चिनियाँ स्वार्थमा खोलियो रसुवागढी नाका
कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण बढिरहेको वेला कोभिडकै कारण देखाउँदै लामो समयदेखि बन्द गरेको नेपालसँगको नाका चीन आफैंले खुला गरेको छ। नेपाली पक्षले बारम्बार आग्रह गर्दा समेत नखोलिएको नाका अहिले किन खुला भयो?
२०७९ पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि ३१ महीनादेखि बन्द रहेको नेपाल-चीन रसुवागढी नाका चिनियाँ सरकारले खुला गर्यो। चीनले रसुवागढी सहित नेपालसँगका नाका कोभिड-१९ को कारण देखाएर बन्द गरेको थियो। चीनमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन बीएफ–७ को संक्रमण बढिरहेका वेला नाका खुला हुने नेपाली सरकारी अधिकारी तथा व्यापारीहरूले अपेक्षा गरेका थिएनन्। तर‚ यही वेला चीनले नेपालसँगको नाका खुला गरेको छ।
नाका अकस्मात् खुला गरिएको जस्तो लागे पनि यो चीनको योजना अनुसार नै भएको परराष्ट्र मामिलाका जानकार पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ बताउँछन्। चिनियाँ नागरिक पनि नाका खुला हुनुपर्ने पक्षमा रहेकाले नेपालसँगका नाकाहरू खुला गरिएको उनको भनाइ छ। “पहिले चीनसँग बाह्रै महीना व्यापार हुने गरेको हो, सबै नाका बन्द गर्दा आर्थिक हानि हुन्छ। हाम्रो चाहना पनि नाका खुलोस् भन्ने थियो‚” उनी भन्छन्।
नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव भरत कार्की नेपाल-चीन नाका चीनकै चासोका कारण खोलिएको बताउँछन्। पूर्वाधारको हिसाबले रसुवागढीभन्दा तातोपानी नाका सहज भए पनि रसुवागढी नाकालाई महत्त्व दिनु चीनको कूटनीतिक भएको व्यापार विश्लेषक पोषराज पाण्डेको भनाइ छ। उनी भन्छन्, “पूर्वाधारको हिसाबले तातोपानी नाका रसुवागढीभन्दा सहज छ। सडक पनि राम्रा छन्, तर अहिले जसरी रसुवागढी नाका खोलियो, त्यो चीनको कूटनीतिक पहल मात्र हो।”
भर्खरै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीनले नेपाल–चीन बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहयोगको प्रमुख परियोजना भएको बताएको छ। चीनले ऐतिहासिक सिल्करोडलाई ब्युँताउने महत्त्वाकांक्षी योजना सहित सन् २०१३ मा बीआरआई अवधारणा ल्याएको थियो। यही अवधारणा अन्तर्गत अगाडि बढिसकेको चीन कोभिड-१९ महामारीका कारण योजना अनुसार अगाडि बढ्न सकेको थिएन। त्यसैले चीनले कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्धात्मक व्यवस्था पछिल्लो समय खुकुलो बनाउँदै लगेको जानकारहरू बताउँछन्। पाण्डे भन्छन्‚ “चीनले ग्लोबल इनसिएटिभ गरिरहेको छ। त्यही सँगसँगै हाम्रो नाका खोल्ने, रेलवे अध्ययनका लागि त्यहाँबाट आउने, चीन पठाउने क्रम भइरहेका छन्।”
चीन सरकारले कोरोनाको कारण देखाउँदै २०२० को मार्चदेखि देशभित्र र बाहिरको आवतजावतमा कडाइ गरेको थियो। चीनले लिएको ‘शून्य कोभिड’ नीतिले क्वारेन्टिनको कडाइसँगै पर्यटक तथा विदेशी विद्यार्थीहरूले झन्झट बेहोर्नुपरेको थियो। देशभित्र मानव चहलपहल कम भएपछि आर्थिक गतिविधिमा पनि असर परेको थियो। त्यसैले देशभित्रै विरोध हुन थालेपछि गत डिसेम्बरमा चीन सरकारले ‘शून्य कोभिड’ नीति हटाएको थियो।
