पश्चिमा काल्पनिकीमा हिमालय
पूँजीवाद र आधुनिकताबाट विरक्तिएका पश्चिमाहरूले सुदूर अज्ञात थलो हिमालयमा गहिरो शान्ति देखेर आफ्ना कल्पना र आकांक्षा जोड्दै यसको तिलस्मी व्याख्या गरिदिएका थिए।
बाल्यकालका शुरूआती दिनहरू उत्तरी भारत र नेपालका हिमालमा बिताएको नाताले म सधैं रोमाञ्चित भएको छु। हिमाली क्षेत्रमा नबस्ने मानिसका लागि हिमालको अर्थ के हो भन्नेमा म थोरै अलमलमा थिएँ। धेरै वर्षमा मैले बुझेको कुरा के भने हिमालय एक सुन्दर, भव्य क्षेत्र हो, र त्यहाँका बासिन्दाका लागि भने कठिनाइ र संघर्षको भूगोल हो। साथै, मेरा समकक्षी पश्चिमा साथीहरूलाई हिमालय क्षेत्र मैले नबुझेका सबै प्रकारका अन्य अर्थले भरिएको थियो भन्ने पनि मैले महसूस गरें। उनीहरूका निम्ति यो आध्यात्मिक ज्ञान, उपचार र शुद्ध, रहस्यमय पूर्वीय भूमि थियो। छोटकरीमा भन्दा उनीहरूको कल्पनामा हिमालय क्षेत्र आधुनिकता, पूँजीवाद, भौतिकवाद र उनीहरूले नरुचाएका अरू सबै खालका पश्चिमावादले फोहोर बनाउन नपाएको क्षेत्र थियो।
मैले भन्न खोजेको कुरा बेलायती अभिनेता बेनेडिक्ट कम्बरब्याचको उद्धरणबाट उल्लेख गर्छु। उनले हलिउड चलचित्र डाक्टर स्ट्रेन्ज (२०१६)मा अमेरिकी डाक्टरको भूमिकामा अभिनय गरेका छन्, जो गम्भीर चोट लागेपछि हिमालय खास गरी काठमाडौं पुगेर जादूमय शक्ति भएकी एक बौद्ध भिक्षुणीबाट निको हुन्छन्। चलचित्रको केही खण्ड काठमाडौंमै छायाङ्कन गरिएको थियो। मैले अनुमान गरे झैं चलचित्र धेरै पूर्वीय रूढिग्रस्त काल्पनिकीहरूले भरिएको छ। एक दिन मेरा विद्यार्थीले नेपालमा कम्बरब्याचको अनुभव सम्बन्धी अन्तर्वार्ताको एक प्रति पठाए। उनी अभिनीत चलचित्रले बोकेको उडन्ते मिथकबारे उनमा केही आलोचनात्मक चेत होला कि भन्ने आशा गरेको थिएँ। तर, त्यो भेटिएन। कम्बरब्याचले भेटेको काठमाडौं, ‘भव्य र अद्भुत आध्यात्मिक भूमि’ थियो। त्यो चलचित्रका निर्देशक स्कट डेरिक्सनले थपे, ‘म दुनियाँका सबै ठाउँमा पुगेको छु, तर काठमाडौं जस्तो ठाउँ कतै छैन। यो कुनै पश्चिमा प्रभाव नभएको शहर हो। निकै शान्त, सुन्दर, रङ्गीन, धेरै रहस्यमय र सबै कर्ममा धार्मिकता जोडिने यो विशाल शहर हो।’
मेरो अनुमानमा तपाईंहरूमध्ये धेरैले काठमाडौं भ्रमण गर्नुभएको छ। कतिलाई काठमाडौं कुनै पश्चिमा प्रभाव नभएको भव्य, आध्यात्मिक र रहस्यमयी धार्मिक अनि सबैभन्दा शान्त शहर लाग्यो? कोही काठमाडौं जाँदा अस्तव्यस्त, कोलाहल, प्रदूषण र भीडभाड नभएको शहर भेट्न कसरी सम्भव छ? अवश्य पनि काठमाडौंका केही आकर्षण छन्, र नेपालीहरू निकै हार्दिक र दयालु छन्। तर, कम्बरब्याच जस्ता व्यक्तिले भने जस्तो उनीहरू नेपाल गएर आफ्नो कल्पनाभन्दा बाहिरको ठाउँ भेट्न कसरी सम्भव छ?
