदिनबाट दाजुबहिनी सरह भएको र एकअर्काको जीवनमा फेरि दखल नदिने बाचा गराइन्छ। त्यो फैसला नै सिन्का पाउँरू हो।
गुरुङ समुदायमा सिन्का पाउँरू अर्थात छोडपत्रको चलन अझै छ त?
अहिले पनि पुरानो र विकट गाउँहरूमा अभ्यास गरिन्छ। अदालतको भन्दा पनि बढी विश्वास गरिन्छ, उच्च निर्णय मानिन्छ।
यसरी पञ्चभेला मार्फत गरिने सम्बन्धविच्छेदले सबैलाई न्याय गरेको छ त?
अदालतमा सबै साक्षीहरू सही हुन्छन् भन्ने हुदैन। त्यहाँ झुटो गवाही पनि दिइन्छ। तर, सिन्का पाउँरूमा प्रत्यक्षदर्शी मात्र साक्षी हुन्छन्। त्यति बलियो प्रमाण हुन्छ। सिन्का पाउँरू गर्न खर्च पनि धेरै लाग्दैन। यसमा समय पनि धेरै लाग्दैन।
नेपालमा त वर्षौंसम्म धाउँदा पनि अदालतबाट मुद्दा छिनोफानो हुदैन भने सिन्का पाउँरु गर्दा धेरै समय लाग्दैन। फेरि सिन्का पाउँरू गर्दा अन्याय भयो भन्ने पनि छैनन्।
पुस्तकको मुख्य पात्र मौसमीको लाहुरेसँगै बिहे गर्नुपर्छ भन्ने मान्यता देखिन्छ। मौषमीका छोराछोरी भएपछि पनि ज्वाँइ लाहुरे भइदिए हुन्थ्यो भन्ने चाहनाले गुरुङ समुदायले रोजेको ज्वाँइ लाहुरे हुनुपर्छ भन्ने देखिँदैन?
हो, केही त पक्कै छ। गुरुङ समुदायबाटै धेरै लाहुर जाने भएकाले लाहुरे नै ज्वाँइ बनाउने अभिलाषा राखेको देखिन्छ। अर्को, अन्धविश्वास पनि उजागर भएको छ। जस्तोः औसिया अर्थात औसीमा जन्मेको श्रीमानले श्रीमती मार्छन् भन्ने मान्यता देखिन्छ। जसरी मौषमीको श्रीमान दीपक पनि औसिया भएकाले उसँग छोडपात्र गराउन परिवार नै लागि परेका छन्। औसीमा जन्मेको केटा मान्छेले आफ्नो श्रीमती खान्छ भन्ने अन्धविश्वास हो। त्यो रुढिवादी डर र त्रास अझै देखिन्छ।
यससँगै लाहुरेलाई नै छोरी दिनुपर्छ भनेर परिवारले जोड गर्ने परम्परा अझै पनि छ। अहिले पढेको ज्वाँइ पनि खोज्छ, तर पहिले त लाहुरे भन्ना साथ छोरी दिइहाल्ने चलन थियो। त्यो आकर्षण कमाइका कारणले हो।। जुन अझैसम्म पनि देखिन्छ।
यसरी लाहुरे हुन गएका धेरै गोर्खा सैनिकको ज्यान गएको छ। क्यौंको जीवन र परिवार नै उजाडिएको छ। तर, अहिलेसम्म लाहुरेहरूको विरहको कम, वीरताको गाथा बढी लेखिएको जस्तो लाग्दैन?
त्यही लागेर मैले उनीहरूको विरही पक्ष नै लेखेको हुँ। लाहुरे भन्ना साथ जहिल्यै जीवनको रसिक पाटो मात्र देखाउने गरिन्छ। उनीहरूको कमाइ, लाहुरबाट फर्किदा ल्याएका उपहार, वेलावेला परिवारलाई पल्टन घुमाएका कुरा नै बढी देखाइएको हुन्छ। तर, उनीहरूको पीडा, दुःख, परिवारसँगको विछोड, युद्ध भूमिका तिता भोगाई जस्ता पाटो कमै उधिन्ने गरिन्छ। त्यसरी वितेका लाहुरेहरूको परिवारमा आएको विचलनबारे त झनै कम लेखिएको छ।
त्यसैले लाहुरेका विरहका कथामा बुनेर यो पुस्तक लेखेको छु। बुद्धिबहादुर जब पल्टनमा बित्छ, त्यसपछि धनकौरीको जीवनमा चुनौतीका पहाड आइलागे। धनकौरीको जीवनमा मौसमीको प्रवेश नै नहुन सक्थ्यो। श्रीमान लाहुरमै गुमाएकी र एक्लो भएकी धनकौरी अरू कसैको अंगालोमा बाधिँदा मौसमी जस्ता पात्रको जन्म भयो। त्यसपछि जीवनसँगको लडाई, पारिवारिक कलह, सामाजिक अपहेलना र एउटा बुवाको कमि उनीहरूले जीवनभर गरेका छन्। त्यो पनि लाहुरेहरूको विरहकै पाटो हो।
उपन्यासका प्रायः महिला पात्रको छिट्टै विवाह गरिदिन लागिएको देखाइएको छ। यस्तो किन गर्नुभयो?
