मित्रताको शिखर चोमोलोङ्मा
सगरमाथाको पछिल्लो उचाइको संयुक्त घोषणाबाट चीन र नेपालले दुई देशबीच मित्रता र सहकार्यको सन्देश दिएका छन्।
सन् २०२० मा चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औं वर्षगाँठ मनाइँदै थियो। सोही अवसर पारेर ८ डिसेम्बरमा चीनका राष्ट्रपति सी चिनफिङ र नेपाली समकक्षी विद्यादेवी भण्डारीले चोमोलोङ्मा (सगरमाथा) हिमालको अद्यावधिक उचाइ ८,८४८.८६ मिटर रहेको एकसाथ घोषणा गरे। कूटनीतिक सम्बन्धको वर्षगाँठलाई यो घोषणासँग जोड्नुको अन्तर्य के भने यो हिमाल दुई देशबीचको दिगो मित्रताको प्रतीक पनि हो।
चीन र नेपालले यसलाई ‘सीमा-शिखर’ र ‘मैत्री हिमाल’ बनाएका छन्। आधुनिक चीनको स्थापनासँगै दुई देशबीचको सम्बन्ध अझ कसिलो बन्यो। चीनसँग छोटो समयावधिमा सीमा सन्धि भएका देशमध्ये नेपाल पनि पर्छ। सन् १९६१ मा भएको सीमा सन्धिमा चीनका तत्कालीन राष्ट्रपति ल्यु शाओची र नेपालका राजा महेन्द्रले हस्ताक्षर गरेका थिए।
सन्धिमा हस्ताक्षर हुनुभन्दा एक वर्षअघि एउटा प्रश्न उठ्यो- चोमोलोङ्मा कसको हुने? किनभने, चीनको इतिहासमा त्यसलाई चीनको बताइएको छ। नेपालको इतिहासमा पनि त्यसलाई नेपालको मानिएको छ। छलफलको अन्त्यमा अध्यक्ष माओत्सेतुङले निष्कर्ष सुनाए, “चोमोलोङ्मा हिमाल दुवै देशको हो। हामी त्यसलाई चीन-नेपाल मैत्री शिखर भन्न सक्छौं।” यसरी त्यो समस्या समाधान भएको थियो। चीन र नेपालको सीमा बढीजसो हिमालले नै छुट्याएका छन्। चोमोलोङ्माको पनि दक्षिणी मोहडा नेपाल हो भने उत्तरी मोहडा चीनको तिब्बतमा पर्छ।
चीनले चोमोलोङ्माको सरकारी अभिलेख धेरै पहिलेदेखि राख्न थालेको हो। अठारौं शताब्दीमा सम्राट् काङ्सीले यसको स्थलगत सर्वेक्षणका लागि टोली खटाएका थिए। चेयु र ह्वाङ्युक्लापानको नक्शामा चोमोलोङ्मा हिमालबारे उल्लेख थियो। त्यति वेला हिमालको उचाइ मापन गर्ने उपाय नभए पनि थलो भने यकीन भइसकेको थियो। अध्येताहरू चोमोलोङ्माबारेको पहिलो अभिलेखन त्यसैलाई मान्छन्। उन्नाइसौं शताब्दीमा बेलायतले भारतमा कब्जा जमाएयता ब्रिटिश भारतले पनि धेरै पटक चोमोलोङ्माको उचाइ मापन गरेको थियो।
उति वेला नेपाल सरकारले बेलायतीलाई पस्न नदिने भएकाले त्यो मापन दार्जीलिङ र बंगालको मैदानबाट गरिएको थियो। तर, यति लामो दूरीबाट गरिएको मापन सही हुने सम्भावना न्यून थियो। सन् १९०२ मा उनीहरूले चोमोलोङ्माको उचाइ ८,८८२ मिटर भएको सार्वजनिक गरे। यही उचाइलाई धेरै मानिसले व्यापक प्रचलनमा पनि ल्याए।
