राष्ट्रपति र उपराष्ट्रपतिको चुनावी प्रक्रिया थाल्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रिय सभा सदस्यको निर्वाचनको प्रक्रिया अघि बढाउन निर्वाचन आयोगका पदाधिकारीसँग आग्रह गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको छलफलमा संविधान र कानूनमा व्यवस्था भए बमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीलाई आग्रह गरेको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए।
“रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्,” आयोग पदाधिकारीलाई प्रधानमन्त्री दाहालले भने, “राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक दलसँग छलफल गर्छौं र त्यसपछि एउटा निष्कर्षमा पुगौंला।”
प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधि सभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिए।
बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तले निर्वाचन आयोगका कामकारबाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका थिए।