सचिवहरूलाई प्रधानमन्त्रीको ३० बुँदे निर्देशन‚ एक महीनाभित्र सेवा प्रवाह नसुध्रिए कारबाही
प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन्।
सोमबार र मंगलबार सचिवहरूसँग छलफल गरेपछि प्रधानमन्त्री दाहालले सचिवहरूलाई ३० बुँदै निर्देशन दिएका हुन्। शिक्षा, स्वास्थ्य, यातायात जस्ता आधारभूत सेवा, राहदानी, सवारीचालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत कर बुझाउने जस्ता सेवा लिंदा सर्वसाधारणले सास्ती बेहोरिरहेको उल्लेख गर्दै नागरिकले तत्काल महसूस हुने गरी काम गर्न ध्यानाकर्षण गराएका छन्।
यस्तै‚ लक्ष्य बमोजिम आयकर नउठेको‚ कर बुझाउन जाँदा झन्झट र लामो लाइन बस्नुपर्ने अवस्था किन आएको भनी प्रश्न समेत गरेका छन्। महीना दिनभित्र सेवा सुधार नभए जिम्मेवार पदाधिकारी कारबाहीमा पर्ने प्रधानमन्त्रीले चेतावनी समेत दिएका छन्।
प्रधानमन्त्री दाहालले आर्थिक वर्षको आधाआधी भइसक्दा पनि विकास खर्च जम्मा ११ प्रतिशत मात्र भएको उल्लेख गर्दै त्यस्तो अवस्था किन सिर्जना भयो? त्यसको जिम्मेवार को हो भनी मन्त्रीहरूलाई प्रश्न गरेका छन्।
प्रधानमन्त्रीको ३० बुँदे निर्देशन
१. म प्रमुख कार्यकारीको भूमिकामा तेस्रो पटक र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो पटक तपाईंहरूसमक्ष उपस्थित भएको छु। मलाई यसअघि प्रधानमन्त्रीका रूपमा कार्यरत रहँदा निजामती प्रशासन र सरकारी संयन्त्रबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु र यस पटक पनि तपाईंहरूबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु।
२. अहिले संघीय संसद् र प्रदेश सभाको निर्वाचनपश्चात् संघीय सरकार गठन भएको छ। प्रदेश स्तरमा सरकार गठनका प्रक्रिया अघि बढिरहेका छन्। अहिले मन्त्रिपरिषद् पूर्ण नभइसकेको अवस्थामा अधिकांश मन्त्रालयको कार्यभार मेरो जिम्मामा छ। त्यसैले, अहिले मन्त्रीहरूले मन्त्रालय नसम्हालुन्जेल तपाईंहरूकै भरमा मैले धेरै मन्त्रालयका कामहरू गर्नुपर्ने भएको छ र तपाईंहरूमा पनि जिम्मेवारी थपिएको छ। यो जिम्मेवारी तपाईंहरूबाट पूरा हुने विश्वास लिएको छु।
३. आज म तपाईंहरू समक्ष ठूला नीतिगत र दीर्घकालीन विषयहरूभन्दा पनि तत्कालीन नागरिकका दैनिक आवश्यकताका सार्वजनिक सेवा प्रवाहका विषयहरू र विकास निर्माण र आयोजना सञ्चालनका विषयहरूमा केन्द्रित हुनेछु। मन्त्रिमण्डलले पूर्णता पाएपछि म फेरि मन्त्रीहरू समेत तपाईंहरूसँग विस्तृत रूपमा छलफल गर्न आउनेछु।
४. तपाईंहरू राज्यको स्थायी सरकार भएकाले तपाईंहरूसँग प्रशस्त अनुभव छ। यो सरकार तपाईंहरूको अनुभव, योग्यता र क्षमताको पूर्ण रूपमा प्रयोग गर्न चाहन्छ। तपाईंहरूले जुन जिम्मेवारी पाउनुभएको छ, त्यो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।
