वर्ल्डलिंकलाई कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड
यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वर्ल्डलिंकले पाएको छ।
कर्पोरेट क्लब नेपालले देशकै ठूलो इन्टरनेट सेवा प्रदायकलाई ‘द एचआरएम नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको हो। निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिहरूको सम्मानमा यो अवार्ड दिने गरिएको छ।
प्राध्यापक डा. फत्तबहादुर केसी संयोजक रहेको अवार्ड निर्णायकमण्डलले व्यक्तिगत तथा संस्थागत डिजिटलाइजेशनमा वर्ल्डलिंकले देखाएको प्रतिबद्धता, ग्राहक संख्या, प्रयोग गरिएको प्रविधि, मर्मतसम्भार, अनलाइन भुक्तानीको विकल्प, शाखाहरूको संख्या, सेवाको पहुँच क्षेत्र आदिलाई आधार बनाएर पुरस्कृत गरेको जनाएको छ।
साथै, कर्मचारीको क्षमता अभिवृद्धिका लागि सञ्चालित तालीम, स्थानीय प्रतिभाको कदर, व्यावसायिक सामाजिक उत्तरदायित्व जस्ता विषयमा समेत अवार्डका लागि मूल्याङ्कन गरिएको थियो।
देशभर वर्ल्डलिंकका सात लाखभन्दा बढी ग्राहक छन्। जसमध्ये ९३ प्रतिशत घरायसी, दुई प्रतिशत साना व्यवसाय र एक प्रतिशत इन्टरप्राइज रहेको कम्पनीले जनाएको छ। वर्ल्डलिंकले हाल पाँच हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको कम्पनीको दाबी छ।