रहस्यमय हिमालय
पछिल्ला २०० वर्षमा यूरोपेली र अमेरिकीहरूले हिमालय क्षेत्रको कल्पना त्यही कोणमा गरिरहेका छन्। प्रतिसंस्कृतिका व्यक्तिहरू धर्मनिरपेक्ष, तार्किक र पूँजीवादी पश्चिमा जगत्सँग खुशी थिएनन्। उनीहरूका लागि हिमालय अन्तिम अज्ञात ठाउँ थियो, जहाँ उनीहरू आफ्ना आशा, सपना र कल्पना प्रक्षेपण गर्न सक्थे। मैले फार आउट पुस्तकमा यी र यस्ता काल्पनिकी कसरी जन्मिए र यिनलाई सन् १९५० पछिको नेपाली पर्यटनमा कसरी लागू गरियो भन्नेबारे व्याख्या गर्न खोजेको छु।
दक्षिणएशियामा हिमालयलाई रहस्यमय बनाउने कामको जरा वैदिक साहित्य, महाभारत र रामायणमा पुग्छ। सबैले हिमाललाई देवस्थल, रहस्यमय र अलौकिक शक्तिका रूपमा चित्रित गरेका छन्। औपनिवेशिक कालमा पनि त्यस्तै प्रवृत्ति देखिन्छ। नेपालसँग सन् १८१४–१६ को युद्धपछि बेलायतले हिमालयलाई उसको भूराजनीतिक दुश्मन चीन र रसियासँगको मध्यवर्ती क्षेत्रका रूपमा बुझ्यो। बेलायती उपनिवेशकालभरि नेपाल अर्धस्वतन्त्र मुलुक रहनुको कारण बेलायतको भूराजनीतिक रणनीति नै थियो। नेपालले आफ्ना सीमाहरूमा सैन्य भर्ती केन्द्र चलाउन अनुमति दिउन्जेल नेपालको असंलग्न नीतिको समर्थन गर्न अंग्रेजहरू खुशी नै थिए। आजको नेपाल भारतको कुनै प्रान्त नभएर स्वतन्त्र देशको अवस्थामा पुग्नुको एक तर्कसङ्गत कारण औपनिवेशिक कालको नेपाललाई कल्पना गरिएको भूराजनीतिक सिमाना नै हो।
अंग्रेजको यो नीतिको एउटा परिणाम के भयो भने, यूरोपेली भारतवेत्ताहरूले १९औं शताब्दीमा नेपाल पत्ता लगाउँदा यसलाई भारत र तिब्बत (चीन)को सीमाक्षेत्रका रूपमा पहिल्यै बुझिइसकिएको थियो। राणाकालमा विश्व व्यवस्थासँग टाढिएर बस्दा नेपालबारेको काल्पनिकी थप बढ्न पुग्यो। जब भारतवेत्ताले काठमाडौंमा प्राचीन लेखोट खोजे, थियोसोफी धर्मकी प्रतिपादक हेलेना ब्लाभात्स्कीले हिमालय क्षेत्रका महात्माहरूबाट अलौकिक सन्देश पाएको दाबी गरिन्। उनले हिमालयमा ब्रह्माण्डका मालिक र तिब्बती भ्रातृत्वले बास गरेकोसम्म भन्न भ्याइन्। १९औं शताब्दीसम्म तिब्बत सबैबाट अलग भूगोल भएकाले यो पश्चिमाहरूका सपना र काल्पनिकी स्वतन्त्र रूपमा प्रस्तुत गर्ने रित्तो पर्दा बन्यो। यसै मेसोमा ब्लाभात्स्कीले आफ्नो जादूमय ज्ञान हिमालयसँगको रहस्यमय संवादबाट पाएको दाबी गरिन्।
२०औं शताब्दीको शुरूआतसँगै थियोसोफी यूरो–अमेरिकी प्रतिसांस्कृतिक अभियानको रूपमा उदय भइसकेको थियो। थियोसोफी मूलतः हिमालय क्षेत्रमा लुकेको अर्थका लागि पश्चिमाहरूको लालसामा केन्द्रित थियो। पश्चिमा औद्योगिक क्रान्तिले ल्याएको व्यापक मोहभङ्गताको पृष्ठभूमिमा ब्लाभात्स्की र थियोसोफीले हिमालयलाई पश्चिमा ज्ञानको स्वच्छ भूमि भनेर कल्पिए। फेरि पनि हिमालयले उद्गमथलोमा छोडिएको गौरवान्वित आर्य ज्ञान र भविष्यको मानव जातिको कल्याण गर्ने बृहत् श्वेत भ्रातृत्वको छुटेको कडी जोड्ने घरका रूपमा काम गर्यो।