५. हिजो र आज दुई दिन सबै मन्त्रालय र निकायका तर्फबाट तपाईंहरूका प्रस्तुति सुनें। तपाईंहरूले यहाँ प्रस्तुत गर्दा सबै कुरा ठीकै जस्तो गरी विषयवस्तुहरू प्रस्तुत गर्नुभयो। ठ्याक्कै तपाईंहरूले भने जस्तो सामान्य अवस्था रहेको भए त राम्रो हो। तर, यथार्थ त्योभन्दा फरक छ भन्ने मैले बुझेको छु। तपाईंहरूसँग उपलब्ध तथ्याङ्कहरू राम्ररी केलाउनुभयो र आम नागरिकका गुनासाहरूलाई विश्लेषण गर्नुभयो भने तपाईंहरू पनि यथार्थको नजिक पुग्न सक्नुहुन्छ। त्यसैले समस्या नै राम्ररी पहिचान गर्न आग्रह गर्दछु।
६. आर्थिक वर्षको करीब आधाआधी समय व्यतीत भइसक्दा पुस १५ सम्म राजस्व वार्षिक लक्ष्यको करीब २५ प्रतिशत मात्र सङ्कलन भएको छ र अनुदान सहितको स्रोत करीब २७ प्रतिशत सङ्कलन भएको र यो अवधिमा कुल खर्च करीब २८ प्रतिशत मात्र भएकोले सङ्कलित आयस्रोतभन्दा बढी खर्च भएको देखियो। चालू खर्च करीब ३३ प्रतिशत र पूँजीगत खर्च निराशाजनक ढङ्गको करीब ११ प्रतिशत मात्र भएको मेरो जानकारीमा आएको छ। वैदेशिक अनुदान रु.५५ अर्ब प्राप्त हुने वार्षिक लक्ष्य रहेकोमा पुस १५ सम्म रु.तीन अर्ब ४२ करोड मात्र (करीब ६ प्रतिशत) मात्र प्राप्त भएको छ।
७. राजस्व कम उठ्नुमा आर्थिक मन्दी, आयातमा कमी यस्तै केही कारण पनि होलान्। तर, आयकर समेत लक्ष्य बमोजिम उठेको छैन। अरू त के कुरा, मासिक कर बुझाउन जाँदा पनि अनेक झन्झट र लामो लाइन बस्नुपर्ने अवस्थाले हाम्रो सेवा प्रवाहको स्तर जनाउँछ।
८. विकास खर्च आर्थिक वर्षको आधाआधी भइसक्दा जम्मा ११ प्रतिशत मात्र भएको छ। विकास खर्च हुन नसक्नाका कारण के हुन्? को जिम्मेवार हो? यसको कारण खोजी गरी निराकरण अब पनि नगरे कहिले गर्ने? नीतिगत तहमा समस्या भए तथ्यमा आधारित सुधारका प्रस्ताव ल्याउनुहोस्। तर, कार्यान्वयनमा देखिएका कमजोरी अब कसैलाई पन्छ्याएर उम्किन मिल्दैन। एकातर्फ लक्ष्यअनुसार राजस्व नउठ्ने, पूँजीगत खर्च नहुने, अर्कोतर्फ भएको खर्च पनि बेरुजु पर्ने र फर्स्योट नहुने भनेको वित्तीय प्रशासनको पूरा चक्र नै समस्याग्रस्त रहेको देखियो। यसमा संवेदनशील हुन जरुरी छ।
९. ठूला आयोजनामा विनियोजन भएको बजेट र हालसम्मको खर्च तथा भौतिक प्रगति र विकास आयोजनामा गति तीव्र गर्ने उपायहरू सहितको योजना राष्ट्रिय योजना आयोगले तत्काल तयार गर्नुहोस्। विकास आयोजनामा विनियोजन गरेको रकम खर्च गर्न नसकेमा अन्यत्र खर्च गर्न सक्ने परियोजनाहरूमा सारिन्छ र जिम्मेवारी लिने तर लक्ष्य अनुसार राजस्व असुली र विकासका काम गर्न नसक्ने पदाधिकारीहरूको कामलाई कार्यसम्पादन मूल्याङ्कनसँग जोडिने व्यवस्था पनि मिलाउनुहोस्।
