सभामुखको निर्वाचन माघ ७ मा गर्ने सहमति
प्रतिनिधि सभाका सभामुखको निर्वाचन आगामी माघ ७ गते गर्ने सहमति भएको छ।
ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठकमा सभामुखको निर्वाचन सम्बन्धी सहमति जुटेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।
उनका अनुसार, माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुखको निर्वाचन गर्ने सहमति भएको छ। यसै अनुसार प्रतिनिधि सभा सचिवालयले निर्वाचनको तयारी गर्ने जनाइएको छ।
प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते दिउँसो १ बजे बस्ने कार्यसूची छ। पहिलो बैठकमा सबै राजनीतिक दलका प्रमुख नेताले सम्बोधन गर्ने भएका छन्।
त्यस्तै, पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची छ। कार्यसूचीलाई पनि पुरानै नियमावली अनुसार नै विश्वासको मतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको छ।