ओखलढुङ्गामा बस दुर्घटनाः ३ को मृत्यु , १७ घाइते
ओखलढुङ्गामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चालक झापाका कृष्णबहादुर बस्नेत (४५), सोलुखुम्बुकी माया थापा (५०) र सिन्धुलीका लालबहादुर धामी (३५) रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरिक्षक किशोर दाहालले बताए ।
झापाको काँकडभिट्टाबाट सोलुखुम्बुका लागि हिँडेको मे १ ख १८९१ नम्बरको रात्रीबस मानेभञ्ज्याङ गाउँपालिका ६ डढुवामा आज बिहान साढे तीनबजे बजे दुर्घटना भएको हो ।
घाइते मध्ये इलामकी अनिशा लिम्बु (२१), बिपद ब्यवस्थापन गुल्म झापा चन्द्रगढीका प्रहरी जवान मदन कट्टेल, बाँके कोहलपुर १ का कृष्ण गौतम, ओखलढुङ्गाका मित्र थापा, भारत गुहाटी घर भई सोलु हाइड्रोपावरमा कार्यरत सीता कार्की र महात्मा राईकाे अवस्था गम्भिर रहेकाेले उपचारका लागि काठमाडाै पठाइएकाे छ ।
बाँकी ११ जनाको उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच नवलपरासी र सिन्धुपाल्चोमा भएका सवारी दुर्घटनामा दुईजनाकाे मृत्यु भएकाे छ ।
नवलपरासीको मध्यविन्दु नगरपालिका १० मा गएराती रोकिराखेको ना ६ ख ५२०७ नम्बरको ट्रकमा लु २२ प २८९९ नम्बरकाे मोटरसाइकल ठोक्किँदा पाल्पा तिनाउ गाउँपालिका–१ बस्ने २७ वर्षीय भीमराजबहादुर छहरीमगरको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल रुपन्देही बाहिनी नम्बर ५ दरबन्दी भई बिओपी बोगडी रुपन्देहीमा कार्यरत सहायक प्रहरी जवान मगरको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ चनौटेमा जन्ती लिन हिँडेको बा ३ ख ११७ नम्बरकाे बसले ठक्कर दिँदा मानसिक सन्तुलन गुमाएकी अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएकाे छ ।
बस पछाडि हटाउने क्रममा बसमा ठोक्किएर उनकाे घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले बताए ।