१०. नयाँ संविधान २०७२ जारी भएपछि राज्य संघीयतामा प्रवेश गरेको र तीनै तहका निर्वाचन सम्पन्न गर्दै एक कार्यकाल पूरा भई दोस्रो आम निर्वाचनबाट यो सरकार गठन भएको छ। संघीयता लागू भएपछि जनताले घरदैलोमा सहज सेवा पाउनेछन्, विकास निर्माणमा स्थानीय जनताको सहभागिता हुनेछ, विकासका योजना वस्तुपरक बन्नेछन्, गुणस्तरीय विकास निर्माण भई जनताले विकासको फल छिटो प्राप्त गर्नेछन् भन्ने अपेक्षा गरिएको थियो। तर, विगत पाँच वर्षको हाम्रो कार्यसम्पादन सन्तोषजनक भएन। अहिले तपाईं हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान २ बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ। राष्ट्रिय परिचयपत्र लिने सास्ती उत्तिकै छ। त्यो परिचयपत्र किन आवश्यक भएको हो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर हामीसँग छैन। अहिलेकै गतिमा राष्ट्रिय परिचयपत्रको काम हुने हो भने तीन करोड नेपालीको हातमा परिचयपत्र पुग्न दशकौं लाग्छ भने एक जना सरकारी अधिकारीले मलाई हिजो मात्र सुनाउनुभएको थियो। सवारीचालक अनुमतिपत्र लिन पनि वर्षौं कुर्नुपर्ने अवस्था छ।
११. संघीयतासँग आधारभूत तहको शिक्षा र स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको छ। तर, सरकारी अस्पताल र सामुदायिक विद्यालयमा शिक्षाको स्तर किन खस्कियो र यसको निराकरण के हो भन्ने खोजी गर्नैपर्छ। मौजुदा स्रोतसाधन र क्षमताको इमानदारीपूर्वक कार्यान्वयनबाट पनि राम्रो नतीजा ल्याउन सकिन्छ भन्ने उदाहरण चितवन र बुटवल लगायतका उत्कृष्ट नतीजा ल्याउने दर्जनौं सामुदायिक विद्यालयहरू छन्। तिनको सिको अन्य विद्यालयले गर्न नसक्ने कारण के हुन्? नीतिगत असहजता हो भने सुधारका उपाय सहितको प्रस्ताव ल्याउनुहोस्। तर, यो विसङ्गति हटाउनैपर्छ।
१२. सीमान्तीकृत, श्रमजीवी र समाजको तल्लो वर्गलाई आधारभूत स्वास्थ्य सेवामा राहत दिने उद्देश्यले ल्याइएको रु.एक लाख रुपैयाँको स्वास्थ्य बीमा र विपन्नलाई कडा रोग लागेमा रु.एक लाखसम्म निःशुल्क उपचार गराउँदा प्रक्रियागत झन्झटले बिरामीले सहुलियत उपभोग गर्न नपाई रकमको अभावमा ज्यान समेत जाने गरेको गुनासो छ। विपन्न नागरिकलाई सरल ढङ्गले उक्त सहुलियत दिने जिम्मेवारी तपाईंहरूको हो। तर, किन अस्पतालमा नाम दर्ता गराउन र बीमा सुविधा लिनका लागि लाइनमै बिरामीको दिन जान्छ। प्रविधिको यति धेरै विकास भइसक्दा सरकारी अस्पतालमा नाम दर्ता गर्न समेत मान्छेहरूको घण्टौं लाग्छ र सरकारी अस्पतालमा सामान्य शल्यचिकित्सा गराउन तीन-चार महीना कुर्नुपर्ने हुन्छ। अस्पतालका प्रयोगशाला र परीक्षण गर्ने मशिन उपकरण पटक पटक बिग्रिन्छन् र बिग्रेपछि महीनौं बन्दैनन्। अनुदानमा दिएका सामग्री स्टोरमा महीनौं थन्किन्छन् र चलनचल्तीमा भएका सामग्री पनि छिटै बिग्रिन्छन्। यसको खोजी गरी हटाउने जिम्मेवारी तपाईं हामीले लिनुपर्छ।
१३. मन्त्रालय र विभागमा काम विनाका कर्मचारीहरू थुप्रो लाग्ने तर जनतालाई आधारभूत सेवा दिने पालिका तहमा जनशक्तिको अभाव भई जनता सेवाबाट वञ्चित हुने अहिलेको अवस्थाको अन्त्य हुनैपर्छ। प्रदेश तथा स्थानीय तहहरूमा करीब एक तिहाइ कर्मचारी दरबन्दी रिक्त रहेकाले जनशक्ति अभाव भई सेवाप्रवाह र विकास निर्माणमा असर परेको हुँदा प्रदेश तथा स्थानीय तहमा तत्काल कर्मचारी व्यवस्थाका लागि संघीय सरकारी निकायका अनावश्यक दरबन्दी कटौती गरी प्रदेश र स्थानीय तहमा जनशक्ति आपूर्ति गर्ने व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउनुहोस्। संघीय निजामती ऐन आगामी संसद्मा पेश गर्ने गरी तयारी गर्नुहोस्।
