कहाँ गए फेवा तालका माछा?
केही वर्षयता तालमा माछा घट्दै गएपछि फेवाको जलीय प्रणालीसँगै यसमा निर्भर जलारी समुदाय पनि अप्ठ्यारोमा परेको छ।
पोखराकी ७५ वर्षीया सोममाया जलारी केही वर्षअघिसम्म फेवा तालमा आफैं माछाको जाल थाप्थिन्। दाँत झरेका छन्, हिंडडुल कम गर्छिन्, तर माछाको कुरा गरेर भने अझै पनि थाक्दिनन्। “दिनकै दुई-तीन डोकाभरि माछा मार्थ्यौं,” सोममाया भन्छिन्।
अहिले त्यस्तो छैन। जाल थाप्न नसके पनि छोराहरूलाई माछा सङ्कलन र बिक्रीमा सघाउँछिन्। तर, पहिले जस्तो माछा पर्दैनन्। दिनमा एक किलो माछा पर्न पनि मुश्किल भएको देख्दा उनी चिन्तित छिन्। “हामी जलारीको खेतीपाती हुँदैन। यही माछा हो, हाम्रो सम्पत्ति,” आठ सन्तानलाई माछा मारेरै हुर्काएकी सोममाया भन्छिन्, “अहिले एक किलो माछा मुश्किलले पर्छ। आफू खानु कि बेच्नु? बेच्यो भने नुनतेल किन्ने पैसा त आउँछ।”
फेवा तालमा केही वर्षयता माछा कम हुन थालेका छन्। अझ रैथाने माछा त लोप हुँदै गएका छन्। माछा मारेर जीविकोपार्जन गर्ने जलारी समुदाय चिन्तित बनेको छ। जसले गर्दा जलारी समुदायका युवा विदेशिन थालेका छन्। पुरुष अन्य रोजगारीको खोजीमा जान थालेपछि घरमा महिलामा मात्रै छन्। माछा बेचेर आउने पैसाले घर खर्च चलाउने गरेको उनीहरू बताउँछन्।
वर्षौंदेखि नै जलारी समुदायमा पुरुषको काम माछा मार्ने हुन्छ भने महिलाको काम त्यसलाई लगेर बजारमा बेच्ने। मिलेर जाल थाप्ने भए पनि माछा बेचेर आएको पैसा महिलाकै हातमा हुन्छ। पुरुषलाई पैसा चाहिए पनि महिलासँगै माग्ने गरेको जलारी समुदायका अगुवा ज्ञानबहादुर जलारी बताउँछन्। “जलारी महिला पहिलेदेखि नै आत्मनिर्भर छन्, तर अहिले माछा कम हुँदा भने परिवारमा आर्थिक समस्या आउन थालेको छ,” ज्ञानबहादुर भन्छन्।
कास्कीको फेवा ताल सहित नौ वटा ताल रामसार क्षेत्रमा सूचीकृत छन्। प्राकृतिक सौन्दर्यका साथै वातावरणीय हिसाबले पनि यी तालले महत्त्व राख्छन्। विशेष गरी फेवा, बेगनास र रूपा तालमा व्यवस्थित रूपमा मत्स्यपालन गरिंदै आएको छ।
यीमध्ये फेवा र बेगनास वरपर जलारी समुदायको बाक्लो बसोबास छ। फेवा ताल किनारमा ९१ परिवार र बेगनासमा करीब ३० परिवार बस्छन्। उनीहरू माछामै निर्भर छन्।
उनीहरू हरेक बिहान माछालाई हर्पन फेवा मत्स्य सहकारीमा लग्छन्। तीन किलोभन्दा बढी माछा परे सहकारीमा र त्योभन्दा कम परे आफैंले बिक्री गर्न मिल्ने नियम छ। हरेक दिन बिहान ८ बजेदेखि माछा किन्न आउनेको हर्पन सहकारीमा भीड लाग्छ। माछा नपाउँदा रिसाएर, झगडा गरेर जाने गरेको सहकारीका सचिव सूर्य जलारी बताउँछन्।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)को एक अध्ययनले नेपालमा १०.०८ प्रतिशत जनसङ्ख्या नदीनाला तथा तालतलैयामा निर्भर रहेको देखाएको छ। उनीहरूमध्ये जलारी समुदाय पनि एक हो। जीविकोपार्जनका लागि माछामा निर्भर रहने जलारी समुदाय तालमा नै माछा कम हुन थालेपछि भने आफ्नो परम्परागत पेशाबाट नै पलायन हुने अवस्थामा पुगेको छ।
फेवा तालबाट जलारी समुदायको उठिबास लाग्ने हो की भन्ने चिन्ता खर्पन सहकारीका सचिव सूर्य जलारीलाई पनि छ। उनी भन्छन्, “शिक्षा छैन, अन्य रोजगारीको व्यवस्था छैन। युवा जति खाडी मुलुकतिर गइरहेका छन्। माछा पाइनै छाडेपछि बिस्तारै यहाँबाट उठिबास लाग्ने पो हो कि!”
