कर्णालीमा पुस २७ सम्म मुख्यमन्त्रीको दाबी गर्न आह्वान
कर्णाली प्रदेश प्रमुख तिलक परियारले पुस २७ गतेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका छन्।
बिहीबार प्रदेश प्रमुख परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेको मुख्यमन्त्रीको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिएका छन्। प्रदेश प्रमुखले नेपालको संविधानको १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा १ मा प्रदेश सभामा बहुमत प्राप्त दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। कर्णाली सभामा कुनै पनि दलको बहुमत नआएपछि उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरिएको हो।
कर्णाली प्रदेश सभामा ४० सांसद छन्। सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ।
अहिले प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एमाले)का १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का एक–एक सांसद छन्। त्यस्तै, एक जना स्वतन्त्र सांसद छन्।