१४. शिक्षा, स्वास्थ्य, यातायात जस्ता आधारभूत सेवा, राहदानी, सवारीचालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत कर दस्तुर बुझाउने जस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्नुहोस्। विकास आयोजना वर्षौंसम्म सम्पन्न नभई अलपत्र परिरहने र बनाएका संरचना सञ्चालनमा नआई मर्मत गर्नुपर्ने अवस्था आउँदा हामी उत्तरदायी हुने कि नहुने भन्ने अहम् प्रश्न छ। सर्वसाधारण जनताका यस्ता प्रश्नको उत्तर आज एकले अर्कोलाई पन्छाएर पाइनेछैन। हामी अब जिम्मेवार बन्नैपर्छ। त्यसको विकल्प छैन।
१५. सेवाप्रवाहलाई सुलभ र सरल बनाउने तथा विकास निर्माणका कामलाई तीव्रता दिने काममा समस्या नीतिगत हो वा संस्थागत हो अथवा समस्या कार्यान्वयनमा हो वा प्रक्रियामा हो, पहिल्याउनैपर्छ। अथवा समस्या प्रवृत्तिमा हो वा व्यवस्थापनमा हो, हामीले खुट्याउनैपर्छ। अब सेवाप्रवाहलाई सहज बनाउन र विकासको गतिलाई तीव्र बनाउन नयाँ कानून बनाउने वा कार्यकारी आदेश वा कानून संशोधन के गर्नुपर्ने हो अथवा प्रक्रियामा सुधार हो वा प्रवृत्तिमा तथ्यहरूमा टेकेर सुधारका लागि तत्काल काम थाल्नुहोस्। नीतिगत समस्या समाधानको जिम्मा म लिन्छु। तर, नतीजामुखी कार्यसम्पादन भने तपाईंहरूले गर्नुपर्नेछ। अब कार्यतालिका बनाएर कार्यसम्पादन सूचक सहित नतीजामुखी कार्य फर्स्योटमा जुट्नुहोस्। काम भएन भने कोही न कोही त जिम्मेवार बन्नैपर्छ।
१६. अब सरकार गठनको एक महीनाभित्र राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने ‘नो अब्जेक्शन सर्टिफिकेट’, सरकारी अस्पतालमा बिरामीको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ। म कसैलाई दण्डित गर्न चाहन्नँ। तर, हामीसँग सीमित विकल्प छन्। त्यो भनेको नतीजा देखिने कार्यसम्पादन हो र नभएका जिम्मेवार पदाधिकारी दण्डको भागी हुने हो। कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको भनेर तपाईंहरू पन्छिन पाउनुहुन्न। तिनै तहमा तपाईंहरूले खटाएका कर्मचारीले काम गरिरहेका छन्। र, उनीहरूको कार्यसम्पादनमा मूल्याङ्कन गर्ने अधिकार तपाईंहरूले लिएर बस्नुभएकै छ। त्यसैले त्यहाँका जनताका दु:ख र कठिनाइसँग तल्ला तहका सरकारको काम हो भनेर तपाईं हामी पन्छिन मिल्दैन।
१७. धेरै सर्वसाधारणले प्रयोग गर्ने गरेका सार्वजनिक यातायातबाट प्राप्त हुने सेवा स्तरीय छैन। सवारी दुर्घटना बढिरहका छन्। सार्वजनिक यातायात असुरक्षित हुँदा सबैभन्दा बढी मारमा समाजको तल्लो वर्ग पर्छ। सवारी दुर्घटनाकै कारण विगत पाँच वर्षमा प्रति वर्ष झण्डै २२०० देखि २७०० जनाले ज्यान गुमाइरहेका छन् भने हजारौं मानिसहरू अङ्गभङ्ग भएका छन्। यसमा राम्ररी नियमन गर्नुहोस्। नियमन राम्रोसँग गरेर पनि सवारी दुर्घटना कम गर्न सकिन्छ।
