नर्भिकमा मिर्गौला प्रत्यारोपण सेवा
नर्भिक इन्टरनेशनल अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा शुरू गरेको छ।
नर्भिकले दुई जनाको मिर्गौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ। मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ। त्यस्तै, ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ।
आगामी दिनमा यो सेवालाई थप विस्तार गर्दै जाने अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ। अस्पतालका डा. राकेश बर्मा र डा.आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारको टोलीले मिर्गौला प्रत्यारोपण सेवा दिंदै आएको छ।
अस्पतालले कलेजो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाइसकेको जनाएको छ। नर्भिक अस्पताल सन् १९९३ देखि सञ्चालनमा छ।