कुकुरप्रेमी ती महानुभाव
कुकुरलाई परिवारको सदस्य सरह स्नेह गरेर पाल्ने मानिस मात्रै होइन, यसको ठीक विपरीत भान्सामा पसेर खाना खाइदिएको भनी झुन्ड्याएर मार्ने पनि देखेको छु।
अमेरिकाको बाल्टिमोरमा रहँदा खोक्दा र हाँच्छ्युँ गर्दा समेत सुनिने दूरीमा एक छिमेकी बस्थिन्। उनीसँग दिनदिनै देखादेख भइरहन्थ्यो। हरेक साँझ माथिल्लो तलामा रहेको आफ्नो कोठामा पस्नुअघि सामुन्नेको आँगनमा ती महिला निख्खर सेतो रङको सानो कुकुरलाई डुलाइरहेको देख्थें।
याम अनुसार बदलिने समयचक्रले पनि ती महिलाको दिनचर्यामा कुनै परिवर्तन ल्याएको देखिनँ। एउटै समयमा त्यो सेतो कुकुरलाई डुलाइरहन्थिन्। शायद उनको मन पर्ने रङ सेतै हो। गर्मी याममा त शरीरको आधा कुरेत ठाउँ खाली नराखी कपडाले छोप्ने ती महिला जाडोमा झन् कान पनि छोप्ने गरी कपडा लगाउँथिन्। उनले लगाएकी टोपीदेखि जुत्तासम्म सेतै हुन्थ्यो।
एक वर्षदेखि उनको छिमेकी भएकाले त्यो कुकुर बाहेक त्यहाँ ती महिलाको अन्य साथी छैन। किनकि, मैले उनी कहिल्यै अरू व्यक्तिसँग हिंडेको देखेको छैन। यति नजिकको बसाइ भए पनि मलाई उनको नाम सोध्न एक वर्ष लागेको थियो। एक दिन मैले नेपाली पाराले केही कुरा सोधें। त्यति वेला डोर्याइरहेको कुकुर देखाउँदै उनले भनेकी थिइन, “सात वर्षदेखि म पपीसँग छु।” हामीबीच भएको पहिलो बोलचालमा उनले आफ्नो सन्तान जत्तिकै माया गरेर पालेको कुकुरको बखान गरिन्। त्यही साँझ त्यो सेतो कुकुर र कुकुरधनीको नाम पपी र मारिया भएको थाहा पाएँ।
मारियाले हरेक वर्ष ‘ब्ल्याक फ्राइडे’ मा पपीका लागि नयाँ सोफा‚ केही भाँडाकुँडा, कपडा र डोर्याउने डोरी खरीद गर्दी रहिछन्।
मारियाले पपीका लागि तालिका बनाएकी रहिछन्। हरेक वर्ष ‘ब्ल्याक फ्राइडे’ मा उनी पपीका लागि नयाँ सोफा खरीद गर्दी रहिछन्। केही भाँडाकुँडा, कपडा र डोर्याउने डोरी पनि फेरिदिने उनले बताएकी थिइन्। मैले धेरै जनावरप्रेमीहरू भेटेको छु। मारियासँगको कुराकानी हुँदा कुकुरलाई माया गर्ने, भान्सा र चर्पी पनि कुकुरसँग शेयर गर्ने जनावरप्रेमीहरूको सम्झना आयो। यससँगै कुकुरलाई नराम्रो व्यवहार गर्नेहरूलाई पनि सम्झिएँ।
काठमाडौंको कोटेश्वरबाट चक्रपथलाई छोड्दै बाहिरिएपछि मैले भेटेको सिर्जना ठकुरी धेरै कुकुरका अभिभावक हुन्। उनले ढुकढुकी मात्र मात्र बाँकी राखेर शहरमा छाडिएका तथा चोटग्रस्त कुकुरलाई भेला गरेर आफ्ना सन्तान जत्तिकै माया दिएर पालेकी छन्। भोकै रहेका कुकुर भेटे आफ्नो गाँस काटेर खुवाउँछिन्। कुकुरलाई गर्ने प्रेमले उनको परिचय निर्माण गरेको छ।
