‘सल्लीपिर’ को प्रयोग
आफूले देखेबुझेको समाज र भूगोल बाहेकका विषयमा आधिकारिकताका साथ साहित्य लेख्न सकिँदैन भन्ने भाष्यको ‘सेल्फ सेन्सरशिप’ भित्र म वर्षौं रुमलिरहें, तर सल्लीपिरले स्वयंलाई गलत सावित गरिदियो।
लेखनको शुरूआती चरणमा ममा ‘यही’ र ‘यस्तै’ लेख्नुपर्छ भन्ने सोच थिएन। उवेला म बढी कल्पनाशील र प्रयोगमुखी थिएँ। जसै साहित्यभित्र पस्दै गएँ, एउटा भाष्य स्थापित भएको पाएँ- ‘लेखकले आफूले देखेकै, भोगेकै र जानेकै भूगोल र समाजको कुरा लेख्नुपर्छ।’
यस्तोे भाष्यले निर्माण गरेको भ्रममा म वर्षौं रहें। यही भ्रमका कारण मधेश मेरा लागि लामो समय ‘कम्फर्ट जोन’ बध न्यो। आफ्नो जन्मथलो मधेशको भावभूमिमा साहित्य लेख्दै आउँदा यस बाहेक केही लेख्न सक्छु भन्ने आत्मविश्वास गुमाइसकेको थिएँ।
काठमाडौं आएपछि नेवार टोलमा बसें, नेवार साथीहरू प्रशस्त बने। तर, अझै पनि मेरो लेखनमा काठमाडौं र यहाँको समाज आउन सकेको छैन। आत्मविश्वास यस्तै रुग्ण अवस्थामा रहेकै बखत मेरो मगजमा हिमाली जनजीवनको कथा सल्लीपिरको विषयले प्रवेश पाएको हो।
पर्यटनको विश्व बजारमा राज्यले सधैं हिमाल र हिमाल चढ्ने शेर्पाको गौरवगाथा बेचिरहेकै छ। तर, त्यो विकट भेगमा बस्नेहरूको जीविकाको सहजता, शिक्षा र स्वास्थ्यमा सहज पहुँचको सवालमा राज्यले खासै काम गरेको छैन। राज्यका संयन्त्रमा उनीहरूको उपस्थिति न्यून छ।
शैक्षिक सत्र आधाआधी बितिसक्दा पनि कर्णाली र हिमाली भेगका विद्यालयमा पाठ्यपुस्तक पुगेन भन्ने समाचार वर्षौंदेखि सुनिँदै आएको छ। राज्यको यस्तो उपेक्षाले आजसम्म पनि अनेक दावा, फुर्बा, ग्याल्मो, पेमाहरू शिक्षाको उज्यालोबाट वञ्चित छन् र जोखिमयुक्त पर्वतारोहण नै उनीहरूका लागि निर्विकल्प पेशा बन्न पुगेको छ। मलाई पिरोलेको मूल कुरो यही थियो।
एउटा पदयात्राका क्रममा देखेका दुई दृश्यले मलाई सल्लीपिर लेख्न प्रेरित गरेका हुन्। पहिलो दृश्य थियो- चौंरीले पाठ्यपुस्तक बोकेर लगेको। दोस्रो, कर्णाली र विकट हिमाली क्षेत्रका विद्यालयको जीर्ण अवस्था। त्यसपछि मेरो मगजमा उपन्यासको कथानक निर्माण त भयो, तर माथि उल्लेख गरे झैं यो विषयमा लेख्न वर्षौं पर्खिनुपर्यो। ‘सेल्फ सेन्सरशिप’ बाट वर्षौं ग्रसित हुनुपर्यो।
साहित्यमा मुख्य कुरा मानवीय संवेदना रहेछ। त्यसले नै हामीलाई विषय, पात्र र परिवेशको खोजी गर्न र तिनलाई अभिव्यक्त गर्ने कला सिकाउँदो रहेछ। त्यो चेत छ भने आधा लडाइँ जितिने रहेछ। त्यसपछि सङ्गत, अध्ययन र अनुसन्धानले बाँकी लडाइँका लागि सामथ्र्य जुटाउने रहेछ।