घट्दो माछा उत्पादन
कास्कीमा वार्षिक ५०० टन माछा उत्पादन हुने गरेको छ। तर, पोखराको माग भने उत्पादनको दोब्बर छ। बेगनास मत्स्य अनुसन्धान केन्द्रका अनुसार, फेवा तालमा माछा उत्पादन घट्दै आएको छ। पछिल्लो सात वर्षमा माछा उत्पादन एक तिहाइले घटेको छ।
मत्स्य अनुसन्धान केन्द्रका अनुसार, फेवा तालमा आर्थिक वर्ष २०७२/७३ मा ६४ मेट्रिक टन, २०७३/७४ मा ६० मेट्रिक टन र २०७४/७५ मा ५२.५ मेट्रिक टन माछा उत्पादन भएको थियो। त्यसपछि भने २०७५/७६ मा ४३.४ मेट्रिक टन र २०७६/७७ मा ४३.०१ मेट्रिक टन माछा उत्पादन भएको थियो।
त्यस्तै, २०७७/७८ मा ४५.९३ मेट्रिक टन माछा उत्पदान भए पनि २०७८/७९ मा भने घटेर ४१.४ मेट्रिक टन मात्रै उत्पादन भएको छ।
फेवा तालमा शहर, कत्ले, रेवा, फगेटा, बाम लगायत १० भन्दा बढी रैथाने जातका माछा पाइन्छन्। त्यस्तै, तिलापिया, सिसा, बिगहेड, अफ्रिकन मांगुर लगायतका विदेशी माछा पनि छन्। विशेष गरी रैथाने जातका माछा हराउँदै गएको मत्स्य अनुसन्धान केन्द्रले जनाएको छ।
किन कम भए माछा?
फेवामा माछा कम हुँदै जानुमा प्रदूषण र क्षेत्रफल घट्दै जानुलाई देख्छन् जलारी समुदाय। उनीहरू भन्छन्, “अहिले धान खेती देखिने ठाउँमा ताल थियो। ताल घटेको घट्यै छ, माछा किन कम नहोस्?’ यससँगै फेवा पुरिंदै जानु र ड्यामसाइडमा बाँधको पुनर्निर्माण नहुँदा माछा बगेर जाने गरेको उनीहरू बताउँछन्।
फेवाको मुहान हर्पन खोला र यसको शाखा खोला अँधेरी, चिसो, सेती लगायतका खोलामा प्रजननका लागि माछा जान सक्ने अवस्था नरहेको हर्पन फेवा मत्स्य सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर जलारी बताउँछन्। प्रजननका लागि तालको रैथाने माछा हर्पन खोलामा जाने गरेका छन्। माछाको प्रजाति हेरेर कोहीले घाँस त कोही गिट्यानमा प्रजनन गर्ने गरेको उनी सुनाउँछन्। तर, अहिले प्रजननका लागि वातावरण नहुँदा माछा कम भएको उनको भनाइ छ। “माछाको प्रजनन हुने ठाउँमा बाँध निर्माण हुनु, धेरै माछा मारिनुु र संरक्षण नहुनुले माछा कम हुँदै गएका हुन्,” ज्ञानबहादुर भन्छन्।
विशेष गरी माछाको प्रजनन समय चैतदेखि भदौसम्म हो। जलारी समुदायले प्रजननको समयमा माछालाई असर नगर्न जेठदेखि नै साताको एक दिन माछा नमार्ने निर्णय गरेका छन्। फेवाको ड्यामसाइडमा बलियो जाली/तार मात्र राखे पनि माछा बगेर अन्त नजाने र केही बढ्न सक्ने ज्ञानबहादुरको विश्वास छ। उनी भन्छन्, “माछा नछिर्ने बलियो जाली ड्याममा राख्ने हो भने पनि माछा अन्त जान पाउँदैनथ्यो र तालमा माछा बढ्ने थिए।”