जेम्स हिल्टनको लस्ट होराइजन उपन्यास (सन् १९३३)को कथानकसँग परिचित जोकोहीले हिमालयको थियोसोफिकल विचारलाई पश्चिमा सभ्यता पुनःस्थापना गर्ने बहुमूल्य अस्त्रका रूपमा लिइएको पाउँछन्। पहिलो विश्वयुद्धपछिको आधुनिकतावाद विरोधी तथा प्रतिसंस्कृतिको आक्रोशको समयमा लेखिएको, विश्वव्यापी आर्थिक मन्दी छाएको ‘ग्रेट डिप्रेशन’ को समयमा प्रकाशित र दशकौंको तिब्बतको थियोसोफिकल काल्पनिकीबाट प्रभावित भएकाले लस्ट होराइजन तत्कालै स्थापित भयो। ब्लाभात्स्कीको तिब्बत जस्तै हिल्टनले भनेको शांग्रिला बौद्ध र इसाई थिए।
हिमालमा लुकेका अरू धेरै कडी पश्चिमाहरूले नेपाल र तिब्बतका दुर्गम उचाइमा रहेको कल्पना गर्नु अपरिहार्य नै थियो। ‘यती’ पनि एक छुटेको कडी हो, जसले मानव जातिलाई उसको उद्विकासको विगतसँग जोड्छ। सन् १९२० को दशकमा बेलायती पर्वतारोहीले सगरमाथा क्षेत्रमा रहस्यमय डोब देखेपछि मात्रै पश्चिमा कल्पनामा यती प्रवेश गरेको हो। तर, यतीको खोजकै तहबाट विशिष्ट आरोहण दल पठाइन थालेपछि सन् १९५० को दशकबाट यती झनै चर्चामा आयो। वास्तविक यती भेट्न सम्भव नभए पनि धेरै लोकप्रिय चलचित्र र कमिक पुस्तकमा यति नायक र खलनायकका रूपमा एलियन, गुप्तचर, कम्युनिष्ट र अरू डरलाग्दा प्राणीहरूसँगै देखिन थाल्यो।
पश्चिमा कल्पनामा यतीको अनौठो र जटिल वंशावली छ। हामीले देखेका छौं, पश्चिमा ‘सभ्य’ दुनियाँबाट हराएका चिजबिजको अन्तिम काल्पनिक ठेगाना तिब्बत र हिमालय थिए। यती काल्पनिकीको एक हिस्सा थियो, जसबाट मानिसहरू कम जानिएको स्थानमा अझै पनि केही कुराको अस्तित्व छ भन्नेमा विश्वास गर्थे। बहुसंख्यक नेपालीले यतीबारे न जानकारी पाए, न कुनै चासो दिए। जबकि, पश्चिमाहरू यतीको अस्तित्व रहेकोमा गहिरो विश्वास राख्थे।
पश्चिमा लोकप्रिय चलचित्र, उपन्यास र कमिक पुस्तकले यतीलाई चिनियाँ कम्युनिष्टसँग संवाद गरेको रूपमा प्रस्तुत गरे। यसले सन् १९५० को दशकमा भूराजनीति विकासमा नेपाल अग्र देशको रूपमा उदाएको सङ्केत गर्छ। विगतका ठूला (भूराजनीतिक) खेलहरू जस्तै सन् १९५० को दशकमा पनि पश्चिमा कल्पनामा बढ्दो कम्युनिष्टको पर्खालका रूपमा नेपालको चर्चा एकाएक चुलियो। सोभियत संघ, चीन, भारत र अमेरिका सबैले नेपाललाई मानमनितो गरे, उपहार दिए। यतिसम्म कि, राजा महेन्द्र जननिर्वाचित सरकार ढालेर पञ्चायती तानाशाह बने। सन् १९६१ मा टाइम पत्रिकामा प्रकाशित अन्तर्वार्तामा राजा महेन्द्रले आफूलाई ‘निर्वाचित सरकारले सधैं अप्ठ्यारो पारेको’ दाबी गर्दै ‘कू’ को बचाउ गरेका थिए। नेपालका महाजनलाई सम्पत्ति कर लगाउने लोकप्रिय योजनाबारे प्रश्न गर्दा महेन्द्रले दिएको जवाफ टाइमले उद्धृत गरेको छ– ‘हामीले सधैं अमेरिकीबाट धेरै पैसा पाउन सक्छौं भने कर किन लगाउने?’ अवश्य पनि राजा महेन्द्रको तर्कमा केही दम थियो। एक विदेशी विज्ञको भनाइमा सन् १९६० को दशकमा नेपाल वैदेशिक सहयोगले पुरिएको थियो। अमेरिकाले पर्याप्त पैसा दिइरहेको अवस्थामा महेन्द्रले आफ्नो मुख्य घरेलु शक्तिको आधार किन खलबल्याउँथे र? ‘कुनै पनि कम्युनिष्ट विरोधी सरकार राम्रो सरकार’ भन्दै अमेरिकाले महेन्द्रको ‘कू’ लाई सघाएको थियो।