१८. अपराधसँग सम्बन्धित ४२% उजुरीहरू/मुद्दाहरू फर्स्योट समयमै नहुँदा मन्त्रालयमा थन्किएर बसेका छन्। यसले अपराध प्रवृत्तिलाई प्रोत्साहन गर्छ। यस्ता मुद्दाहरूको कार्ययोजना बनाई समयमै फर्स्योट गर्नु जरुरी छ। मिटरब्याजीका हजारौं उजुरी थन्किएका छन् भन्ने समाचार सार्वजनिक भएको छ। श्रमिक तथा गरीब किसानहरूको ब्यांक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पहुँच नपुग्नाका कारण मिटरब्याजीसँग ऋण लिनुपरेको र मिटरब्याजी विरुद्ध उजुरी गर्दा पनि प्रभावकारी सम्बोधन नभएको हुँदा मिटर ब्याजका नाममा अपराधिक लाभ लिने क्रम रोकिएको छैन। यसबाट सीमान्तीकृत व्यक्तिहरू पीडित भएको सन्दर्भमा यस्ता व्यक्तिहरूलाई कडाइका साथ कानूनी दायरामा ल्याई नियन्त्रण गर्नुहोस्। ट्रक ढुवानीमा पहिला गैरकानूनी करार गरी खारेज गरेको सिन्डिकेट फेरि लागू भएको समाचार हिजो प्रकाशित भएको थियो। यो सबै के हो? यो सिन्डिकेट हटाउन तत्काल पहल गर्नुहोस्। अबको तीन महीनाभित्र सवारी दुर्घटना घटेको, अपराधसँग सम्बन्धित मुद्दा फर्स्योटको र मिटरब्याजीको मुद्दा नतीजा देखिने गरी सम्बोधन भए/नभएको आधारमा तपाईंहरूको कार्यसम्पादन मूल्याङ्कन हुनेछ।
१९. भ्रष्टाचार नियन्त्रण र निवारण यो सरकारको प्राथमिक काम हो। भ्रष्टाचार हुने सम्भावित निकायहरू र त्यस्ता व्यक्तिहरूका बारेमा निगरानी राख्नुहोस्, मातहत कार्यालयमा भएका अनियमितताप्रति जिम्मेवार बन्नुहोस्। डिजिटल सेवा, फेसलेस सेवा, बिचौलिया हटाउने, गुनासो सुन्ने र फर्स्योट व्यवस्था, जनताको बढी भीड हुने मालपोत, लाइसेन्स जस्ता निकायहरूमा क्षतिपूर्ति सहितको नागरिक बडापत्र राख्नुहोस्।
२०. हाल कोभिड १९ को संक्रमण पुनः क्रमश: बढ्न लागेको प्रकाशमा आएको छ। जनस्तरमा कोरोना फैलिन नदिन आवश्यक निरोधात्मक र प्रवर्द्धनात्मक कार्यहरू गर्ने। बूस्टर डोज खोपका लागि कोरोना भ्याक्सिनको तत्काल प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्नुहोला।
२१. चिसो मौसमका कारण तराईमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातले जनजीवनमा पर्ने असरलाई ध्यानमा राखी आवश्यक प्रबन्ध मिलाउनुहोला।
२२. दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कमी आउन नदिने। उपभोग्य वस्तुहरूको गुणस्तर सुनिश्चित गर्न र नाफाखोरी, कालोबजारी, कृत्रिम अभाव सिर्जना जस्ता कुराहरू अन्त्य गर्न सम्बन्धित मन्त्रालयहरूले नियमित रूपमा बजार अनुगमन तथा निरीक्षणलाई प्रभावकारी बनाउनुहोला।