यो सन्दर्भ अहिलेका शिक्षित किशोरीको हकमा हैन। पहिले हाम्रो पालामा वैशको उमेरामा मान्छे निर्णय गर्न सक्दैन थिए। शिक्षाको अभावले के राम्रो, के नराम्रो छुट्याउन नसक्ने हुन्थ्यो। तर, अहिलेका महिलाले निर्णय क्षमता राख्छन्। पहिले जसले फकायो, एक-दुई वचन राम्रो बोलिदियो, उसैलाई सहि मान्ने निर्दोषपन हुन्थ्यो। कसैलाई नाई भन्न नसक्ने र प्रलोभनमा पर्ने भएकाले उति वेला किशोरावस्थामा धेरै छोरीहरू घर छाडेर एकैछिन भेटेको केटासँग जान्थे।
यो छोरीहरूको बैशको दोष नभएर परिवारले छोरीलाई अभिभावकत्व दिन नसक्दाको परिणति हो। उनीहरूप्रति अभिभावक उत्तरदायी नहुँदा पनि किशोरीहरू सजिलै प्रलोभनमा परेर भाग्थे। त्यहि भएर त्यो हुनुअघि नै पूरा उमेर नपुग्दै घरमा विवाहको कुरा निस्कन्थ्यो, चाँडै विवाह हुन्थ्यो।
खस राजाहरूले घले राजाहरूमाथि विजय प्राप्त गरेको प्रसङ्ग छ। यहाँ घलेहरूले हार्नुको कारण उनीहरूलाई रक्सी खुवाएको भनिएको छ। गुरुङ समुदायमा पनि रक्सीलाई सगुन सरह लिने गरिन्छ। यो समुदायको लागि रक्सी कमजोरीका रुपमा पनि पाउँनुहुन्छ?
यो प्रसङ्गमा गुरुङहरू निर्दोष र सोझा हुन्छन् पनि भन्न खोजेकी हुँ। उनीहरूले कुनै पनि मान्छेको कुरा चाँडै पत्याउँछन् र समस्यामा पर्छन्। बाठा मानिसको जालोमा पर्छन्। पुस्तकको प्रसङ्गमा पनि खस राजाहरूले घले राजाहरूलाई ‘आऊ, मिलेर राज्य चलाउ, विकास गरौं’ भनेर भोजमा बोलाए। खस राजाहरूले चाँहि खिर, पुरी, दुध, दहि, घिउ खाए। घले राजाहरूलाई भने जाँडरक्सी टन्न खुवाएर मताए। उनीहरू मातेपछि युद्ध गर्न नसक्ने अवस्थामा छपाछप काटेर खोलामा बगाइदिए।
यसरी गुरुङहरूले खसहरूको चाल नबुझेको र रक्सी प्रयोग गरेर हराएरको भन्ने इतिहास छ। तर, अहिले पनि यो समुदायको कमजोरी रक्सी बनेको देखिन्छ। अझ, दुर्गम गाउँमा त घरमा बनेको रक्सी खाने, झगडा गर्ने, होहल्ला गर्ने देखिन्छ। त्यही वेला आवेसमा आएर गलत क्रियाकलाप पनि भएका छन। रक्सी मतवाली समुदायको मात्र कमजोरी हो भन्दिन। सबै समुदायका मानिसकै जीवनमा नराम्रा घटना निम्त्याउन सक्ने वस्तु हो, रक्सी।
पुस्तक लेख्न धेरै समय गुरुङ समुदायका विभिन्न मान्छेसँग कुराकानी गर्नुभयो। यो समुदायका अझै पनि नलेखिएका र नउधिनिएका कति कथा होलान्। केही भन्न मिल्छ?