फेवाबारे भएका विभिन्न अध्ययनले पानी दूषित हुनुका साथै ताल खुम्चिँदै गएको देखाएको छ। सन् २०१९ मा डा. क्यामरुन वाट्सनले गरेको अध्ययनमा फेवाको निरन्तर क्षयीकरण हुँदै जाने हो भने अबको ११० देखि ३४७ वर्षमा तालले आफ्नो ८० प्रतिशत क्षेत्र गुमाउनेछ।
फेवामा सिल्टेशन बढी हुँदा, तापक्रम बढेर माछाको प्रजनन हुन नसक्दा माछा कम हुँदै गएको बेगनास मत्स्य अनुसन्धान केन्द्रका प्रमुख मोहम्मद इक्वाल हुसेन बताउँछन्। “तीन वटा तालको तुलनामा बेगनास र रूपामा माछा बढेका छन् भने फेवामा ताल प्रदूषित हुँदै गएका कारण घटेका छन्,” हुसेन भन्छन्। अध्ययन अनुसन्धानले पनि फेवा तालको पानीको गुणस्तर दूषित रहेको देखाएको उनी बताउँछन्।
जलवायु परिवर्तनको पनि असर
मत्स्यविद्हरूका अनुसार, उचित तापक्रम नमिल्दा माछाले प्रजनन गर्न सक्दैन। तर, जलवायु परिवर्तनको असरले कास्कीको तापक्रममा उच्च विषमता रहेको मौसमविद् सुदर्शन हुमागाईं बताउँछन्। हुमागाईंका अनुसार, तथ्याङ्कले कास्कीमा गर्मीमा बढी गर्मी र चिसोमा बढी चिसो हुने ‘ट्रेन्ड’ बढ्दै गएको देखिएको छ।
जल तथा मौसम विभागका अनुसार कास्कीको अधिकतम तापक्रम प्रत्येक वर्ष ०.०६७ डिग्री सेल्सियसले बढिरहेको छ। त्यस्तै, न्यूनतम तापक्रम पनि ०.०१८ डिग्री सेल्सियसले बढिरहेको मौसम विभागको तथ्याङ्क छ। कास्कीमा हरेक वर्ष ताता दिनहरू डेढ दिनले र चिसा रातहरू ०.३ दिनले बढिरहेको पाइएको छ।
प्रत्येक वर्ष कास्कीमा ११.४ मिलिलिटरले वर्षा कम हुन थालेको छ। वर्षा कम भएर तालतलैयामा पानीको सतह घट्दै गएपछि तालमा निर्भर जलचर प्राणी जस्तै माछामा यसको प्रत्यक्ष असर पर्ने मौसमविद् हुमागाईं बताउँछन्।
सन् १९७० देखि सन् २०१८ सम्म ४८ वर्षको अन्तरमा गरिएको तापक्रम सम्बन्धी एक अध्ययनले जलवायु परिवर्तनको असर बिस्तारै कास्कीमा पनि देखिन थालेको जनाएको छ। प्राध्यापक राजेन्द्र उपाध्यायले सन् २०१९ मा गरेको अध्ययनले भनेको छ, ‘कास्की रहेको गण्डकी प्रदेशको भूगोल हिमालले घेरिएको छ। त्यसैले पनि जलवायु परिवर्तनको असर देखिएको छ। जाडो महीनामा कास्की सबैभन्दा बढी प्रभावित हुने गरेको छ।’
कृषि अनुसन्धान केन्द्रहरूको एशियास्तरीय साझा संस्थाले सन् २०२० मा गरेको अध्ययन प्रतिवेदनमा नेपालमा जलवायु परिवर्तनको सबैभन्दा बढी प्रभाव जलाशय वातावरणमा देखिने औंल्याएको छ। जलवायु परिवर्तनमा नेपालले जम्मा ०.०२५ प्रतिशत मात्र असर पुर्याए पनि यसको जोखिममा भने नेपाल संसारको चौथो नम्बरमा छ। हिमाल र उच्च पहाडका कारण जलवायु परिवर्तनको असर बढी देखिने र त्यसको प्रभाव जलचरमा पर्ने प्रतिवेदनले उल्लेख गरेको छ।
