मधेशमा एमाले संसदीय दलको नेता सरोज यादव
मधेश प्रदेश सभामा नेकपा (एमाले) संसदीय दलको नेतामा सरोजकुमार यादव चयन भएका छन्।
जनकपुरधाममा बुधबार बसेको एमाले संसदीय दलको बैठकले यादवलाई नेता चयन गरेको हो। उनी महोत्तरी ४ ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
यस्तै, उपनेतामा धनुषाका दीपेन्द्र ठाकुर चयन भएका छन्। मधेश प्रदेश सभामा एमालेका २३ सांसद छन्।
संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले प्रदेश सभामा पार्टीले ‘समृद्ध मधेश सुखी मधेशी’ भन्ने मुख्य लक्ष्यका साथ भूमिका खेल्ने बताए।
उनले केन्द्रमा एक प्रकारको गठबन्धनको निर्माण भएको र प्रदेशमा पनि त्यही अनुसारले गठबन्धन बन्ने बताए।