अझै नलेखिएका कस्ता कथा छन् भनेर मेले भने अरूले नै लेखिदेलान। तर, यो समुदायका धेरै कथा लेख्न बाँकी छन्। मैले सिन्का पाउँरू त केही कोट्याएको मात्र हुँ। कथाको भण्डार नै छ। भण्डारमा गएर लोटामा ल्याउने वा गाग्रीमा ल्याउने भन्ने आफूमा निहित छ। तपाई हामीले कल्पना गर्नै नसक्ने गरिका ‘भर्जिन’ कथाहरू छन्।
उपन्यास पढ्दै जाँदा थुप्रै पटक पात्रहरूले गीतमार्फत पनि आफ्नो भावना पोख्छन्। यो गीतकार, कवि भएर हो वा उपन्यास लेख्दा योजनाबद्ध रुपमा पात्रहरूलाई बालाउनु भएको हो?
योजनावद्ध होइन। गीत लेख्ने मान्छे भएका कारण हुनसक्छ। आफै गीतहरू फुर्थे। अब त्यहाँ एक जना धनखौरी भन्ने आमा पात्र आफ्नो लाहुरे छोरालाई बिदा गर्दा मन गाठो पारेर रोइरहेकी हुन्छिन्। नजिकै एक जना गन्दर्भले यो कारुणिक दृष्य देख्छ। काँधमा भिरेको सारङ्गी निकालेर र्याँइयाइँ रेट्दै करुण लयमा लेघ्रो तानेर गाउँछ।
धुरुधुरु नरुनु आमाले
एउटा बाटो लगाउँछन् रामले,
एउटा बाटो लगाउँछन् रामले...।
यो मैले हैन, पात्रको मनबाट उद्धगार भएर जन्माएको रचना हो। यस्तै, अर्को धनकौरीले एक्लो भएको वेला आफैसँग शान्त विद्रोह गीतबाट गरेकी छन्।
ढलकी हिड्ने हजुर कतले माछा, सलकी हिड्ने बाम,
सुनढुंग्री कानमा हजुर, खसम हिन्दुस्तान,
सरकार पोइला जान पाम...।
लेखकले पहिलो कृति निकाल्दा आफ्नै परिवेश र आफ्नै जीवनमा घटनामाथि बढि कलम चाउँछन् भन्छन्। तपाईको हकमा पनि यहि लागू भयो?
यसमा नितान्त व्यक्तिगत मात्र छैन, कतैकतै पक्कै मेरो जीवनका कथा पनि छन्। फेरि उस्तै काल्पनिक र वास्तविक जीवनमा मैले भेटेका मानिसहरूको कथा पनि उतारेकी छु।
अब थोरै गजलको कुरा गरौं। नेपाली गजल अहिले कुन अवस्थामा छ?
समग्रमा गजलको विकास भएको छ। तर, गजलका पक्षघरहरू बाँडिएका छन्। कोहीले बहर र कोही गैरबहर गजल लेख्छन्। यी दुवै गजल नै हुन्। तैपनि गजलको विवाद भएको देखिन्छ।
झगडा गर्नुभन्दा पनि दुवै पक्ष गजल लेखनको श्रीवृद्धिको लागि लाग्नु पर्छ। विभाजन र पक्षघर्ता लिएर गजलको संसार नै विभाजन भएको देखिन्छ। यसलाई अग्रज स्रष्टाहरूले सम्हालेर र गजलको महत्त्वलाई बुझाउँदै यसको विकासमा लाग्नुपर्छ।
भारत, पाकिस्तानमा गजलको महत्त्व, लेखाइको गहिरालाई बुजेको देखिन्छ। नेपालमा किन त्यो देखिन्न? किन गजल मूलधारको साहित्य बन्न सकेन?