घरजग्गा बेचेर शहरका ‘भुस्याहा’ कुकुरलाई न्यानो घरमा राख्ने र तातो खान्की खुवाउने झापाका दिलबहादुर बुढाथोकीलाई पनि यही मेसोमा सम्झिन्छु। दमक नगरपालिका–८ का बुढाथोकीको घरमा पग, बुलडग, जर्मन शेफर्ड जस्ता विदेशी जातका कुकुरदेखि बदमासहरूले आक्रमणबाट घाइते भएका कुकुर, बाँदर लगायत जनावरले आश्रय पाएको देखेको छु। मलाई उनले एक दिन भनेका थिए, “अलिकति बाठो भएँ भन्दैमा मान्छे यस्ता जनावरप्रति किन यति निर्दयी बन्न सक्छन्?” बुढाथोकीको घरमा कुकुरका लागि सुप, भात सधैं पाक्थ्यो। माया गरेर पाल्छु भन्नेलाई उनी कुकुरका छाउरा पनि दिने गर्दथे।
एक बिहान दमकका अग्रज पत्रकार गञ्जबहादुर दाहालले नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको परिसरमा चौकीदारी गरिरहने काले नामको कुकुरका लागि मासिक एक हजार ५०० रुपैयाँ भत्ता छुट्याएको बताउनुभयो। मलाई त्यो गज्जब लाग्यो र रिपोर्ट बनाएर आफू कार्यरत उज्यालो ९० नेटवर्कमा पठाएँ। त्यो रिपोर्ट ‘मासिक भत्ता खाने कुकुर’ शीर्षकमा प्रसारण भएको थियो।
कुकुरबारे रिपोर्ट प्रसारण भएको भोलिपल्ट काठमाडौंस्थित हिन्दुस्तान टाइम्सका रिपोर्टर उत्पाल परासरले मलाई फोन गर्नुभयो। उहाँको आग्रहमा कुकुरको फोटो खिचें, आफैंले उचालेर वजन र फिता लगाएर लम्बाइ र उचाइ नापें। त्यो वेला काले नामको कुकुर चार फिट लामो र १५ किलोको थियो। कालेबारेको रिपोर्ट हिन्दुस्तान टाइम्समा छापियो। सन् २०१० को फेब्रुअरीको त्यो समाचार अजरबैजानको एक अनलाइनले समेत प्रकाशित गरेको रहेछ।
मासिक तलब खाने काले कुकुर केही महीनाअघि मरेको खबर रेडक्रस सोसाइटी उपशाखा दमकका अध्यक्ष प्रकाश बुढाथोकीले मलाई सुनाउनुभएको थियो।
सिर्जना ठकुरीले ढुकढुकी मात्र बाँकी राखेर शहरमा छाडिएका तथा चोटग्रस्त कुकुरलाई भेला गरेर आफ्ना सन्तान जत्तिकै माया दिएर पालेकी छन्।
अहिले म त्यति धेरै व्यस्त नहुने बाल्टिमोरबाट अलि व्यस्त रहने टेक्सास सरेको छु। मारिया र पपीसँग नभेटेको धेरै भयो। दुवै स्वस्थ रहून् भन्ने कामना गरिरहन्छु। टेक्सासको फोर्टवर्थ शहरमा कुकुरका लागि अनेक सेवा रहेछन्। कार पार्किङ लटमा अडिएका वेला कुकुरको फोटो भएको भ्यान देखें। भ्यानलाई नियालें। त्यो मोबाइल भ्यान कुकुरका दाँत माझिदिने, नङ काटिदिने, नुहाइदिने आदि सेवाका लागि खुलेको पसलले चलाएको रहेछ। कसैका कुकुरलाई उक्त सेवा चाहिए दक्ष जनशक्ति सहितको भ्यान घरमै पुगेर सशुल्क सेवा दिने रहेछ।
अफ्रिकी मूलकी सहकर्मी सेरा मुथ्थोनी पनि कुकुरकी शोखीन। जुकी नामको कुकुर सात वर्षदेखि उनीसँगै छ। जुकी ड्राई फ्रूट मन पराउँछ। सेरालाई जुकीको रुचि पाईपाई थाहा छ। उनी एक दिन काममा आइनन्। तीन दिनदेखि दिसा नगरेकाले जुकीलाई अस्पताल लैजान उनी बिदा बसेकी रहिछन्। कुकुर रोगाउँदा, दुब्लाउँदा, ज्यादा मोटाउँदा, खान मन नगर्दा चिन्तित हुने मुथ्थोनी मलाई हरेक दिन उसको जुकीबारे केही न केही सुनाँउछिन्। बिहान टहलिन ननिस्किए जुकी रिसाँउछ रे!
