प्रधानमन्त्री दाहालले पुस २६ मा विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्।
प्रधानमन्त्री दाहालले सोमबार संघीय संसद् सचिवालयलाई पत्र पठाएर पुस २६ गते विश्वासको मत लिने बताएका छन्। त्यसका लागि आवश्यक तयारी गर्न संसद् सचिवालयलाई आग्रह गरेका छन्।
प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते संविधानको धारा ७६ को उपधारा २ बमोजिम दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। यस उपधारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
यसरी नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने उपधारा ४ मा व्यवस्था गरिएको छ। त्यही व्यवस्था अनुसार, प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने भएका हुन्।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता दाहालले नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सहित १६९ सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए। राप्रपा, जसपा र उन्मुक्ति पार्टी भने अझै सरकारमा सहभागी भएका छैनन्।
प्रतिनिधि सभामा २७५ सांसद छन्। विश्वासको मतका लागि १३८ सांसद आवश्यक पर्छ।