खासै नदेखेको या नबुझेको समाजका कुरा लेख्ने क्रममा एउटा समस्या चाहिं हरदम आइरहने रहेछ। त्यो हो, फरक धर्म, संस्कृति, भाषा र रीतिरिवाजप्रतिको हाम्रो बुझाइ र वास्तविकताको बेमेल। कतै मैले गलत त लेखिरहेको छैन भन्ने झस्काले सधैं छोपिराख्ने रहेछ। तर, त्यस क्रममा सल्लीपिर लेख्दा मैले एउटा उपाय खोजें। शेर्पाहरूको रीतिथिति, रहनसहनबारे आलोचनात्मक धारणा राखिनँ।
बरु उनीहरूको सांस्कृतिक, सामाजिक र भाषिक गरिमा र मर्यादाप्रति अत्यधिक सचेत भएँ। यस्तै सचेत म लूमा लेखिएको मुस्लिम समाजप्रति पनि थिएँ। आफू इतरको धर्म, संस्कृति र समाजका बारेमा लेख्दा आलोचना या निन्दाको हैन, सम्मानको भावना हुनुपर्छ भन्ने मेरो मान्यता छ।
शायद त्यही कारण सल्लीपिर प्रकाशन भएपछि हाम्रो साहित्य-वृत्तले खासै चर्चा नगरे पनि शेर्पाहरूको संस्थाले मलाई अभिनन्दन गर्यो। देशकै प्रधानमन्त्रीले दिएको सम्मान र पुरस्कार ग्रहण गर्न पनि नगएको म त्यो कार्यक्रममा भने हौसिँदै पुगें। किनभने, त्यो सम्मान लेखनको क्रममा मैले हिमाल र शेर्पा समुदायबारे गरेका अध्ययन अनुसन्धानको अनुमोदन थियो।
जुन समाज र भूगोलको कथा हामीले भन्नै छुटाइरहेका छौं, त्यसको शुरूआत कसै न कसैबाट हुनैपर्छ। त्यसपछि बल्ल राज्य जागा होला। त्यसपछि बल्ल हिमाली क्षेत्रमा सहज रूपमा र समयमै किताब पुग्ला। दावा, फुर्बा, ग्याल्जेन, ग्याल्मो र पेमाहरूले पढ्न पाउलान्। अनि उनीहरूले लेख्लान् हामीले खोजेको साहित्य।
सल्लीपिरभित्र भएका कमीकमजोरीबारे पछि पनि त्यही भूगोल र समाजका कसैले पक्कै लेख्लान्। लेखिनु पनि पर्छ। किनभने, मैले जे लेखें, त्यो अन्तिम सत्य होइन। तर, जे लेखें, त्यसले नेपाली साहित्यमा हिमाली विषयवस्तुमा प्रवेशका लागि सानो गोरेटो बनाउन प्रयत्न गरेको छु। अहिले म यही गोरेटोमै खुशी छु।
हिमाली भेगको जनजीवनमा राज्यको नजर पुग्यो भने राजमार्ग त शेर्पा आफैंले बनाउनेछन्। किनकि, त्यस भेगको अवस्था त आधिकारिक रूपमा उनीहरूले नै बताउन सक्छन्- जलवायु परिवर्तनले हिमाल कसरी पग्लिँदै छ, यसले गर्दा उनीहरूको जीविका र समाज कसरी सङ्कटमा पर्दै छ। शेर्पाहरू सङ्कटमा पर्नुको अर्थ समग्र मानव सभ्यता सङ्कटमा पर्नु हो। यो खतरनाक विम्बलाई हामीले जतिसक्दो चाँडै बुझ्न जरुरी छ।
(पाण्डे साहित्यकार हुन्। हिमालको २०७९ पुस अंकबाट।)