जसबाट माछामा निर्भर रहने समुदाय पनि प्रभावित छन्। जलारी जस्तै माछामा निर्भर समुदायका महिला यसको मारमा परेका छन्। अध्ययनहरूले पनि माछाको संरक्षण हुन नसक्दा यसकोे असर माछामा निर्भर आदिवासी महिलामा परेको उल्लेख गरेका छन्।
भविष्यको चिन्ता
तालमा माछा कम हुँदै गएपछि घरखर्च चलाउन गाह्रो हुन थालेको जलारी महिलाको समूह माछापुच्छ्रे महिला समूहकी सचिव दीपा जलारी बताउँछिन्। ३३ जना सदस्य रहेको समूहमा जलारी समुदायका महिलाले पैसा बचत गर्ने र आवश्यक पर्दा ऋण लिने गरेका छन्। “हामीले पढ्न पाएनौं र दुःख पायौं, त्यसैले हाम्रा बालबच्चालाई पढाउन थालेका छौं,” दीपा भन्छिन्, “अहिले माछा नपाएर गाह्रो हुँदा पनि पढाइ नभए अन्त काम पाइँदैन।”
हरेक महीनाको ५ गते माछापुच्छ्रे महिला समूहको बैठक बस्छ। उनीहरू फेवा ताल नजिक खपौंदीनेर भेला हुन्छन्। उनीहरूको बैठकमा पनि माछा कम हुँदै गएको विषय आउन थालेको छ।
बचत गर्न आएकी बिनु जलारीले माछा बेच्दा हातमा परिरहने पैसा अहिले कम हुँदा घरव्यवहार धान्न बाहिर काम गर्न जाने श्रीमान्को भर पर्नुपरेको बताउँछिन्। “नोकरीका लागि पढाइ छैन, बाहिर गएर काम गर्न सक्दैनौं। माछा मार्दा हाम्रो हातमा पैसा पर्छ,” बिनु भन्छिन्, “अब श्रीमान् बाहिर गएर काम गर्छ, पैसा पनि उसैले राख्छ।”
बुद्धिमाया जलारीले बिहेपछि मात्र तालमा जाल थाप्न सिकिन्। उनका श्रीमान् राजकुमार जलारीसँगै उनी हरेक दिन जाल थाप्न जान्छिन्। फेवा तालको परसम्म जानुपरे डुङ्गामा नै रात बिताउने चाँजो मिलाएर जान्छन्। उनलाई शुरूमा माछा मार्न जाँदा बाल्टिनभरि माछा मारेर ल्याएको याद छ। घरछेउको तालमा नै माछा आएर बसेको उनी सम्झिन्छिन्।
बुद्धिमायाका सासू-ससुरा सुकुली जलारी र रामचन्द्र जलारी पनि डुङ्गामा फेवा तालमा जाल थाप्न परसम्म पुग्छन्। पहिले डुङ्गाभरि माछा मारेर ल्याएको बताउँदै बुद्धिमाया भन्छिन्, “अहिले १०-१२ वटा जाल राख्दा पनि माछा पर्दैन।”
७७ वर्षीया मिश्री जलारीलाई दुई महीनाअघि उच्च रक्तचापले नच्यापेको भए अझै फेवा तालमा जाल थाप्ने थिइन्। अहिले छोराले मारेर ल्याएको माछालाई केलाउने, बेच्ने गर्छिन्। हिंड्न सक्ने हुँदा डालोमा माछा बेच्न पोखरा बजार चक्कर लगाउँथिन्। “बजारमा माछा नबिकेर कति दुःख पाइयो, तर अहिले दैलोमा माछा किन्न आउँदा बेच्नलाई माछा छैन,” मिश्री भन्छिन्, “अहिले माछा नपाएर महादुःख छ। अब माछा नभएपछि के गर्ने?”
