केही घण्टाका लागि सोधिएका प्रश्नको उत्तर दिएर क्षमता जाँच्ने नभई विद्यार्थीको मनोवृत्ति र योग्यता तथा प्रतिभाको पनि परीक्षण हुनुपर्छ।
नेपालले जेजति गर्नुपर्थ्यो, त्यति गर्न नसके पनि शिक्षा क्षेत्रमा फड्को मारेको छ। अहिले विद्यालय तहमा भर्नादर ८९ प्रतिशत छ भने उच्च शिक्षामा उमेर समूहको आधारमा भर्नादर ७८ प्रतिशतसम्म छ। यसमा महिलाको सहभागिता ५२ प्रतिशत र पुरुषको ४८ प्रतिशत छ। यस आँकडाले नेपालमा शिक्षालाई महत्त्व दिइएको छ भन्ने बुझिन्छ।
अर्कातिर, विद्यार्थीको संख्या घटेकाले सामुदायिक कलेजलाई गाह्रो पर्ने अवस्था आएको छ। आर्थिक क्षेत्रमा ब्यांक मर्जर भए जस्तै विद्यार्थी नहुँदा सामुदायिक कलेज पनि मर्जरमा जानुपर्ने हो कि भन्ने आवाज उठ्न थालेको छ। साथै, विदेशिने विद्यार्थीको संख्या पनि बढ्दो छ। यो वर्ष मात्र एक लाख २० हजार विद्यार्थी विदेशिए। यसले हाम्रो शिक्षा क्षेत्रको स्थिति उजागर गर्छ।
एकातिर, मुलुकका लागि चाहिने आवश्यक शैक्षिक कार्यक्रम चलाउन सकेका छैनौं भने अर्कातिर, पाठ्यक्रमलाई समय अनुसार सुधार र परिमार्जन पनि गर्न सकेका छैनौं। अर्को विडम्बना, कुनै पनि विश्वविद्यालयले अहिलेसम्म ‘एकेडेमिक क्यालेन्डर’ बनाउन सकेको छैन। समयमा भर्ना, पढाइमा नियमितता, परीक्षा प्रणाली, परीक्षाफल वेलैमा हुन सकेको छैन।
यस बाहेक मुलुकको अर्थतन्त्रले रोजगारी सिर्जना गर्न सकेको छैन। रोजगारले अपेक्षित तलब सुविधा नपाउँदा विद्यार्थी विदेशिने प्रवृत्ति बढ्नु चिन्ताको विषय हो।
यसले एकातर्फ मुलुकका लागि आवश्यक मानवीय संसाधनको अभाव हुँदै छ भने अर्कातर्फ हाम्रो लगानी विकसित मुलुकका लागि आवश्यक मानवीय संशाधन निर्माणमा खर्च भइरहेका छ।
कसरी भन्दा हाम्रा विद्यार्थी अमेरिका, क्यानाडा, अस्ट्रेलिया, बेलायत जस्ता देशमा गइरहेका छन्, जसमा हाम्रो लगानी छ। हामीले हाम्रो लगानीबाट विदेशी मुलुकलाई मानव संसाधन पूर्ति गरिरहेका छौं। ती देशले आफ्नो लगानी विना शिक्षित जनशक्ति पाएका छन्। हाम्रा विद्यार्थी आफ्नो लगानीमा विदेशका लागि जनशक्ति तयार हुनु दुःखद पक्ष हो।
त्यसैले, अब वेलैमा सोचेर शिक्षामा लगानी बढाउनुपर्छ। शिक्षामा तलबभत्तामा मात्र होइन, शैक्षिक प्रक्रियामा लगानी गर्नुपर्छ। हाम्रा शिक्षकको वृत्तिविकास, तालीम र अभिमुखीकरण, अनुसन्धान र खोजका लागि लगानी बढाउनुपर्छ।
हामीले देखेका छौं, विश्वका कतिपय साना मुलुक साधनस्रोतमा बलियो नहुँदानहुँदै पनि विकसित मुलुक बनेका छन्। सानो मुलुक भनिएका हङकङ, ताइवान, सिंगापुरले मानवीय संसाधनमा लगानी गरेकाले विकासको फड्को मारेका हुन्।