हामी नेपाली गजलकार आफैले गजललाई सस्तो विधा बनाएको हो। जहाँ पनि भट्याउँदै हिड्ने, जसरी पनि प्रस्तुत भइदिने चलन छ, नेपालमा। गजलको आफ्नै उचाई छ। राम्रा गजल नै नछापिने र नराम्रा गजल चाँहि सबैतिर प्रकाशन भएको पनि देखेको छु। लुकेर रहेका प्रतिभाशाली गजलकारका गजल अझै छापिएका छैनन्।
अर्को, गजल लेखनमा पनि संरचनालाई बढि ध्यान दिएर लेख्नुपर्छ। गजल भनेको कोमल विधा हो। यसमा सधै जिन्दावाद र मुर्दावाद मात्र नमिसाएर नरम बनाउनुपर्छ। यसमा गजलकारहरूले पनि ध्यान दिनुपर्छ।
त्यस्तै, गजलकर्मलाई क्षमतावान गजलकारले हल्कामा लिनु हुदैन। खासमा, एउटा पूरा महाकाव्यले बोल्न नसकेको गजलको एउटा सेरले बोल्छ। गजल लेख्न गाह्रो छ। अझ राम्रो गजल लेख्न झनै गाह्रो छ। त्यसैले मूलधारको साहित्य बन्ने क्रममा रहेको गजल साहित्यलाई जोगाउँनै पर्छ।
यहाँ कथा, कविता, छन्द, गीत सबै विधा छन्। त्यसमा पनि गजलको फरक बनावट छ। पाठक वा स्रोतालाई क्षणमै एक सेरले कायल बनाउँछ। कौतुहल उत्पन्न गराउँछ। शब्द र भावनाको तिर हान्छ। त्यसैले यसको महत्त्वलाई बुझेर गजलकारहरू विभाजित नभई आखिर सबैले लेख्ने गजल नै हो भन्ने सोचेर माथि उठाउने काम गर्नुपर्छ।
गजल रेकर्ड भएर आउँछ, सँगसँगै मञ्चमा पनि प्रस्तुत गरिन्छ। यसरी फरकफरक प्रस्तुतिमा प्रस्तुत गरिने गजलमा के फरक हुन्छ?
दुई थरी गजल छन्। एउटा, मुसलसल गजल, जुन गायनमा फिट हुन्छ। जहाँ एउटै विषयवस्तु प्रेम वा जीवन उघिनिन्छ। अर्को जुन मञ्चमा युद्ध, प्रेम, दुःख, घास, दाउरा, विकास लगायतका सबै विषयवस्तुमा मञ्चन भइरहेको गजल छ। त्यो गैरमुसलसल गजल हो। गैरमुसलसलका विधाका कार्यक्रम धेरै हुन्छन्।
मुसलसल गजलहरू प्रायले लेख्दैनन्। त्यहि भएर यसका गीतहरू कम रेकर्ड हुन्छन्। यसमा लयको कुरा आउँछ। एउटा हरफ १२ अक्षरको अर्को १८ अक्षरको भयो भने गायनमा मिल्दैन। पाकिस्तान र भारतमा यिनै गजलहरू बढी लेखिन्छन्। त्यसैले गजल गीतहरू धेरै आउँछन। नेपालमा भने यो कम छ। मैले भने पहिल्यैदेखि मुसलसल गजलहरू नै बढि लेखेँ।
गजल अनि गजलकारको कुरा गर्दा महिला गजलकार किन कम हुनुहुन्छ, आएका पनि किन टिक्न सकेका छैनन्?
महिलाका हातखट्टा समाज र परिस्थितिले बाँधिदिन्छ। पहिला ऊ छोरी भएकै कारण विवाह अघि पनि नियन्त्रण हुन्छे। छोरी भनेको उत्तराउलो नहुने, धेरै नबोल्ने, लजाउने, सर्माउने, धेरै नखुल्ने जात हो भनेर समाजले सीमा कोरिदिएको हुन्छ। विवाहपछि त झनै बन्धन, लगाम लगाइन्छ। प्रतिभा भएर पनि बाहिर निस्केर जमघटमा सहभागी हुन पाउँदैन। त्यसैले महिलाको हकमा धेरै लागू हुने हरफ छ, कुनै कुरा बनाउन, कुनै भत्काउनै पर्ने रहेछ।
म पनि घर भत्काएर साहित्यकार बनेको हुँ। बाहिर निस्केर साहित्यको क्षेत्रमा काम गर्न बिद्रोह गरेकै हुँ। तर, मेरो बिद्रोहले कसैलाई हानी गरेन। आफूलाई मन परेको क्षेत्रमा आएँ।
एउटा कुरा पाउँन अर्को कुरा गुमाउनु पर्ने रहेछ। अझ यो महिलाको हकमा धेरै लागू हुने रहेछ। मैले ‘म’ बन्न, घर भत्काएँ। तर, पुरुष जहाँ हो, त्यहीँ बसेर ‘ऊ’ बन्न सक्छ। महिलाले आफूसँग मात्र हैन, जन्मदेखि नै परिवार र समाजसँग बिद्रोह गर्नुपर्ने हुन्छ। त्यो सकसमा परेर धेरै प्रतिभावान महिला पछि परेका छन्।
अलिकति संगीतको कुरा गरौंं। अहिले नेपाली गीत-संगीत कसरी आइरहेका छन्?
