अब संसारलाई नयाँ आँखाले हेर्दै छु
उमेरले कब्जा गर्दै गरेको मेरो अनुहारमा कत्ति मसिना चाउरीका रेखा रहेछन्। आँखा, मुख वरिपरि, निदारमा पनि। यस्ती बूढी भइसकेछु जस्तो लाग्यो। आफैंलाई जवाफ दिएँ, ठीकै त भयो नि, कपाल सुहाउँदो अनुहार भयो!
साँझ पर्न लागेको थियो। नारायणहिटीको दक्षिणतर्फको ट्राफिक लाइटमा कुरिरहेकी थिएँ। एक हुल चरा उडे केशरमहलतिरबाट। ओहो! कस्ता नौला चरा हुन् यी? जंगलको लामपुछ्रे यहाँ पनि आउने हो र, ठाने। पछि यसो गहिरिएर हेर्दा त ती सब काग नै रहेछन्!
अनि लौ मेरो आँखाको दोष पो रहेछ भन्ने थाहा भयो। आँखाको डाक्टरकहाँ जाँदा थाहा भयो, मेरो दृष्टि त मोतीबिन्दुले गर्दा खलबलिएको रहेछ! दायाँमा बढी, बायाँ पनि शुरू भइसकेको।
डाक्टरसा’बले त जति छिटो गर्यो उति बेस भन्नुभएको थियो। आजभोलि मोतीबिन्दु ‘पाक्न’ नपर्ने रहेछ। तर, आँखा जस्तो अङ्गलाई छोइहाल्न दिन म आफैं हिचकिचाएँ। बच्चाहरू जाऊन् अनि; दशैं सकियोस् अनि; तिहार सकियोस् अनि, भन्दाभन्दै महीनौं बिते। आँखाको तेज भने झनै बिग्रिसकेको थियो, उज्यालो हेर्दा दु:ख दिन थालेको थियो। राति गाडी चलाउँदा, विपरीत दिशाका सवारीहरूको हाई बिमहरूले त दु:ख दिन्थे नै, अरू लो बिमहरू पनि चम्किला तारा झैं आँखा खाने हुन थालेका थिए। राति गाडी चलाउन हिचकिचाउन थालें।
हुन त कुनै वेला यही समस्याले पनि रमाइलो अनुभव हुने। तिहारमा छतबाट झारेको लहरे बत्तीमाला, झ्याल अगाडि देख्दा यस्तै भयो। अरूले हेर्दा चम्किलो सानो बत्तीको लहर, मेरो नजरमा हरेक बत्ती फूलझडी जस्तै फिंजिएको, परीहरूको बगैंचामा गए जस्तो! कस्तो सुन्दर देखिने!
समय बित्दै जाँदा अलि परका वस्तुहरूको सँगसँगै पहिला एउटा छाया अनि पछि पछि चार-पाँच वटा छाया देख्न थालें। जस्तै- खुर्पे चन्द्रमाको त ५-६ वटा चुच्चो देख्न थालें। कम्प्युटरमा काम गर्दा झन् झन् नजिक जानुपर्ने भयो। अनि दाहिने आँखाले सबै कुरा धमिलो, कुहिरो लागेको जस्तो देख्न थालेपछि चाहिं ‘अब त भएन बा, जानुपर्यो क्लिनिक’ भनेर फेरि डाक्टरसा’बको ढोका खटखटाउन पुगें।
काठमाडौं आई सेन्टरका डा. सगुननारायण जोशीले भन्नुभयो, “यो त वाक-इन, वाक-आउट प्रसिजर हो, पहिला जस्तो पट्टीसट्टी केही लगाउनु पर्दैन। तयारी गर्न एक घण्टा समय चाहिन्छ, कामै त १० मिनेटको मात्र हो।”
लू त भनेर समय मिलाएर दाहिने आँखाको लेन्स फेरियो। बायाँको गर्न एक हप्ता कुर्छु भनें। आँखाको मामला, के थाहा, एउटाको दृष्टि गुम्यो भने त अर्कोलाई अलि बढी जोगाउनु पर्ला भन्ने डराएको सोच थियो मेरो।
आजभोलि आँखामा इन्जेक्शन दिएर, सानो चिरेर लेन्स हाल्नुपर्दो रहेनछ। आँखामा लट्ठ्याउने झोल औषधि हालेर, कलम जस्तो यन्त्रले घोचेर, जालो लागेको लेन्स झिक्ने र त्यसैले नै नयाँ ‘इन्ट्रा अक्युलर लेन्स’ हालिने रहेछ। हुन पनि १० मिनेटमा, डाक्टरसा’बसित गफ गर्दागर्दै काम तमाम! फुलाएको नानीका लागि मात्र कालो चश्मा लगाएर घर जानुपर्ने! पहिलो दिन घण्टा घण्टामा थोपा औषधि हाल्नुपर्ने। अनि दुई-दुई घन्टामा अनि दिनको चार पटक, यस्तै गरी घटाउँदै जाने रहेछ!
“ओहो, भगवान्ले दिएको हाम्रो ओरिजिनल लेन्सभन्दा पनि यी बेस?”
लेन्स फेरेको भोलिपल्ट आँखाको नानी सामान्य आकारमा आएपछि साँझपख कौसीबाट यताउति हेर्न गएँ। दाहिने आँखाले हेर्दा पश्चिमी आकाश नीलो-नीलो जस्तो, देब्रेले हेर्यो भने पहेंलो-पहेंलो जस्तो! चश्मा नलगाई हिंड्दा, दुई आँखाको ज्योति नमिलेर अलि ढलपल जस्तो हुने रहेछ। अनि पो डाक्टरसा’बले ‘धेरै नकुर्नुस्, अर्को आँखा पनि ठीक पार्न’ भन्नुभएको रहेछ!