कोभिडका लागि लिइएका नीति खुकुलो भएसँगै चीनभित्र चहलपहल बढेको छ। तर, चीनबाट बाहिरिएकाहरूलाई भने अन्य मुलुकले चेकजाँचमा कडाइ गरिरहेका छन्। खास गरी कोरोनाले देशभित्र पारेको प्रभाव र जनधनको क्षतिबारे विश्वसनीय तथ्याङ्क प्रस्तुत नगरेको भन्दै अमेरिका तथा यूरोपियन मुलुकहरूले चीनबाट आएकाहरूको स्वास्थ्य जाँचमा कडाइ गरिरहेका छन्।
बढ्दो व्यापार घाटा
चीनसँग नेपालको व्यापार ठूलो परिमाणमा नभए पनि व्यापार घाटा भने बढ्दो छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार, सन् २००८ देखि २०२१ सम्म चीनसँगको व्यापार घाटामा छ। अहिलेसम्म घाटा खर्बौं रुपैयाँ पुगेको छ।
नेपालले सन् २०१४ मा करीब तीन अर्ब रुपैयाँको सामान चीन निर्यात गरेको तथ्याङ्कले देखाउँछ। सन् २०२१ मा आयात भने दुई खर्ब ६४ अर्ब रुपैयाँमा झरेको छ। पछिल्लो वर्ष ८० करोड रुपैयाँको मात्र निर्यात भएको छ।
चीनसँग नेपालको एक हजार ४१४ किलोमिटरको सीमामा ६ वटा नाका छन्। दुई देशबीच कोदारी/तातोपानी–नाल्याम, रसुवा–केरुङ, ओलाचुङगोला–रिवु, किमाथांका–रिवु, कोरला–लिजी र यारी नाका तोकिएका छन्। यी नाकाहरूमा स्थानीयले वस्तु विनिमय गर्ने चलन रहे पनि तातोपानी र रसुवा नाका प्रमुख व्यापारिक नाका हुन्।
नेपाल-चीन व्यापार चीनको नियन्त्रणमा रहने र वेलावेला नाकाहरू बन्द हुँदा खास गरी नेपाली पक्षलाई क्षति हुने गरेको महासचिव कार्की बताउँछन्। रसुवा नाका खोल्ने जानकारी नभएकाले व्यापारीहरूले यसअघि अर्डर गरेका सामान भारतको बाटो हुँदै आइरहेको उनको भनाइ छ। भारतको बाटोबाट सामान ल्याउँदा लागत धेरै परी महँगो भएको छ। “यता (चिनियाँ नाका) बन्द भएपछि धेरैजसो व्यापारीले भारतबाटै सामान ल्याउन थालेका छन्,” कार्की भन्छन्‚ “त्यहाँ अर्डर गरेका सामान आइरहेका छन्। अब यता खुलेकाले बिस्तारै यताबाट पनि आउँछ।”
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार‚ चीनमा ३० वटा नेपाली उत्पादन निर्यात हुने गरेका छन्। जसमा धातुका मूर्ति, चिनी, चित्र, जडीबुटी, चिया, गलैंचा, पस्मिना मुख्य हुन्। नेपालले तिब्बतमा खाद्यान्न, चिनी‚ जुट तथा जुटबाट बनेका सामान, सुर्ती, सुकेको खुर्सानी, मैनबत्ती, साबुन र याक लगायतका वस्तु निर्यात गर्छ। त्यहाँबाट भने कच्चा ऊन, भेडा, नुन, याक लगायत आयात हुन्छ।
नेपालले चीनबाट टेक्सटायल, कच्चा तयारी पोशाक, औद्योगिक सामान, खानेकुरा, निर्माण सामग्री, विद्युतीय सामान, मशिनरी सामान, धातु र स्टीलका सामान, लुब्रिकेन्ट, केमिकल लगायत सामान आयात गर्छ।
निर्यात नबढेको अहिलेको अवस्थामा नेपालले चीनको बजारलाई पहिचान गर्नुपर्ने व्यापार विश्लेषक पाण्डे बताउँछन्। “अहिले हाम्रो निर्यात छैन भन्नुको अर्थ व्यापारीलाई फाइदा छैन भन्ने हो,” उनी भन्छन्‚ “त्यसैले चीनको स्थानीय उत्पादनसँग जुध्ने गरी सामान निर्यात नगर्ने, कर नलाग्ने वस्तुहरू निर्यात गर्नेमा ध्यान हुनुपर्छ।”