‘हिमताल विस्फोटबारे गम्भीर हुनुपर्छ’
‘हिमताललाई अझै पनि वातावरणीय प्रभाव र परिणामसँग जोडेर नहेर्नु चिन्ताको विषय हो। जबकि, उच्च भेगका लागि तिनीहरू प्रष्ट रूपमा खतरा हुन्।’
लामो समयदेखि विश्वकै उच्च पर्वतीय पर्यावरणबारे अध्ययन गर्दै आएका भूगोलविद् एल्टन सी. बायर्स हालै अनुसन्धानको सिलसिलामा नेपाल आएका वेला कुन्द दीक्षितले गरेको कुराकानीको संक्षेपः
तपाईं कञ्चनजंघा क्षेत्रमा विभिन्न समयमा जानुभएको छ। यसपालिको यात्राको प्रयोजन के थियो?
कञ्चनजंघा क्षेत्रमा पहिलो चोटि सन् २०१९ मा गएको थिएँ। त्यति वेला खास गरी हिमनदीमा देखिएको जोखिमबारे अध्ययन गर्न गएका थियौं। यस पटक भने हिमालय पर्या-पर्यावरण जोगाउन कसरी सकिन्छ भन्नेमा केन्द्रित छौं।
मैले उच्च पर्वतीय पर्यावरणको विषयमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आएको छु। मेरो बुझाइ थियो- कोभिड-१९ महामारीपछि पर्यटन क्षेत्रले गति लिन थालेसँगै खुम्बु, मकालु, लाङटाङ आदि ठाउँमा हामीले जे भोग्यौं, त्यो अवस्था कञ्चनजंघा क्षेत्रमा पनि देखिनेछ। अर्थात्, मानिसहरूले ठूल्ठूला होटल र लज बनाउन थाल्नेछन्।
बोटबुट्यान नहुने उच्च पर्वतीय क्षेत्रका होटलहरूले इन्धनका रूपमा पक्कै पनि त्यहाँ उपलब्ध झाडी नै प्रयोग गर्ने हुन्। जब मानिसहरूले २०० वर्ष लागेर हुर्केका झाडी उखेल्छन्, त्यहाँको पर्यावरणमा खलल पार्ने प्रक्रिया शुरू हुनेछ र समयक्रममा पर्यावरणीय क्षति तीव्र बन्नेछ।
त्यस्तो अवस्था मकालु क्षेत्रको वरुण खोलामा बढी छ, होइन?
खास गरी खुम्बुमा अझ बढी देखिन्छ। सन् २००० मा मानिसहरूले त्यहाँको उच्च पर्वतीय क्षेत्रमा ठूल्ठूला भवन बनाउन थाले, र टनका टन धुपीको झाडी इन्धनका रूपमा प्रयोग गर्न थाले। खुम्बुमा हामीले अध्ययन नतीजा ल्याएपछि स्थानीय समुदायले सन् २००५ मा खुम्बु उच्च पर्वतीय संरक्षण परिषद् गठन गरेका थिए। तत्कालै उनीहरूले झाडी निकाल्न बन्द गरे। कञ्चनजंघाको सन्दर्भमा पनि यस्तै परिणाम आउनेमा आशावादी छौं।
नेपालका प्रमुख नदीको भूगोल हेरेमा हिमताल फुटेका त्यस्ता घटना धेरै देखिन्छन्। धेरै समयअघि भएका हिमताल विस्फोटबारे तपाईंको सूचनाका स्रोत के थिए? किनभने, त्यति वेला त भू-उपग्रह पनि थिएनन्।
नेपालका हिमतालको इसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र)ले वर्षौं लगाएर गणना र वर्गीकरण गरेको छ। ठूला हिमताल विस्फोटका २६ वटा घटनाको अभिलेखन छ। हिमताल विस्फोटका नक्शा हेर्दै जाँदा कञ्चनजंघा क्षेत्रमा भने एउटा मात्र हिमताल फुटेको देखियो। उत्तरतिरको नाग्मा हिमतालबाट बाढी आएको थियो।
त्यो हिमताल जाने क्रममा हामीले स्थानीय पाका व्यक्तिहरूसँग त्यहाँ कति ठूलो बाढी आएको थियो, कति पानी निस्किएको थियो, केकस्तो क्षति भएको थियो आदि प्रश्न सोध्यौं। कुराकानीकै सिलसिलामा त्यस क्षेत्रमा एउटा होइन, आठ वटा बाढीको अभिलेखीकरण गर्न हामी सफल भयौं। तीमध्ये पहिलो बाढी सन् १९२१ मा र अरू चाहिं १९६० को दशकको आसपास आएको पाइयो।
त्यसपछि जापानको होकाइदो विश्वविद्यालयका रिमोट सेन्सिङ विशेषज्ञ मोहनबहादुर चन्दले त्यो हिमतालबाट ठूला हिमताल विस्फोटनहरू भएको यकीन गरे। तर, कुन समयमा भएको भन्ने थाहा थिएन। अहिले हामीसँग अनुमानित मिति छ। यसबाट स्थानीय बासिन्दालाई फाइदा पुग्नुका साथै अनुसन्धानमा मद्दत पुगेको छ।
केही वर्षअघि तपाईं जलवायु परिवर्तनका प्रभाव र पर्यावरणबारे अध्ययन गर्न नेपालका वैज्ञानिकलाई एन्डिजमा लैजाने र पेरुका वैज्ञानिकलाई यहाँ ल्याउने गजबको परियोजनामा संलग्न हुनुहुन्थ्यो। त्यसको परिणाम कस्तो आयो?
सन् १९९५ मा मकालु वरुण राष्ट्रिय निकुञ्जको म सहायक प्रबन्धक थिएँ। जब अमेरिका फर्किएँ, माउन्टेन इन्स्टिच्यूटमा काम पाए लगत्तै इक्वेडर, बोलिभिया र पेरुतिर गएँ। हिमनदी, हिमताल र हिमतालले निम्त्याएका बाढीबारे मेरो चाख बढ्न थाल्यो। त्यसै क्रममा पेरुका जनताले सन् १९४० यता हिमताल फुटेर आउने बाढी भोगिरहेको र हजारौं मानिसले ज्यान गुमाइसकेको थाहा पाएँ। यो चुनौती समाधान गर्न पेरुका सबै अनुसन्धाताले संयुक्त रूपमा अनुसन्धान गरे। कोरडिल्लेरा ब्लान्का क्षेत्रका हिमतालको अध्ययन गर्दा ३५ वटा हिमताल फुट्ने जोखिम भएको देखियो।
त्यसपछि उनीहरूले सम्भावित क्षति न्यूनीकरण गर्ने वा रोक्ने संयन्त्र विकास गरे। उनीहरूले सबै ३५ वटै हिमतालबाट सानो खोल्सा खन्नेदेखि कैयौं किलोमिटर लामो सुरुङ खनेर पानी निकास गर्ने परियोजना सञ्चालन गरे। त्यस्ता सुरुङभित्र पानीको तह माथि र तल गर्ने पम्प पनि जडान गरियो। त्यसयता पेरुमा हिमताल फुट्ने समस्या कहिल्यै आएन।
यो देखेपछि मैले नेपालमा यस सम्बन्धी के कस्ता काम हुन सक्छ भनी सोचें। पेरु, यूरोप र अमेरिकाका वैज्ञानिकहरूको टोली नेपालमा ल्याउने निधो गरें। सन् २०११ को सेप्टेम्बरमा वैज्ञानिकको टोली ल्याएँ। त्यो टोली अघिपछिका अन्य टोलीभन्दा फरक प्रकृतिको थियो। २५/३० जना वैज्ञानिकसँगै हामी नाग्मा ताल गएर त्यसको नियन्त्रणबारे अनुभव आदानप्रदान गरेका थियौं।
जलवायु परिवर्तन सिर्जित समस्याका कारण गाउँबस्तीका साथै जलविद्युत् परियोजना, सडक आदि जोखिममा छन्। यसको सामना गर्न नेपालले कस्तो तयारी गर्नुपर्ला?
हिमताललाई अझै पनि वातावरणीय प्रभाव र परिणामसँग जोडेर नहेर्नु चिन्ताको विषय हो। जबकि, उच्च भेगका लागि तिनीहरू प्रष्ट रूपमा खतरा हुन्। अरुण नदीकै उदाहरण हेरौं। त्यहाँ धेरै वटा बाँध बाँधिएका छन्। वरुण उपत्यकातिर पनि तल्लो भेगमा धेरै हिमताल छन्। हरेक वर्ष ती हिमतालमा पानी भरिंदै छ। दश वर्षको अन्तरालमा ती ताल वरुण आइसफलको ठीक मुनि हुनेछन्। त्यति वेला तालमा हिमपहिरो खसेर स्थिति निकै खतरनाक हुन सक्छ।
यति मात्र होइन, तिब्बतमा पनि धेरै हिमताल छन्, तर निगरानी र समन्वयको कुनै प्रणाली नै छैन। त्यस कारण यहाँ बनाइने जलविद्युत् परियोजनाहरू हिमताल फुटेर आउन सक्ने बाढीको जोखिमलाई अनुकूलन हुने गरी बनाइनुपर्छ। साथै, चीनसँग मिलेर तल्लो क्षेत्रमा पूर्व चेतावनी दिने प्रणाली विकास गरिनुपर्छ। यो काम तत्कालै थालिनुपर्छ।
(हिमालको २०७९ पुस अंकबाट।)