अहिले सामाजिक सञ्जालले गर्दा एक रातमा नै हिट हुने र अर्को दिन सेलाउने गीत हाबी भएका छन्। एकराते कवि, एकराते गीतकार धेरै निस्किएका छन्। उनीहरू युट्युब र टिकटकमा आउँनु नै ठूलो कुरा मानिरहेका छन्। भ्यूजलाई मात्र हेरेर आफूलाई सफल मानिरहेका छन।
तर, त्यो कायजयी र गहन लेखन हो भन्ने लाग्दैन। आफ्नो सिर्जनालाई माया गर्ने लेखकले आफ्ना सन्तानको आयु लामो चाहनुपर्छ। अन्यथा अहिलेको जस्तो लेखनले नेपाली गीत संगीत क्षेत्रलाई धनीभन्दा गरीब बनाउछ।
फेरि उपन्यासकै कुरा गरौं। गजलकार हुँदा र उपन्यासकारका रुपमा पाउने प्रतिक्रियामा के फरक पाउनुको छ?
गजल लेख्दा क्षणभरमै झट्का लागे जस्तो वाह भनेर प्रतिक्रिया आउँथ्यो। अहिले उपन्यासको प्रतिक्रिया आउन समय लाग्दो रहेछ। उपन्यास पढेर पाठकले पनि सोचेर प्रतिक्रिया दिँदा रहेछन्। गजल त सुन्न साथ तात्तातो प्रतिक्रिया आउथ्यो। अहिले उपन्यासमा पनि केही शुभचिन्तकले गुरुङ समुदायको लवज जस्ताको तस्तै ल्याएको र आफ्नो समुदायको संवेदना पढ्दा गहभरि आशु भएको प्रतिक्रिया दिएका छन्।
मेरा पाठकलाई पहिल्यै भन्छु, यो मेरो पहिलो उपन्यासको अनुभव हो। मलाई उत्पात गरे भन्ने पनि छैन। मैले जानेको सानोसानो कुरा लेखेको हुँ। किताब पढ्ने वेलामा धेरै अपेक्षा नराखिदिनु होला। आफ्नै आमाले बोलेको, आफ्नै घरआँगन र घासदाउरा गरेजस्तो उपन्यास छ। मेरो गीत र गजल जस्तै उपन्यास पनि सरल र सरस छ।
फेरि यो पुस्तकले त विमोचन भएकै दिन तमू वर्ष पुस्तक पुरस्कार-२०२२ पनि पायो नि!
यो पुस्तक पुष १५ भन्दा अघि नै छापिएको हो। विमोचन त्यसदिन भएको र त्यही दिन पुरस्कार घोषणा भयो। पुरस्कारको प्रतिस्पर्धाका लागि पाण्डुलिपि भए पनि पहिल्यै दिन मिल्थ्यो। मैले पनि पहिल्यै पठाइसकेको थिए। मेरोसहित १७३ वटा पुस्तक आएका रहेछन्। त्यहाँको प्राज्ञिक समितिले छान्नु भएको रहेछ। समितिको पनि आफ्नै नियमले छनोट गर्ने हो।
अर्को, हाम्रो पनि लेखनको वर्ग हुन्छ। पुस्तक छनोटका लागि पनि बाघ वर्ग (तमु पात्रो अनुसार विभाजन गरिने १२ वर्गमध्ये एक वर्ग) मा हुनुपर्ने नियम थियो। मेरो पुस्तक पनि बाघ वर्गमा नै छ। त्यसैले, छानिएर पुरस्कृत भएको होला भन्ने ठान्छु।
अब तपाईको गीत-गजलबाटै कुराकानी अन्त्य गर्यौं!
हुन्छ। शिव परियारको स्वरमा चाँडै आउँदै गरेको गीत छ, ‘सबेरै सबेरै’। यो गीत मैले मन खन्याएर लेखेकी छु। यो गीत जति सरल छ, उति नै ‘सिन्का पाउँरू’ उपन्यास पनि।
सिगारी पटारी सबेरै सबेरै,
कहाँको सबारी सबेरै सबेरै।
न कोही छ देख्ने न कोही छ सुन्ने
नयनको जवारी सबेरै सबेरै,
मिठो चाहनाको सधै फुक्छ शंख
हरियो पुजारी सबेरै सबेरै।
र, एउटा गजल पनि पढौं।
तिमीसँग भेट्ने हतारो मलाई,
तिमी चाँहि हाल्छौँ तगारो मलाई।
पियौँ प्यारको पोखरी आफू मात्रै,
सधैँ तिर्सनाको पसारो मलाई।
लिइराख्नु मेरै जवानी धरौटी,
मिलोस प्रेम थोरै उधारो मलाई।
उज्यालो र न्यायो छ संसार तिम्रो,
यता माघको तुसारो मलाई।