एक हप्तापछि बायाँ आँखाको पनि लेन्स फेरें। लेन्स पनि थरीथरीका हुँदा रहेछन्, जति विशेषता (ब्लू लाइट, युभी फिल्टर भएका) उति भाउ पनि बढी। मेरा श्रीमान्ले त भन्नु पनि भयो, “ओहो, भगवान्ले दिएको हाम्रो ओरिजिनल लेन्सभन्दा पनि यी बेस?” अनि छोरीले पनि जिस्क्याई, “अटोम्याटिक जूम गर्ने वाला लेन्स रै’नछ आमा?”
भोलिपल्ट बायाँ आँखाको नानी पनि सामान्य आकारमा आएपछि मैले सबैभन्दा पहिला टड्कारो लागेको कुरा, मेरो बाथरूम एकदमै उज्यालो लाग्यो। सेतो टाइल, बेसिन, सबै टलक्क चम्केको, भर्खर सफा गरे जस्तो, कुनै विज्ञापनमा देखाए जस्तो!
समयले त बिस्तारै मेरो दृष्टिमा पर्दा लगाउँदै आएको रहेछ, आफूलाई यादै नहुने गरी। लेन्स फेरेपछि त के के देख्न थालें। सबैभन्दा त आफ्नै अनुहारमा! उमेरले कब्जा गर्दै गरेको मेरो अनुहारमा कत्ति मसिना चाउरीका रेखा रहेछन्। आँखा, मुख वरिपरि, निदारमा, जुन मैले पहिला देख्दिनथें। ओहो! यस्ती बूढी भइसकेछु जस्तो लाग्यो। अनि फेरि आफैंलाई जवाफ दिएँ , ठीकै त भयो नि, कपाल सुहाउँदो अनुहार भयो!
मेरो मात्र हैन, अरूको अनुहारमा पनि मसिना कुरा याद गर्न थालें। अनि घरमा अरू वेला आँखाले नभ्याएका ठाउँमा जालो, फोहोर पनि देख्न थालें। अरूसँग फतफताउन थालें।
अनि यसो विचार गरें। उ जमानामा यसै गरी बुढेसकालले बिस्तारै आँखा धमिलिँदै जाने, कान कमजोर हुँदै जाने, दाँत फुक्लँदै जाने भएर मानिसलाई अब तिम्रो आराम गर्ने वेला हो यो, भन्या जस्तै हुँदो हो। अब धेरै चियोचर्चो गर्नु पर्दैन, सबै कुरा हेर्ने, सुन्ने आवश्यकता छैन। अब अवकाश लिने हो, जिम्मेवारी, काम हस्तान्तरण गर्ने हो भन्ने सबक सिकाउँथ्यो होला समयले। अनि छोराछोरीहरू, बुहारीलाई घरको जिम्मा दिइन्थ्यो, आफू आराम गर्न, धर्मकर्मतिर मन लगाउन बाध्य पनि हुन्थ्यो होला।
अब त मुखभरि दाँत लटरम्म हाल्न सकिन्छ, मोतीबिन्दुलाई बाईबाई भन्न सकिन्छ, सुन्ने यन्त्र कानमा जोड्न सकिन्छ। अरू स्वास्थ्यका समस्यालाई ओखतीले दबाए जस्तै, हाम्रा यी इन्द्रियहरूलाई पनि यन्त्रहरूले सकेसम्म बुढेसकाललाई धकेल्न मद्दत पुर्याउँदै छन्। सकेसम्म सक्रिय जीवनलाई लम्ब्याउन जुटेका छौं हामी सब!
अब त मुखभरि दाँत लटरम्म हाल्न सकिन्छ, मोतीबिन्दुलाई बाईबाई भन्न सकिन्छ, सुन्ने यन्त्र कानमा जोड्न सकिन्छ।
हाललाई चश्मा विनाको अनुहार छ मेरो। अरूहरूलाई एक छिन अचम्म लाग्दो रहेछ मेरो भिन्न अनुहार देखेर! आफूलाई पनि ऐनामा हेर्दा, ‘ए, अँ, अब त यो पो हुँ म!’ भन्नुपर्छ।
“ला, चश्मा विना त यो मेरो आँखामुनि झोलिएको पोको त टड्कारो देखिने भयो, हगि?” भनेर कान्छी छोरीलाई भन्दा उसले ज्ञानी झैं क्या जवाफ दिई: “आमा, आफूलाई माया गर, जे छ, जसो छ, त्यसलाई स्विकार, चिन्ता नगर!” अनि फेरि ठूली छोरीले मिस-मोटिभेशनको नयाँ वर्षको चित्रमा समेटेको कसैको भनाइ यस्तो आयो- “हरेक वर्ष तिमी अब म परिवर्तन हुनेछु भन्ने सङ्कल्प गर्छौ। यो वर्ष भने तिमी आफू नै रहने सङ्कल्प लेऊ!”
अब त्यसै गर्छु। जसरी सेतो कपाललाई स्विकारेकी मात्र हैन, गर्व गरेकी छु, जसरी मेरो मोटोपनालाई गाह्रै गरेर भए पनि स्विकारेकी छु, यी अनुहारमा कोरिएका मोटा-मसिना अनुभवका रेखाहरूलाई, झोलिएका छालाहरूलाई पनि स्विकार्नेछु! नयाँ वर्षको सङ्कल्प यही नै भयो! म अब संसारलाई नयाँ आँखाले हेर्नेछु!