क्यानले भन्यो- म्याच फिक्सिङ मिथ्या र भ्रामक सूचना
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० लिगमा ‘म्याच फिक्सिङ’ भनेर मिथ्या र भ्रामक सूचना फैलाइएको जनाएको छ।
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी-२० लिगमा ‘म्याच फिक्सिङ’ भएको हल्ला चलेपछि क्यानले विज्ञप्ति जारी गरी स्पष्ट पारेको हो।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बुधबार प्रेस विज्ञप्ति जारी गरी ‘म्याच फिक्सिङ/स्पोट फिक्सिङ’ भनेर फैलाएको भ्रामक सूचनाप्रति ध्यानाकर्षण भएको जनाएका छन्। नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी हुने यस्ता गतिविधि अन्त्य गर्ने क्यानले प्रतिबद्धता जनाएको छ।
क्रिकेट र राष्ट्रलाई नै हानि हुने यस्ता भ्रामक सूचना नफैलाउन पनि आग्रह गरेको छ। क्यानले भनेको छ, ‘संघ र राष्ट्रका नाममा मिथ्या तथा भ्रामक सूचनाहरू नफैलाउन संघ विनम्र अनुरोध गर्दछ।’
यससँगै क्यानले ‘म्याच फिक्सिङ’ का विषयमा कुनै सूचना भए जानकारी दिन पनि अनुरोध गरेको छ। क्यान वा नेपाल टी-२० लिगको एन्टिकरप्सन एकाइमा उजुरी दिन सकिने जनाइएको छ।