ह्वीलचेयरमा संसद्को यात्रा
ह्वीलचेयरमा संसद्को यात्रा शुरू गरेकी बागमती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरे राज्यको पहिलो काम अपाङ्गमैत्री संरचना निर्माण हुनुपर्ने बताउँछिन्।
बागमती प्रदेश सभा सदस्यका रूपमा संसद्तर्फ जाँदै गर्दा रामेछापकी ३३ वर्षीया लक्ष्मी घिमिरेलाई पहिलो दिन नै सकस भयो। पहिलो दिनको अनुभव सुनाउँदै सांसद घिमिरे भन्छिन्, “संसद् भवन अपाङ्गमैत्री छैन। ह्वीलचेयरमा जानै मुश्किल भयो।”
बागमती प्रदेश सभा भवन अपाङ्गमैत्री नहुँदा शपथ ग्रहणकै दिन सास्ती बेहोर्नुपर्यो। केही समस्या झेल्दै सहयोगीको सहजीकरणमा शपथ ग्रहण र पहिलो बैठकमा सहभागी भइन्।
संसद् बैठक सचिवालयको भुइँतलामा भएकाले घुमाउरो बाटो प्रयोग गरी संसद् भवन प्रवेश गर्ने व्यवस्था गरिएको छ। तर, संसद् भवनको माथिल्लो तलामा जान सक्ने व्यवस्था छैन। यति मात्रै हैन, शौचालय र चमेनागृह प्रवेश गर्न समस्या छ। “सबैतिर खुट्किला छन्, ह्वीलचेयर जाँदैन,” घिमिरे भन्छिन्, “अपाङ्गता भएकै कारण हाम्रो राजनीतिक अधिकार कुण्ठित पार्न पाइँदैन नि!”
उनी स्पाइनल कर्ड इन्जुरीका कारण हिंडडुल गर्न सक्दिनन्। उनी १३ वर्षअघि दुर्घटनामा परेकी थिइन्। रामेछापको गोकुलगंगा गाउँपालिका-४ की घिमिरे २०६६ मा भीरबाट लडेकी थिइन्। “मेरुदण्डको पक्षाघात भयो। त्यसपछि ह्वीलचेयर जीवन शुरू भयो,” उनी भन्छिन्।
त्यति वेला उनी कक्षा ११ मा पढ्दै थिइन्। कक्षा १२ सकेर ‘सेकेन्ड लेफ्टिनेन्ट’ मा प्रतिस्पर्धा गर्ने योजना बुनेकी थिइन्। “बुबा सैनिक भएकाले मनलाई पनि त्यतै रुचि थियो,” उनी भन्छिन्, “भीरबाट खसेसँगै सपना र योजना पनि सकिए।”
दुर्घटनामा ढाडमा चोट लाग्यो। अहिले पनि कम्मरमुनिको भाग नचल्ने उनी बताउँछिन्।
पक्षाघात भएपछि सहज जीवनयापनका लागि काठमाडौं बस्न थालिन्। त्यही क्रममा राजनीतिमा जोडिइन्, साझा पार्टीसँग। २०७४ सालमा साझा पार्टी स्थापना हुँदा उनी युवा संगठनको केन्द्रीय समितिमा थिइन्। साझा र विवेकशील पार्टीबीच एकता हुँदा केन्द्रीय सदस्य भइन्।
विवेकशील साझा पार्टीमा आन्तरिक द्वन्द्व सिर्जना भयो। अध्यक्ष पद त्यागेर रवीन्द्र मिश्र राप्रपामा प्रवेश गरे। घिमिरेले पनि राप्रपा रोजिन्। “पार्टीले बागमती प्रदेश सभा सदस्यको समानुपातिकतर्फ बन्द सूचीमा नाम राखे पनि सांसद हुन्छु भन्ने विश्वास लागेको थिएन,” घिमिरे भन्छिन्, “अपाङ्गता भएका व्यक्तिलाई समेत अवसर दिएर पार्टीले समावेशिताको उदाहरण पेश गरेको छ।”
रामेछापबाट प्रदेश सभामा प्रतिनिधित्व गरेकी सांसद घिमिरे संसद् भवनबाटै कामको शुरूआत पनि गरिसकेकी छन्। प्रदेश सभा सचिवालयलाई ज्ञापनपत्र बुझाएर अपाङ्गमैत्री संरचना बनाउन झकझकाइसकेकी छन्।
प्रदेश सभाको मुख्य भवन अपाङ्गमैत्री भए पनि संसदीय समितिका कार्यालय, संसदीय दलका कार्यालय र चमेनागृह अपाङ्गमैत्री छैनन्। “सबैभन्दा पहिले त संसद् नै अपाङ्गमैत्री हुनुपर्यो,” उनी भन्छिन्, “त्यसपछि मात्र मैले संसद्मा अपाङ्गता भएका व्यक्तिका कुरा राख्न सक्छु।”