सन् १९५७ मा चिनियाँ पर्वतारोही टोलीले पहिलो पटक चोमोलोङ्मा आरोहण गर्यो। सोही टोलीले चोमोलोङ्माको ‘रेड अब्जर्भेशन टार्गेट’ रेखाङ्कन गर्दै उचाइ पनि ८,८४८.१३ मिटर मापन गर्यो। चुचुरोमै सशरीर पुगेर गरिएको यो मापनलाई विभिन्न देशले स्विकारे पनि। नेपालसँग त्यति वेला हिमालको उचाइ नाप्ने क्षमता र प्रविधि नभएकाले उसले पनि हाम्रै मापनमा समर्थन जनायो।
सन् २००५ मा हामीले पुनः चोमालोङ्माको उचाइ नाप्यौं। सबभन्दा पछिल्लो मापन चाहिं सन् २०२० मेको हो जसमा यसको उचाइ ८,८४८.८६ मिटर पाइएको छ। यही उचाइ दुई देशले संयुक्त रूपमा घोषणा गरेका हुन्। यस्तो अभ्यासले चीन र नेपालबीचको मित्रता प्रतिविम्बन गर्दै सहकार्यमूलक सम्बन्ध पनि झल्काएको छ।
मैले सन् १९९५ देखि १९९८ सम्म नेपालमा चिनियाँ राजदूतका रूपमा सेवा गरें। मेरो जन्मथलो क्वाङ्सी प्रान्तको दक्षिणी लिङ्नान पनि पहाडी क्षेत्र हो। मेरो गाउँका पहाडहरू तुलनात्मक रूपमा कम उचाइका छन्। म सानै उमेरदेखि तिनमा उक्लन्थें। त्यसैले हिमालै-हिमालको देश नेपाल टेके लगत्तै मलाई आत्मीयताबोध भयो। राजधानी काठमाडौं उत्रिएसँगै हामी हिउँको टोपी लगाएका पहाड, भव्य हिमाली शृङ्खला र चोमोलोङ्मा देख्न सक्छौं।
नेपाल बसाइका क्रममा म कहिलेकाहीं बिदाको मौका पारेर हिमाल चढ्न जान्थें। रूसी राजदूतको आमन्त्रणमा एक पटक चोमोलोङ्माको दक्षिणी मोहडा आरोहण गर्यौं। उति वेला हामी झण्डै चार हजार मिटरको उचाइसम्म उक्लेका थियौं। संसारका आठ हजार मिटरभन्दा अग्ला चौध हिमालमध्ये आठ वटा नेपाल (अन्तर्राष्ट्रिय सीमा क्षेत्र)मा पर्छन्।
सन् २००८ को ओलम्पिक टर्च रिले ताका म नेपालबाट गइसकेको थिएँ। हाम्रा तत्कालीन राजदूतले मलाई चोमोलोङ्मामा ‘ओलम्पिक टर्च रिले’ सम्पन्न गर्न नेपालले निकै सघाएको सुनाएका थिए। त्यति वेला चीनविरोधी शक्तिले दक्षिणी मोहडाबाट ओलम्पिक टर्च सर्वोच्च शिखरसम्म पुर्याउन नदिने योजना बनाएको समाचार सुनिएको थियो। नेपालले यसबारे अनुसन्धान गरी अवरोध गर्न खोज्नेहरूलाई वेलैमा पक्रिएर अभियान सफल बनाउन सघाएको थियो।
{‘चाइनिज पिपुल्स कन्सुलेटिभ कन्फरेन्स न्यूजलेटर’ मा चिनियाँ भाषामा प्रकाशित पूर्व राजदूत चाङको यो लेख हामीलाई द अरनिको प्रोजेक्ट (सहसंस्थापकद्वय अनेका रेबेका राजभण्डारी र रौनव सिंह खत्री)बाट प्राप्त भएको हो। हिमालको २०७९ पुस अङ्कबाट।}