यस्तै सकस मनमाया जलारीलाई पनि छ। मामाले तालमा मार्न सिकाउँदा मनमाया १० वर्षकी मात्र थिइन्। माछा मारेरै दुई सन्तान हुर्काएकी ५७ वर्षीया मनमाया हेर्दाहेर्दै फेवा ताल सानो हुँदै गएको बताउँछिन्। “खेल्दै पुग्ने तालछेउ अहिले ठूला रेस्टुरेन्ट ठडिएका छन्,” उनी भन्छिन्, “पहिले तालामा माछा धेरै थियो, तर पैसा सस्तो थियो। अहिले महँगोमा बेच्नुपर्छ, तर माछा पर्नै छोडेको छ।”
माछा कम पर्न थालेपछि घरव्यवहार धान्न समस्या हुँदै गएको बुद्धमाया जलारी बताउँछिन्। माछा मारेर एक्लैले परिवार धानेकी उनी अब के गर्ने भन्ने चिन्तामा छिन्। जलारी समुदायमा महिलाले नै घरव्यवहार धान्ने गरेका छन्।
उनकै छिमेकी गौरी जलारी भने अहिले जलारी समुदायका छोरी पनि बाहिर गएर काम गर्न थालेको बताउँछिन्। आम्दानी घट्न थालेपछि आफ्ना सन्तानले माछा मार्ने काममा रुचि नदेखाएको गौरी बताउँछिन्।
माछा बेच्ने हर्पन सहकारीको आडमै घर भएकी शान्ति जलारीलाई पनि यसले गुजारा चल्छ जस्तो लाग्न छोडेको छ। उनलाई आफ्नो सन्तानले यो पेशा नगरी अन्य काम गरून् भन्ने छ। माछा कम हुँदै गएकाले चिन्तित रहेकी शाीन्त भन्छिन्, “ताल र माछा दुवैको भर परेर अब जीवन धान्न गाह्रो छ।”
सङ्कटमा ताल र समुदाय
कृषि तथा माछाविद् डा. टेकबहादुर गुरुङ तालतलैयामा निर्भर रही वर्षौंदेखि स्वरोजगार समुदायको परम्परागत पेशा नै सङ्कटमा पुगेपछि समाजमा ठूलो असर पर्ने बताउँछन्। डा. गुरुङ भन्छन्, “यसको प्रत्यक्ष प्रभाव महिला र बालबालिकालाई पर्छ।”
तापक्रम वृद्धिसँगै माछाको प्रजनन जीवनचक्रमा असर पर्ने र प्राकृतिक आहारा कम हुँदै जाने उनी बताउँछन्। “माछाका लागि प्रजनन र प्राकृतिक आहारा सबैभन्दा महत्त्वपूर्ण हो। अहिले जलवायु परिवर्तन तथा मानव सिर्जित प्रदूषणले त्यसमा असर पुर्याएको छ,” डा. गुरुङ भन्छन्, “जसले आहारा र उपलब्धता दुवैमा असर पुर्याएको छ।”
ताल तथा यसमा निर्भर समुदायका लागि सरकारले ध्यान दिनु आवश्यक रहेको उनी बताउँछन्। जलवायुु परिवर्तनलाई रोक्न नसके पनि मानव निर्मित समस्याको निराकरण भने गरिनुपर्ने उनको भनाइ छ।
त्यस्तै, वातावरणविद् अनिल सुवेदी रामसारमा सूचीकृत फेवा ताल संरक्षणमा ध्यान दिनुपर्ने बताउँछन्। सुवेदीका अनुसार, फेवा तालमा अतिक्रमण, ढल मिसाउने काम हुँदा पानीमा अम्लीयपन बढ्ने गरेको र जसको असर माछाको उत्पादनमा पर्ने गरेको छ। ताल संरक्षणका लागि सरोकारवाला निकायको ध्यान जानुपर्ने वेला आइसकेको उनको भनाइ छ।
अर्का वातावरणविद् देवराज गौतम जलवायु परिवर्तनको असरले जलाशय, तालतलैयामा पर्ने गरेको बताउँछन्। पोखरी नजिकका ठाउँहरूमा ग्रामीण सडक खोलिंदा भूक्षय हुने गरेकाले पनि असर पर्ने गरेको गौतमको भनाइ छ। “यसमा संवेदनशील भएर काम गर्नुपर्छ,” उनी भन्छन्।
फेवा ताल संरक्षण तथा विकास प्राधिकरणकी निर्देशक कल्पना देवकोटा तालहरूमा मिचाहा प्रजाति फैलिने क्रम बढेका कारण पनि जलचरलाई असर परेको बताउँछिन्। तालमा आश्रित जलारी समुदाय र सरोकारवाला निकाय मिलेर यस समस्याको समाधानतर्फ अघि बढ्नुपर्ने देवकोटाको भनाइ छ।
जलवायु परिवर्तन र मानव निर्मित समस्याका कारण एकातिर फेवा खुम्चिँदै गएको छ भने अर्कातिर, तालमा माछा कम हुँदै जाने क्रम बढ्दो छ। जसबाट प्रत्यक्ष रूपमा जलारी समुदाय प्रभावित छ। सङ्कट न्यूनीकरणमा सरोकारवाला निकायको चाँडो ध्यान पुग्नुपर्ने जलारी समुदायका अगुवा बताउँछन्।
(यो आलेख यूके एडको सहयोग ब्रिटिश काउन्सिलको ‘रोड टु कप’ अभियान अन्तर्गत ‘जलवायु परिवर्तनमा महिला रिपोर्टर अनुदान’ को सहयोगमा तयार पारिएको हो।)