सामसङको वासिङ मशिन र फ्रिजका पाटपुर्जामा २० वर्षको वारेन्टी
उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले वासिङ मशिनमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षको वारेन्टी प्रदान गर्न थालेको छ।
यो पहलले आफ्ना उत्पादनमा विश्वसनीयता र टिकाउपनलाई अझ मजबूत बनाएर नेपालमा ग्राहकको मन जित्ने कम्पनीले दाबी गरेको छ। कम्पनीका अनुसार, यसले विद्युतीय फोहोर न्यूनीकरण गर्ने र उपभोक्तालाई उच्च गुणस्तरीय र टिकाउ उपकरण प्रदान गर्दै दिगो जीवनशैली प्रवर्द्धन गर्न सहयोग गर्नेछ। आफ्ना उत्पादनमा एड्भान्स डिजिटल इन्भर्टर कम्प्रेसर र डिजिटल इन्भर्टर मोटर प्रयोग गरिएकाले उपकरणको गुणस्तरलाई अझ मजबूत बनाउन सकिएको कम्पनीको भनाइ छ।
कम्पनीले वासिङ मशिन र रेफ्रिजेरेटरमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर्स र कम्प्रेसरमा २० वर्षको वारेन्टी ल्याएको हो। सामसङका उत्पादनमा प्रयोग भएको डिजिटल इन्भर्टर टेक्नोलोजीले ऊर्जा दक्षता र कार्यसम्पादनमा फ्रिज र वासिङ मशिन जस्ता ठूला उपकरणहरू लामो समयसम्म टिक्ने लगायत कुरामा प्रभाव पार्ने जनाइएको छ।
त्यसै गरी, डिजिटल इन्भर्टर मोटरले बलिया चुम्बकहरू प्रयोग गरी मशिनलाई भाइब्रेट हुनबाट जोगाउने र सञ्चालन खर्च समेत नियन्त्रण गर्ने दाबी गरिएको छ। डिजिटल इन्भर्टर कम्प्रेसरले फ्रिजभित्र उच्च दक्षता र लगातार तापमान राखिराख्न सुनिश्चित गर्ने र यसबाट लागत बचत, कम कार्बन फूटप्रिन्ट, कम आवाज र कम्प्रेसरलाई लामो समयसम्म टिकाउने सामसङले जनाएको छ।