हामीले पनि शैक्षिक प्रक्रियामा लगानी बढाउनु आवश्यक छ। यसका लागि नीतिगत तहमा बस्ने विद्वद्वर्ग, विश्वविद्यालय पदाधिकारीले रोजगारी सिर्जना गर्ने, जीविकोपार्जन हुन सक्ने शैक्षिक कार्यक्रमको विकास गर्नुपर्छ। यसका लागि कुन कुन क्षेत्रमा कस्ता कस्ता मानवीय जनशक्ति आवश्यक छ, त्यो अनुसारको शैक्षिक कार्यक्रम बनाउनुपर्छ। शिक्षण र सिकाइका केकस्ता अन्तर्राष्ट्रिय अभ्यास व्यवहारमा आइराखेका छन् भन्ने समीक्षा गरेर त्यसै किसिमको गतिशीलता ल्याउन सक्नुपर्छ। कारोनाभाइरस महामारीपछि विश्व नै डिजिटलाइजेशनमा जाँदै गर्दा हाम्रा शिक्षण र सिकाइका अभ्यास पनि त्यता लानुपर्छ।
सुधार गर्नुपर्ने अर्को महत्त्वपूर्ण क्षेत्र मूल्याङ्कन पद्धतिको हो। विश्वविद्यालयको परीक्षाफल आउन धेरै समय लाग्ने गरेको छ। वर्षौंसम्म पनि त्यसमा सुधार हुन सकेको छैन। त्यसैले यथोचित मूल्याङ्कन पद्धति हुनुपर्यो, जसले विद्यार्थीको उचित मूल्याङ्कन गर्नुपर्छ र यो समयमै हुनुपर्छ। तीन घण्टे र चार घण्टे परीक्षा प्रणाली ‘आउटडेटेड’ भइसकेको छ।
शिक्षा भनेको डिग्री हासिल गर्नु मात्र होइन। शिक्षाले हामीमा के रूपान्तरण ल्यायो भन्ने पनि हेर्नुपर्यो। विद्यार्थीले शिक्षाका कारण आफूमा आएको रूपान्तरणको महसूस गर्ने अवसर र अवस्था आउनुपर्यो।
मूल्याङ्कन पद्धतिले पनि विद्यार्थीको सिकाइ कस्तो छ, क्षमता कस्तो छ भन्ने मापन गर्नुपर्छ। केही घण्टाका लागि सोधिएका प्रश्नको उत्तर दिएर मात्र क्षमता जाँच्ने नभई विद्यार्थीको मनोवृत्ति र योग्यता तथा प्रतिभाको पनि परीक्षण हुनुपर्छ।
यी सब कुरा गर्न हाम्रा शैक्षिक संस्थाको गुणस्तरीय विकासका लागि शिक्षक नियुक्तिलाई प्रतिस्पर्धी बनाउनु जरुरी छ। योग्यता, क्षमता, दक्षता, अनुभव, लगाव केमा छ, त्यो अनुसार पेशामा लाग्न उत्प्रेरित गरौं।
यससँगै सकारात्मक सोचको विकास गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। मलाई त अहिले उपकुलपति भएर काम गर्दागर्दै विभिन्न परिस्थितिले के महसूस गराएको छ भने हामीले शिशुकक्षादेखि नै सकारात्मक सोच ल्याउन सक्ने शैक्षिक संयन्त्र विकास गर्नुपर्ने रहेछ। शिशुकक्षामा पढाउने शिक्षकबाट नै सकारात्मक सोचको बीजारोपण गर्नुपर्ने देखिन्छ। जसले समाजलाई कुन दिशामा लाने भन्ने निर्धारण हुन्छ।
समाज रूपान्तरणका लागि शिक्षा नै आवश्यक कुरा हो। समाजलाई रूपान्तरण गर्ने शक्ति शिक्षामै छ। त्यसैले शिक्षालाई गुणस्तरीय बनाउन सबैले सोचविचार गरेर अगाडि बढ्न सक्नुपर्छ।
(नेपाल खुला विश्वविद्यालयकी उपकुलपति प्रा. बज्राचार्यले पिपुल्स कलेजमा आयोजित कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश।)