अमेरिकामा कुकुरलाई परिवारको सदस्य सरह स्नेह गरेर पाल्नेहरूको संख्या धेरै छ। अमेरिकामा ६ करोड ९० लाख कुकुर त्यसरी पालिएको अमेरिकी पेट प्रडक्ट एशोसिएशनको तथ्याङ्क छ। कुकुरपछि अमेरिकामा पालिने जनवार बिरालो हो। यहाँ चार करोड ५३ लाख बिरालो पालिएको उक्त तथ्याङ्कमा उल्लेख छ। माछा र चराहरू पनि अमेरिकी घरहरूमा ठूलो संख्यामा पालिएका छन्। एक करोड १८ लाख माछा र ९९ लाख चराले अमेरिकी घरमा बास र खाना पाइरहेका छन्। सन् २०२२ मा अमेरिकामा त्यस्ता जनावरहरूका लागि दुई अर्ब ६० करोड डलरको बीमा गरिएको थियो।
भान्सामा पसेर खाना खाइदिएको भनी कुकुरलाई घाँटीमा डोरी लगाएर बाँसमा झुन्ड्याएर मारेको बीभत्स घटना पनि देखेको छु।
अमेरिकामा सन् १८८४ मा पहिलो पटक कुकुर पालकहरूको संस्था अमेरिकन केनल क्लब स्थापना भएको थियो। उक्त संस्थाका अनुसार, हाल अमेरिकामा चार करोड ८२ लाख ५५ हजार ४१३ घरमा कुकुर पालिएका छन्। अर्थात्, यस मुलुकका तीन दशमलव चार प्रतिशत घरमा कुकुर छ। ती प्रत्येक घरले वार्षिक ४१० अमेरिकी डलर कुकुरको उपचारमा खर्च गरिरहेका हुन्छन्।
अप्रिय स्मरण
कुकुरबारे सम्झनायोग्य घटना मात्र छैन। अप्रिय घटना पनि देखेको छु। आफ्नै गाउँघरको घटना हो। भान्सामा पसेर खाना खाइदिएको भनी घाँटीमा डोरी लगाई बाँसमा झुन्डयाएर कुकुर मारेको बीभत्स घटना पनि देखेको छु। त्यसरी मारिएको कुकुरको लास भोलिपल्टसम्म सानो बाह्रघरेको मूल सडकको बाँसघारीमा झुन्डिरहेको थियो।
एक दिन मेरा मित्र पत्रकार सुव्रत न्यौपानेले झापाको बिर्तामोडमा छाडा कुकुरहरूलाई नगरपालिकाले कडा विष मिसाइएको मासु खुवाई मारेको सुनाएका थिए। मारिएका करीब ५० कुकुर खोला किनारमा खाल्डो खनेर गाडिएको सुव्रतबाटै सुनेको थिएँ।
मान्छेको सबैभन्दा नजिकको पशुसाथी कुकुरलाई निकृष्ट फोहोर खान दिने गरिएका दृश्य गाउँघरमा अझै पनि देख्न पाइन्छ। जुठो खुवाएर असुरक्षित स्थानमा बास दिने चलन त आम रूपमै पाइन्छ। जनावरको स्याहारसुसार र संरक्षणमा दत्तचित्त सिर्जना ठकुरीले एक सन्दर्भमा भन्नुभएको थियो, “जनावर, शिशु र वृद्धवृद्धालाई फोहोर र बोझ ठान्ने मान्छेहरूलाई म करीब करीब अपराधी ठान्छु।” त्यसैले पशुलाई माया गरौं। साथी ठानौं।