काठमाडौंमाथि प्रभावशाली जितसँगै फारवेस्टको सम्भावना जीवितै
नेपाल टी-२० लिगमा काठमाडौं नाइट्समाथि प्रभावशाली जितसँगै फारवेस्ट युनाइटेडको अर्को चरणमा प्रवेश गर्ने सम्भावना जीवितै रहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा फारवेस्टले काठमाडौंलाई ८३ रनले पराजित गरेको हो। फारवेस्टले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं नौ विकेटको क्षतिमा ११४ रनमै समेटियो।
काठमाडौंका लागि कमलसिंह ऐरीले २०, ज्ञानेन्द्र मल्ल र सन्दीप रजालीले १७-१७ तथा सुमन गौतमले १६ रन बनाए। फारवेस्टका लागि करण केसी, दुर्गेश गुप्ता र हस्मतुल्लाह शाहिदीले दुई-दुई तथा शेर मल्ल, प्रकाश जैसी र मिलिन्डा श्रीवर्द्धनाले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको फारवेस्टले चार विकेटको क्षतिमा १९७ रन बनाएको थियो। फारवेस्टका लागि हस्मतुल्लाह शाहिदीले ७६, विनोद भण्डारीले ७३ र करण केसीले २२ रन बनाए।
लिग चरणका चार खेल बाँकी रहँदा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स क्वालिफायरमा पुगिसकेका छन्। लुम्बिनी १६ अङ्क सहित शीर्षस्थानमा छ भने जनकपुर १२ अङ्क सहित दोस्रो स्थानमा छ। अङ्कतालिकाको पहिलो र दोस्रो स्थानमा रहेका टोली पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्।
तेस्रो स्थानमा रहेको काठमाडौंको आठ, चौथो र पाँचौं स्थानमा रहेका विराटनगर सुपर किंग्स र पोखरा एभेन्जरको ६-६ तथा अन्तिम स्थानमा रहेको फारवेस्टको चार अङ्क छ।
लुम्बिनी, जनकपुर, काठमाडौं र पोखराको एक-एक खेल बाँकी छ भने विराटनगर र फारवेस्टले दुई-दुई खेल खेल्न बाँकी छ। अन्तिम स्थानमा रहे पनि अबका दुवै खेल जितेमा फारवेस्ट अर्को चरणमा पुग्नेछ। फारवेस्टका बाँकी खेल चौथो र पाँचौं स्थानमा रहेका विराटनगर र पोखरासँग छ। विराटनगर, पोखरा र फारवेस्टमध्ये जित्ने टोली अर्को चरणमा प्रवेश गर्नेछ।
नेपाल टी-२० लिगमा अङ्कतालिकाको पहिलो र दोस्रो स्थानमा रहेको टोलीबीच पहिलो क्वालिफायर हुनेछ। जित्ने टोली फाइलनमा प्रवेश गर्नेछ।
त्यस्तै, तेस्रो र चौथो स्थानको टोलीबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ। हार्ने टोली बाहिरिनेछ भने जित्ने टोलीले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ।