पाँच वर्षमा ५० लाख बिरुवा रोप्ने सपना
दक्षिणी सेनेगलका अडामा डाइमिई पाँच वर्षमा ५० लाख बिरुवा रोप्ने महत्त्वाकांक्षी योजना पूरा गर्न अहोरात्र खटिरहेका छन्।
यूरोपमा केही वर्ष बिताएर दुई वर्षअघि स्वदेश फर्किएका सेनेगलका ४८ वर्षीय अडामा डाइमिईले आफ्नो गाउँ खासिमेन्स पुगेपछि वृक्षरोपण गर्ने अठोट गरे। युवावयमा आफूले देखेका बाक्लो जङ्गलले भरिएको गाउँमा रूख पातलिएको देखेपछि उनले वृक्षरोपणको महत्त्वाकांक्षी अठोट गरेका हुन्।
उनी भन्छन्, “कुनै गाउँमा त एउटा पनि रूख देखिंदैन। भएका रूख काटिन्छन्, तर नयाँ हुर्काउन वृक्षरोपण गरिंदैन।”
अफ्रिकमा वन विनाशको एउटा कारणमा मरुभूमीकरणलाई लिइन्छ। तर, दक्षिणी सेनेगलमा भने खासिमेन्स नदीको विस्तार र कोइला तथा घर बनाउन चाहिने काठका लागि रूख कटान गर्दा जङ्गल पातलिंदै गएको हो। स्पेनी गैरसरकारी संस्थाका प्रोजेक्ट म्यानेजरका साथै कृषि प्रशिक्षकका रूपमा सक्रिय अडामा भने यसलाई परिवर्तन गर्न चाहन्छन्।
यही महत्त्वाकांक्षी योजना साकार पार्न उनले सहयोग रकम सङ्कलन गर्न थाले। आफूसँग भएको पाँच हजार डलर पनि त्यही काममा खर्च गरे।
नारीशक्तिको ताकत
अडामा डाइमिईले समुदायमा रहेका मानिसको सोचमा परिवर्तन ल्याउन निकै मिहिनेत गरेका छन्। तीमध्ये उनले महिलालाई विशेष महत्त्व दिए। किनकि‚ वृक्षरोपण गर्न महिलाको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने उनलाई विश्वास छ।
“यदि तपाईं गाउँमा जानुभयो र त्यहाँ महिला छैनन् भने त्यो ठूलो क्षति हो,” उनी भन्छन्, “तर, यदि तपाईं महिलाहरूसँगै गाउँमा जानुभयो भने त्यो स्वर्ग सरह हुन्छ। उनीहरू निकै मिहिनेती हुन्छन्। सधैं काममै केन्द्रित हुन्छन्।”
अडामामा के विश्वास छ भने महिला विना परियोजना सफल हुन सक्दैन। “तपाईं परियोजना राम्रोसँग अगुवाइ गर्न चाहनुहुन्छ भने महिलाबाटै काम शुरूआत गर्नुपर्छ,” उनी भन्छन्।
उनले वृक्षरोपण कार्यक्रमसँगै स्थानीय महिलाहरूलाई कृषि सम्बन्धी सीप पनि सिकाउँदै आएका छन्। महिलाहरूले उत्पादन गरेका वस्तु स्थानीय बजारमा बेचबिचन हुँदै आएका छन्।”
“शुरूमा त हामीलाई बीउबिजन कसरी रोप्ने र कसरी हुर्काउने भन्ने थाहै थिएन,” स्थानीय साकी यतो भन्छिन्, “तर‚ अहिले बजारमा बेच्न हामीसँगै सबै खालका फलफूल छन्। हामी कसैप्रति निर्भर छैनौं। हामी सबैको ब्यांक खाता छ। अब हामीलाई कसैले के गर्नुपर्छ र के गर्नु पर्दैन भन्नु पर्दैन।”
अडामाको परियोजना उनुकोलाल नाउले प्रसिद्ध छ। जसको अर्थ हो– हाम्रा रूख। परियोजनामा तित्री, पाम, कापोक र कागती लगायत १२ प्रकारका रूखका विरुवा रोपिएका छन्। माटोको अवस्था र स्थानीयको आवश्यकताका आधारमा बिरुवा छनोट गरिन्छ। गत तीन वर्षमा एक लाख ४२ हजार बिरुवा रोपिएका छन्। ती सबै हुर्किरहेका छन्।
पाँच वर्षमा लक्ष्य पूरा गर्न अडामाले अझै धेरै बिरुवा रोप्न बाँकी छ। यद्यपि‚ उनी आफ्नी साथी योलान्ड पेरेनिगुइन्जेसँग नहडबडाइ निरन्तर खटिइरहेका छन्। वृक्षरोपणका लागि आवश्यक खर्च जुटाउन योलान्ड र उनकी साथी रेयमन्ड कोली एउटा साँघुरो कोठामा सिलाइको काम गर्छन्। उनीहरूले स्थानीय कपडाको टिसर्ट सिलाउँछन्। १५ डलरमा बिक्री हुने टिसर्टमा बाओब्याबको चित्र राखिएको छ।
“बाओब्याब अफ्रिकाको रैथाने रूख हो,” टिसर्टमा बाओब्याबको चित्र राख्नुको कारणबारे योलान्ड भन्छिन्, “हाम्रो वृक्षरोपण अभियानलाई सहयोग गर्न खास गरी क्यानाडा र यूरोपमा टिसर्ट राम्ररी बिक्री भइरहेको छ। यो खुशीको कुरा हो।”
बस्ती जोगाउन बाओब्याब
हामी काठको डुङ्गामा चढेर खासिमेन्समा गयौं। त्यो डुङ्गा काकोक रूखबाट बनाइएको थियो।
पानीको सतह बढ्दै जाँदा नदीको बीच भागमा टापु जस्तो गाउँमा बाढी पस्ने गरेको छ। त्यही गाउँमा १० वर्षअघिसम्म नदीको बहाव बढ्दा पनि पानी पस्दैनथ्यो। कहिलेकाहीं मात्र पानीले दुःख दिन्थ्यो। तर‚ अहिले त पानीले स्थानीयलाई घरबारविहीन नै बनाइदिन्छ।
“हामी यो टापुमा बसेको वर्षौं भयो। नदीको पानी यसै गरी गाउँमा पसे हामीले यो ठाउँ नै छोड्नुपर्छ,” गाउँका अगुवा कानाकिरी बासिने दुःखेसो पोख्छन्।
बाओब्याब रूख अम्लीय पानी तथा जमीन वा स्वच्छ पानीमा पनि हुर्कन सक्छ। अहिले तिनका बिरुवालाई नदी किनारमा तटबन्धको काम गर्ने गरी लगाइएको छ। बाओब्याबका कलिला बिरुवा बताससँगै हल्लिरहेका छन्। त्यसले के सङ्केत गरेको छ भने एक दिन ती ठूला हुनेछन् र शीतल छहारी दिनेछन्।
“यी रूखले हामीलाई जोगाउनेछन्,” बासिने भन्छन्, “यी रूख नै हाम्रो जीवनका आशा हुन्।”
(बीबीसीका प्रकाशित जो हालिसको फिचर महेश्वर आचार्यले अनुवाद गरेका हुन्।)