नेपाल अन्तर्राष्ट्रिय चासोको अभूतपूर्व तहमा पुग्नुको प्रमुख कारण दुई ठूला शक्तिबीचको मध्यवर्ती मुलुकका रूपमा यसको पुनर्जन्म भएकाले नै हो। यो बुँदा बुझ्न सन् १९५० र १९६० को बीचमा टाइम र न्यूजविकमा आएका नेपाल सम्बन्धी प्रमुख लेख बाँकी सबै दशकको तुलनामा धेरै भएको तथ्य सान्दर्भिक हुन्छ। जब नेपाल भूराजनीतिक खेलाडी हुन नचाहेको देखियो, तब ‘यती अभियान’ तत्काल रोकियो र नेपाल विश्व समाचारबाट बाहिरियो। सन् १९६० पछि नेपाल सान्दर्भिक राजनीतिक खेलाडीबाट सुदूर जिज्ञासामा बदलिएको थियो। सीमाभूमिको शक्तिको मिथक नेपालका बाह्य शक्तिका लागि उनीहरूकै कल्पना र राजनीतिक उद्देश्यको आवश्यकता अनुसार चढ्छ र झर्छ।
सन् १९६० को दशकदेखि नेपाल अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा उदाउनुको प्रमुख कारण यो काल्पनिक रहस्यमय सीमाभूमि हुनु हो। हिमालयले शीतयुद्धको मध्यवर्ती क्षेत्रका रूपमा पाएको सान्दर्भिकता सकिएसँगै पश्चिममा अर्को प्रतिसांस्कृतिक आक्रोशको लहर आयो, जसले पश्चिममा हराएका आध्यात्मिक गुणले भरिएको क्षेत्रको रूपमा नेपाल र तिब्बतको छवि पुनर्जीवित गर्यो। सन् १९६० र ७० को दशकमा प्रतिसंस्कृतिको पलायनबाट नेपाल र भारतमा हिप्पीहरूको भीड लाग्यो।
नेपालले साहसिक पर्यटनको गन्तव्यको रूपमा गरेको ‘रि–ब्रान्डिङ’ आज धेरैले स्विकारेको देखिन्छ। तर, अझै पनि एक तप्काले धर्मलाई नेपालको प्रमुख सांस्कृतिक आकर्षण मान्छ र धार्मिक पर्यटकको हिस्सा पनि ठूलै छ। पुराना भारतवेत्ताहरूले बनाएको भाष्य जस्तै नेपाल हिन्दू र बौद्धको अन्तर्क्रिया क्षेत्रको रूपमा पुनःपरिभाषित भएको छ। तिब्बती बौद्ध धर्म सहित पूर्वीय धर्मको गन्तव्यका रूपमा नेपालको मौलिकता बनेको छ।
समकालीन आइरिस कवि क्याथल ओ सारकेईले ‘काठमाण्डू’ कविताको शुरूआत यसरी गरेका छन्ः ‘काठमाण्डू इज देयर टु चेन्ज यू।’ यहाँ ‘यू’ भन्नाले पश्चिमा पाठक हुन्। सारकेईका लागि काठमाडौं नेपालीहरू बस्ने ठाउँ हैन, यो त पर्यटकलाई रूपान्तरण गर्न मात्रै अस्तित्वमा छ। सारकेई जस्तै असंख्य पश्चिमा हिमाली क्षेत्रमा त्यहाँका बासिन्दा खोज्नभन्दा पनि आफैंबाट आफू हराएको काल्पनिकी खोज्न आकर्षित भएका छन्। पश्चिमाहरूको ‘विचारको संरचना’ अनुसार, अलगावको भावना र उनीहरूको स्वत्वको खोजको छुटेको कडी प्रदान गर्न काठमाड अस्तित्वमा छ। यो त्यही तर्क हो, जसको आधारमा बेनेडिक्ट कम्बरब्याच र अन्यले काठमाडौंलाई ‘अद्भुत र भव्य आध्यात्मिक’, ‘कुनै पनि पश्चिमा प्रभाव नभएको’ भनेर कल्पन्छन्। ‘एकदम रहस्यमय र सबै कार्यमा धार्मिकता जोडिने’ एक विशाल शहरका रूपमा सम्झन्छन्। हिमालय सम्बन्धी पश्चिमा प्रतिसांस्कृतिक कल्पना जीवित र राम्रा देखिन्छन्।
(लिक्टी सांस्कृतिक मानवशास्त्री हुन्। नेपालको पर्यटन इतिहास सम्बन्धी पुस्तक फार आउटका लेखक समेत रहेका लिक्टीको यो लेख सन् २०१८ मा जापानमा आयोजित कार्यक्रममा उनले दिएको प्रवचनमा आधारित छ। यसलाई विराट् अनुपमले भावानुवाद गरेका हुन्। हिमालको २०७९ पुस अङ्कबाट।)