उनको प्रवेशले अपाङ्गता भएका व्यक्तिका लागि बागमती प्रदेश सभा सचिवालयले आफ्ना संरचना अपाङ्गतामैत्री बनाउन शुरू गरेको छ। प्रदेश सभाका सचिव कृष्णहरि खड्काले नयाँ बन्दै गरेको प्रदेश सभा भवन अपाङ्गमैत्री हुने बताउँछन्। अपाङ्गता भएका प्रदेश सभा सदस्यलाई निश्चित स्थान र क्रम तोकेर बस्ने व्यवस्था समेत गरिने खड्का जनाउँछन्।
यससँगै अपाङ्गता भएका सांसदका लागि एक जना सहयोगी दर्शकदीर्घामा बस्ने व्यवस्थाका लागि छलफल भइरहेको छ। “अपाङ्गता भएका व्यक्ति प्रदेश सभा सदस्यमा निर्वाचित भएको जानकारी पाएसँगै अहिले भइरहेको प्रदेश सभा हललाई अपाङ्गमैत्री बनाउने प्रयास गरेका छौं,” खड्का भन्छन्।
घिमिरे अपाङ्गता भएका व्यक्तिलाई दयाको दृष्टिले हेर्नुभन्दा पनि अवसरको खाँचो रहेको बताउँछिन्। अपाङ्गता भएका व्यक्तिहरूले कष्टकर जीवन बिताइरहेको बताउँदै राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिन्छिन्। “अपाङ्गता भएकाहरूको अधिकारसँगै अपाङ्गतामैत्री संरचना निर्माण गर्नुपर्छ, त्यसका लागि सदनमा आवाज उठाउँछु,” उनी भन्छिन्।
काठमाडौंको पद्मकन्या क्याम्पसबाट राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहेकी उनी प्रदेश सभाको आफ्नो पहिलो सम्बोधनमा अपाङ्गता भएका व्यक्तिको सवाल उठाउने बताउँछिन्। उनी भन्छिन्, “अपाङ्गता भएका व्यक्तिका अधिकार र हकहितका लागि म राजनीतिमा आएँ, त्यसैले मेरो पहिलो सम्बोधन पनि यही विषयमा हुन्छ।”
अपाङ्गता भएका व्यक्तिको पनि राजनीतिक अधिकार छ भनेर नेतृत्वले बुझ्न नसकेको उनको गुनासो छ। त्यसका लागि पनि आवाज उठाउने उनी बताउँछिन्। यससँगै आफू सांसद भएकाले जनताका समस्या सम्बोधन गर्न पहल गर्ने उनको योजना छ। “सांसद भएपछि जनताले मबाट धेरै अपेक्षा गरेको देख्छु, अझ राम्रो गर्नुपर्छ भन्ने जिम्मेवारीबोध भएको छ,” घिमिरे भन्छिन्, “योसँगै अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, व्यवसाय लगायत क्षेत्रमा सहजीकरण र सुधार गर्नु आफ्नो मुख्य अजेन्डा भएको छ।”
काठमाडौंको बागबजारमा बस्दै आएकी उनी अब बागमती प्रदेशको राजधानी हेटौंडा सर्ने तयारीमा छिन्। काठमाडौंबाट हेटौंडा आउजाउ गरिरहन अप्ठ्यारो हुने भएकाले सर्न लागेकी उनलाई अर्को समस्या आएको छ। “सजिलोका लागि काठमाडौंबाट सर्न खोजे, तर अपाङ्गता भएका व्यक्तिका लागि सजिलो हुने गरी कोठा पाउन पनि मुश्किल छ,” घिमिरे भन्छिन्।
अपाङ्गता भएका व्यक्तिको अधिकार सुरक्षित गर्न राज्यले नै पहल गर्नुपर्ने उनको भनाइ छ। यसका लागि पहिलो खुट्किलो अपाङ्गतामैत्री संरचना भएको उनी बताउँछिन्। घिमिरे भन्छिन्, “सार्वजनिक तथा निजी आवास निर्माण गर्दा अपाङ्गमैत्री भए मात्रै नक्शा पास गर्ने नियम हुनुपर्छ।”