नागरिक उन्मुक्तिको अडानले सुदूरपश्चिम सरकार गठनमा समस्या
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अडानले सुदूरपश्चिम प्रदेशमा सरकार निर्माण गर्न समस्या भएको छ।
नाउपा संसदीय दलका नेता रामेश्वर चौधरी टीकापुर घटनाको आरोपी रेशम चौधरी लगायत पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ नभएसम्म कसैलाई सरकार बनाउन सहयोग नगर्ने र सरकारमा समेत सहभागी नहुने बताउँछन्। सुदूरपश्चिममा सरकार गठनका लागि नाउपा निर्णयक शक्ति हो।
५३ सदस्यीय प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ जना सांसद छन्। यस्तै‚ नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, नाउपाका सात‚ नेकपा (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टीको एक र स्वतन्त्र सांसद एक जना छन्।
सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ। प्रदेश सभामा कांग्रेस र नाउपा बाहेक माओवादी, एमाले, राप्रपा मिल्दा २२ जना सांसद हुन्छन्। चार सांसद रहेको एकीकृत समाजवादीले सरकारमा जाने-नजाने निर्णय अझै गरिसकेको छैन। एकीकृत समाजवादीले पनि सरकारमा जाने निर्णय गरे माओवादी‚ एमाले‚ एकीकृत समाजवादी र राप्रपाका २६ सांसद हुन्छन्। सरकार गठनका लागि सो संख्या पर्याप्त हुँदैन।
एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठक केन्द्रमा शीर्ष नेतृत्वबीच कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने छलफल चलिरहेकाले टुङ्गो लागेपछि प्रदेशमा सरकार गठनमा देखिएको अन्योल हट्ने बताउँछन्। केन्द्रमा सरकार गठनका लागि नाउपाले सरकार बाहिर रहेर पनि समर्थन गरेकाले प्रदेशमा पनि त्यो अवस्था आउने पाठकको भनाइ छ।