२३. कार्यालय समयमा, कार्यालयको काम छोडेर अनावश्यक सभा सम्मेलन, गोष्ठी, सेमिनारमा, प्रशिक्षण दिने जस्ता कार्यमा जान बन्द गर्नुहोस्। सहभागी नभई नहुने मन्त्रालयको प्राथमिकताको कार्यक्रममा मन्त्रालयको सम्बन्धित विषयको एक जना मात्र सहभागी हुने, मन्त्रालयको आधिकारिक धारणा लिएर जाने र फर्केपछि प्रतिवेदन लिने/दिने व्यवस्था मिलाउनुहोस्। कार्यालयको समय पालना र कर्मचारी उपस्थिति, सेवाप्रवाह र सेवाग्राहीप्रतिको व्यवहार लगायतका कार्यालय सञ्चालन र व्यवस्थापनको अनुगमन र निरीक्षण गर्नुहोस्।
२४. आर्थिक क्षेत्रमा रहेका समस्याको स्थायी समाधान गर्न निजी क्षेत्रलाई विश्वासमा लिई उद्योग, व्यापार पेशा व्यवसायमा लगानी र सञ्चालन गर्न सहज र सरल वातावरणको सिर्जना गर्नुहोस्। आधारभूत वस्तुहरूको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि आवश्यक योजना तयार गरी कार्यान्वयनमा ल्याउनुहोस्।
२५. विकास आयोजनाहरूका बारेमा म दोस्रो पटक प्रधानमन्त्री भएका वेला २०७३।०७४ मा मध्यपहाडी लोकमार्ग, तामाकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना, कुलेखानी जलविद्युत् आयोजना, चमेलिया जलविद्युत् आयोजना, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, रानीजमरा सिंचाइ आयोजना, अस्पतालहरू, काठमाडौंका सडकका खाल्डाखुल्डी, ढल निकास, पानी लगायतका दर्जनौं आयोजना र कार्यक्रमको मैले प्रत्यक्ष अवलोकन र अनुगमन गरेको थिएँ।।
२६. यस पटक पनि आवश्यकता अनुसार म आफैं पनि अनुगमनमा जाने कार्यतालिका बनाउने सोचमा छु। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट नियमित अनुगमन हुन्छ। तपाईंहरू आफनो काममा चुस्त तरीकाले सम्पादन गर्नुहोला।
२७. यो सरकारले छिमेकी लगायत सबै मित्रराष्ट्रहरूसँग असंलग्नताको सिद्धान्तमा रहेर सन्तुलित र सुमधुर सम्बन्ध राख्नेछ। हाम्रो सम्बन्ध सबैसँग मित्रता कसैसँग छैन शत्रुता नै हो। यही नीति अनुसरण र अवलम्बन गर्दै आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय समुदायको सहयोगमा द्विपक्षीय र बहुपक्षीय विकास सहायता परिचालन गर्नुहोस्।
२८. नेपालका सरकारी पदाधिकारीहरूले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र विदेशी कूटनीतिक भेटघाट गर्ने र परराष्ट्र मन्त्रालयले यस सम्बन्धी आचारसंहिता तयार गर्नुहोला।
२९. दिनहुँजसो वैदेशिक रोजगारमा गएका नेपालीहरूले कतिपय समस्या भोगिरहेको गुनासो पोख्दै आएका छन्। अर्थतन्त्रको ठूलो हिस्सा धानेको रेमिटेन्समा योगदान पुर्याइरहेका विदेशमा रहेका नेपालीहरूका समस्या समाधान गर्न सरकारी तवरबाट अहिले चालिएका प्रयासहरूले पुगेको देखिंदैन। त्यसैले वैदेशिक रोजगारमा रहेका नेपालीहरूका समस्या समाधान गर्न तत्काल संरचनात्मक, नीतिगत वा केकस्तो कदम चाल्नुपर्ने हो, यस विषयमा तत्काल नै ध्यान दिएर कार्यान्वयनमा जोड दिनुस्।
३०. तपाईंका कुनै पीरमर्का वा गुनासा भए मलाई सीधै राख्न सक्नुहुनेछ। कसैको डर, दबाब, प्रभाव वा मोलाहिजामा नपरी दिएको जिम्मेवारीलाई इमानदारी, निष्ठा तथा कुशलतापूर्वक निभाउने विश्वास लिएको छु। धन्यवाद!